© २०२३
दाङ, ३ चैत ।
दाङमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत आजको खेलमा लुम्बिनी प्रदेशले बाग्मती प्रदेशलाई ११६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रतियोगिताको आठौँ दिनको २०औँ खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेश ३२ दशमलव ४ ओभरमा अलआउट हुँदै ११५ रन बनायो ।
लुम्बिनीलाई सस्तैमा समेट्न बाग्मतीका सबै बलले उत्कृष्ट बलिङ गरे । पाँच बलर प्रयोेग गरेको बाग्मतीका सबै बलरले विकेट लिए । छैठौं ओभरबाट शुरु भएको विकेट पतन ३३ औँभरमा पुगेर टुंगियो ।आकाश त्रिपाठीले ३३ रन जोड्नु बाहेक अरु खेलाडीले धैर्यता देखाउन नसक्दा बाग्मतीले विकेटको फाईदा उठायो ।छैठौं ओभरको पाँचौं बलमा रिजन ढकालले ओपनर मृनाल गुरुङलाई व्यक्तिगत ५ रनमा पेभेलियन फर्काए । स्लो रन शुरुवात गरेको लुम्बिनी प्रदेशका खेलाडीले पहिलो पावर प्लेमा २ विकेटको क्षतिमा ३५ रन जोडे ।अर्को ओपनर मनिष थापा ३५ बलको सामना गर्दै १ चौकाको मद्दतमा १५ रन बनाउँदै ईशान पाण्डेको बलमा ढकालको हातबाट क्याच आउट भए । लुम्बिनीका कप्तान देव खनालले २७ बल खेल्दै १ चौकासहित १५ रन बनाएर सूर्य तामाङको बलमा तेस्रो विकेटका रुपमा आउट भए ।प्रजवल थापा ६ रन जोडेर ईशान पाण्डेको बलमा बोल्डआउट भए ।
विप्रसन केसी २० बल खेलेर जम्मा ९ रन बनाउँदै गौतम केसीको बलिङमा विकेट किपर विकेक मगरबाट क्याच आउट भए ।
कृष्ण कार्की १५ बल खेल्दै १ छक्कासहित ७ रन बनाएर गौतम केसीको बलमा लङअनमा सोनु देवकोटाको उत्कृष्ट क्याचमा पेभेलियन फर्किए ।निर्मल गुरुङ पाँच बल डट खेलेर शुन्य रनमा आउट हुँदा नरबहादुर सार्की सूर्य तामाङको बलमा रित गौतमको हातबाट क्याच आउट भए ।रमेश कुर्मी ८ बल खेलेर गौतम केसीको बलमा बोल्ड भए । लुम्बिनीलाई लो स्कोरमा समेट्न गौतम केसीले पाँच दशमलव ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए ।सूर्य तामाङले ८ ओभरमा १ मेडनसहित जम्मा १४ रन दिएर २ विकेट लिँदा ईशान पाण्डेले पनि ७ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए ।
रिजन ढकालले २४ रन दिएर १ विकेट लिँदा सोनु देवकोटाले ३७ रन खर्चेर १ विकेट लिए । ११६ रनको विजयी लक्ष्य पछ्याउन अब केहीबेरमा वाग्मती प्रदेशले जवाफी ब्याटिङ गर्दैछ ।जारी प्रतियोगितामा लुम्बिनी प्रदेश अंक तालिकाको चौथो स्थानमा छ भने वाग्मती नवौँ स्थानमा छ ।नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले खेलीरहेका छन् ।फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता जारी छ ।दाङसहितमा रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ शुरु भएको प्रतियोगिताका खेलहरु राउण्ड रोविनका आधारमा भईरहेका छन्हरेक टीमले एक अर्को टीमसँग खेल्नेछन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तरगत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ ।।।