© २०२३
सुर्खेत,१५ चैत ।
कर्णाली प्रदेशसभाको बैठकको ‘शून्य समय’ मा बोल्दै प्रदेशसभा सदस्यकलबहादुर हमाल खित्का छोडेर हाँसेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । हमाल पाँचौ अधिवेशनको २५औँ बैठकको शून्य समयको समय माग गरेर बोल्न थालेपछि खित्का छाडेर हाँसे । सभामा उनी हाँस्न सुरु गरेपछि सभामुख मन्त्री र प्रदेशसभा सचिवालयका सचिव तथा कर्मचारीहरु पनि हाँसो रोक्न सकेनन् । त्यही विषयलाई लिएर सामाजिक सञ्जालमा भाइरल मात्र भइरहेको छैन, सांसद हमालको चर्को आलोचना पनि भइरहेको छ ।
सभामूख नन्दा गुरुङले उनलाई शून्य समयमा आफ्नो भनाइ राख्न समय दिइन् । हमालले माइक समात्ने बित्तिकै ‘शून्य समय सदुपयोग गरिहालौँ’ भन्दै खित्का छाडेर हाँसेका थिए । सांसद हमाल हाँस्ने मात्र होइन शुन्य समयमा हुम्ला जिल्लाको समस्याबारेमा ध्यानाकर्षण गराए ।हुम्ला जिल्लाको सडकको अवस्थाबारे सरकारलाई ध्यानाकर्षण गराए । जिल्लाका धेरै ग्रामीण सडक अधुरा रहेको र आउँदो वर्षको बजेटमा समेटेर सडक निर्माण कार्य अघि बढाउनुपर्ने उनले जनाए । काम नगर्ने ठेकेदारको कामको विवरणका आधारमा मूल्याङ्कन गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । त्यसैगरी हमालले संघ संस्थाहरु विकट क्षेत्रमा पनि जानुपर्ने बताए । ‘संघ संस्थाका कार्यक्रमहरु धेरैजसो सुर्खेतमा मात्र छन्’ उनले भने, ‘सुर्खेत केन्द्रित हुने संघ संस्थाहरु विकट क्षेत्रमा कार्यक्रम कार्यान्वयन गनुपर्छ ।’
सुझाव दिए । तर अहिले यो विषयले भन्दा पनि माइक समाउने बित्तिकै खित्का छोडर हाँसेको मात्र क्लिप सामाजिक सञ्जालमा आलोचना भएको छ । यता हमालले आफु नियतबस संसदमा खित्का छोडेर नहासेको प्रतिक्रिया दिएका छन् । ‘मैले शून्य समयमा बोल्दै गर्दा सबै सांसद मतर्फ फर्केर हास्नुभयो, म पनि हाँसे, तर पछि आफ्नो जिल्लाको विषयवस्तु राखेको छु ।’
सांसद हमाल मात्र होइन कर्णाली संसदमा बेला बेलामा सांसदहरुको आलोचना भइरहन्छ । प्रदेशसभाको पाँचौं अधिवेशनको तेस्रो बैठकको विशेष समयमा पूर्व जलस्रोत तथा ऊर्जा विकास मन्त्रीसमेत रहेकी प्रदेशसभा सदस्य उर्मिला विश्कर्माले बोलेको कुरालाई लिएर पनि चर्को आलोचना भएको थियो । त्यतिबेला विश्वकर्माले पनि गलत तथ्य बोकेकी थिइन् । संसदमा बोल्दै उनले भारतमा रेल दुर्घटनामा ६० जना नेपालीको मृत्यु भएको बताएकी थिइन् । वास्तवमा रेल दुर्घटना सत्य भएतापनि मृत्यु हुनेको संख्या भने सात जना मात्र थियो ।