नेपालगन्ज, १५चैत ।
बाँकेमा शुक्रबारदेखि रोजगार मेला लाग्ने भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले नेपालगन्जमा दुई दिने बाँके रोजगार मेला लगाउन लागेको हो ।
संघले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष टंकबहादुर धामीले रोजगार मेलाले तत्काल र दीर्घकालीन रुपमा रोजगार सिर्जना गर्ने बताए । उनले मेला अवधिमा मात्र कम्तीमा १०० जनाले रोजगार पाउने दाबी गर्दै औद्योगिक प्रतिष्ठानको जनशक्तिको आवश्यकता अनुसार सीपमूलक तालिम दिएर दक्ष जनशक्तिलाई भविष्यमा रोजगारी दिने बताए ।
कार्यक्रममा संघका महासचिव तथा रोजगार मेला व्यवस्थापन समितिका संयोजक भीमबहादुर रानाभाटले बाँकेका सात वटा स्थानीय तहको आर्थिक सहयोगमा मेला आयोजना गरेकाले स्थानीय तहका रोजगार शाखामा सूचीकृत व्यक्ति र प्रादेशिक महोत्सवमा सूचीकृत बेरोजगार ब्यक्ति सहभागी हुने कार्यक्रममा जानकारी दिए । चैत १५ र १६ गते नेपालगन्जको सिद्धार्थ कटेजमा बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मेला सञ्चालन हुने जानकारी दिँदै उनले रोजगारदाता र बेरोजगार ब्यक्तिहरुलाई एकैथलोमा राखेर रोजगारी सिर्जना गर्ने बताए ।
उनले भने ‘विद्यमान बेरोजगारी समस्या कम गर्ने, विदेश पलायन न्यूनिकरण गर्ने र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने मेलाको उद्देश्य हो ।’ मेलामा रोजगारदाताका ३५ वटा स्टल रहने र संघले सबै स्टल निःशुल्क उपलब्ध गराएको उनले जानकारी दिए । मेलामा उद्योग, पर्यटन र कृषिका विषयमा तीन वटा छुट्टाछुट्टै रोेजगार संवाद समेत हुने ब्यवस्थापन संयोजक रानाभाटले जानकारी दिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले आयोजना गरेको रोजगार मेलामा नेपालगन्ज उपमहानगपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, बैजनाथ गाउँपालिका, नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको सहकार्य र साझेदारी रहेको छ ।