© २०२३
बुटवल, ०७ चैत ।
सञ्चार माध्यमका समस्या र चुनौतीबारे विज्ञहरूको सहभागितामा छलफल गर्दै अवसर र सम्भावनाको खोजी गर्न बुटवलमा दुई दिने मिडिया सम्मेलन हुने भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा पत्रकारिताका वरिष्ठ व्यक्ति र विज्ञहरूको सहभागीतामा चैत ८ र ९ गते मिडिया सम्मेलन हुने भएको हो ।
बुधबार पत्रकार सम्मेलन गरि सातवटा सत्रमा विभाजन गरी कार्यक्रम गरिने संघका अध्यक्ष नवराज कुँवरले बताए । औपचारिक उद्घाटन सत्रसंगै लगातार अन्तरक्रिया कार्यक्रमहरू हुने उनले बताए । “परम्परागत मिडियाः आजको अवस्था, भोलिको बाटो” विषयमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र अन्नपूर्ण मिडिया नेटवर्कका रामेश्वर थापाले प्रस्तुती राख्नेछन् ।
त्यस्तै छापा माध्यम, किन र कसका लागि ? भन्ने विषयमा छलफल हुनेछ । जसमा आर्थिक अभियान दैनिकका प्रधान सम्पादक मदन लम्साल र सौर्य दैनिकका प्रधान सम्पादक बोधराज त्रिपाठीको प्रस्तुती रहने छ ।सम्मेलनको चौथो सत्रमा के अनलाइन पत्रकारिता सधैका लागि हो ? भन्ने विषयमा छलफल गरिने छ । जसमा अनलाइन खवरका धर्मराज भुसाल र बाह्रखरी मिडियाका प्रतिक प्रधानले प्रस्तुती राख्ने छन् । त्यस्तै पाँचौ सत्रमा किन फस्टाउन सकेन विज्ञापन बजार ? भन्ने विषयमा छलफल हुनेछ ।जसमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको प्रस्तुती रहने छ ।
छैठौं सत्रमा अनेक संस्थाः नियमन कि नियन्त्रण ? भन्ने विषयमा छलफल हुनेछ । जसमा नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियार, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का र गीत संगीत रोयल्टी संकलन समाजका सुरेश अधिकारीले प्रस्तुती राख्ने छन् भने सम्मेलनको सातौं सत्रमा “सम्बन्धः पत्रकार र पत्रकार महासंघकोः के भयो ? के हुँदैछ ?” भन्ने विषयमा छलफल हुने छ । जसमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, पूर्व अध्यक्ष विपुल पोखरेल र दैनिक लुम्बिनीका सम्पादक शेरबहादुर केसीको प्रस्तुती रहनेछ ।
रूपन्देही जिल्लाका प्रकाशक र प्रसारणहरूलाई गोलबद्ध गर्दै अघिल्लो वर्ष प्रदेशस्तरमा संघ बिस्तार गरेको अध्यक्ष कुँवरले बताए । कार्यक्रममा विज्ञहरूका प्रस्तुतीसंगै सहभागीहरूको अन्तरक्रिया प्राथमिकतामा रहेको उनले बताए । मिडिया सम्मेलनले सञ्चारमाध्यमहरूको विद्यमान अवस्था, अव गर्नुपर्ने काम र भावी कार्यदिशा तय गर्ने गरी सम्मेलनबाट ठोस कार्ययोजना तयार गर्ने उनको दाबी छ । कार्यक्रममा संघका उपाध्यक्ष विष्णु भुसालले यो सम्मेलन मिडियाको भविष्यका लागि कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे । गतवर्षको निरन्तरता स्वरूप कार्यक्रम हुन लागेको उनले बताए ।
मिडिया सम्मेलनले सञ्चारमाध्यमले आगामी दिनमा तय गर्नुपर्ने विषयवस्तुबारे स्पष्ट मार्गनिर्देश गर्ने अपेक्षा गरिएको संघका सचिव माधव नेपालले बताए । उनले सम्मेलनमा रेडियोहरूको विषयमा छुट्टै प्रस्तुती नराखिए पनि सहभागी विज्ञहरू नै रेडियो सञ्चालक समेत भएकाले एफएम रेडियोका समस्या पनि उजागर हुने विश्वास व्यक्त गरे । मोफसलमा रहेका संचार माध्यम र संचारकर्मीलाई सिकाईका रूपमा कार्यक्रम गर्न लागेको उनले बताए ।