© २०२३
बाँके, १५ चैत्र ।
बाँकेको खजुरा गाउँपालिका स्थित जनता दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले आफ्ना किसानहरुलाई अनुदान स्वरूप चेक प्रदान गरेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र नेपालगन्जको आर्थिक वर्ष २०८१/०८२ को प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कृषक सहयोग कार्यक्रम अन्तर्गत प्राप्त ७ लाख ६२ हजार ९०८ रुपैयाँ कृषकहरुलाई उत्पादनको आधारमा वितरण गरिएको हो । प्रति लीटर १ रुपैयाँका दरले दूध बिक्री गर्ने कृषकलाई सहकारीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी चेक प्रदान गरेको हो । जनता दुग्ध उत्पादक सहकारी संस्था खजुरामा कारोबार गर्ने ३ सय ८० जना कृषकलाई प्रोत्साहन अनुदान प्रदान गरिएको संस्थाका व्यवस्थापक गौरब सापकोटाले जानकारी दिए । कार्यक्रममा खजुरा गाउँपालिकाका प्रमुख डम्बर बहादुर विकले खजुराका किसान व्यवसायीक बन्दा दूधमा आत्मनिर्भर बन्न सकिएको बताए ।
प्रमुख विकले उत्पादन गर्ने कृषकलाई अनुदान दिने सरकारको नीति अनुरूप पालिकाले पनि सहयोगका कार्यक्रम सञ्चालन गर्ने गरिएको उल्लेख गरे । खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले पशुपालक किसानलाई दुग्ध उत्पादन गर्न गरिएको प्रोत्साहन कार्यक्रम प्रभाबकारी रहेको बताइन् । उपस्थित कृषकलाई पालिकामा हुने कार्यक्रममा पनि सक्रिय सहभागिता जनाउन अनुरोध गरिन । कृषकको आर्थिक विकासमा पालिकाले पनि लगानी गरिरहेको भन्दै उनले लाभ उठाउन सकिने बताइन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारीले प्रदेश सरकारले हरेक वर्ष जसो यस पटक पनि प्रतिफलमा आधारित कृषक लाई अघि बढाउने गरी अनुदानका कार्यक्रम ल्याएको उल्लेख गरिन् । प्रमुख अधिकारीले सहकारी मार्फत दुग्ध उत्पादक कृषकलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । काम गर्ने कृषकलाई कार्यालयले सधैं सहयोग गर्ने उनले उल्लेख गरिन् । कार्यक्रममा संस्थाका अध्यक्ष भीम बहादुर बरुवालले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमले कृषकलाई थप दुग्ध उत्पादन गर्न मद्दत गरेको बताए ।