© २०२३
बुटवल, १४ चैत ।
नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले प्रस्तावित निजामती सेवा विधेयकमा अनिवार्य संबोधन गर्नुपर्ने विषयवस्तुबारे उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ ।
पाँच वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एक तह र १० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एक श्रेणी बढुवा गरी तह मिलानको व्यवस्था गर्न, साथै समायोजन भएका कर्मचारीको हकमा पनि सोही व्यवस्था लागु गर्न माग गरेको छ ।
त्यस्तै राजपत्रांकित तृतीय श्रेणीको बढुवामा जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा ४० प्रतिशत र प्रतियोगितात्मक परीक्षाद्वारा ६० प्रतिशत पदपुर्ती गर्ने व्यवस्था गर्न, प्रतिष्पर्धात्मक व्यवस्था अन्तर्गत १० प्रतिशत आन्तरिक अन्तर तह प्रतिष्पर्धा र ५० प्रतिशत खुल्ला प्रतिष्पर्धाद्वारा पदपुर्तीको व्यवस्था गर्न, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई एकपटकका लागि समायोजन संशोधन र सरुवा हुन पाउने व्यवस्था गर्न संगठनले माग गरेको संगठनका केन्द्रीय सदस्य प्रेमप्रसाद खनालले बताए ।
संगठनले खुल्ला प्रतिष्पर्धाबाट उपसचिव पदमा पदपुर्ती गर्न तोकिएको योग्यता र सेवा अवधि पुगेका राजपत्र अनंकित कर्मचारीले पनि कर्मचारी बस्न पाउने व्यवस्था गर्न,तीनै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषमा समेट्न माग गरेको छ ।
संगठनले दुवै मन्त्रीलाई कर्मचारीको हस्ताक्षरसहितको ध्यानाकर्षण पत्र बुझाएको केन्द्रीय सदस्य खनालले बताए ।