© २०२३
अर्घाखाँची, १ मंसिर ।
सिद्धाराका ७१ वर्षीय विमला खत्रीकोे बारीमा उब्जनी भएको अन्नबाली जंगली जनावरले नोक्सान गरिदिंदा हैरानी छन् । अघिल्लो स्थानीय र संसदीय चुनावमा गाउँ आएका उम्मेदवारले भोट दिनुस्, बँदेल र दुम्सी लखेटिदिन्छौं भनेका थिए । तर, पुरा भएन । अहिले भोटको भन्दा उनलाई गासको चिन्ता छ । मंसिर ४ गतेको चुनावका लागि प्रतिनिधिसभामा कांग्रेसबाट पुष्पा भुसाल गौतम र एमालेका टोपबहादुर रायमाझीले जंगली जनावरबाट अन्नबाली जोगाउने उपाय खोज्ने बताएका छन् । प्रदेशसभामा एमालेका रामजीप्रसाद घिमिरे र कांँग्रेसका कमल भुसाल सहितका साना दलका उम्मेदवार पनि यही समस्या समाधान गरिदिने भन्दै भोट मागेका छन् । यसपाली भोट दिने जाँगर चलेको थिएन ।
‘उम्मेदवारले भोट दिनुस, वन्यजन्तु लखेटिदिन्छौ भनेका थिए, अघिल्ला चुनावमा खै केही भएन,’ उनले भनिन, ‘यसपाली भने वन्यजन्तुले नखाने बाली वा जोगाउने उपाय खोज्छौं, भोट दिनुस भनेका छन् । त्यही आसले मंसिर ४ गते भोट दिन जान्छु ।’ गाउँमा बाटो, विजुली, खानेपानी, सिचाई जस्ता योजना भित्राइदिने जनप्रतिनिधिले नै हो । भोट हालेपछि सांसदले केही हेर्लान् । रातीमा आउने वन्यजन्तुले खेतबारीमा उत्पादन भएको अन्नबाली, तरकारी, आलु, पिडालु, सख्खर लगायत सबै नोक्सान गरिदिन्छ । दिनभर जंगलमा लुकेर बस्ने र रातीमा बारीमा पसेर बाली नोक्साने गरिदिन्छन् । उनका अनुसार पैसा भएकाहरु वन्यजन्तुकै कारण तराइमा बसाइसराई गर्न थालेका छन् ।
‘टोपबहादुर र पुष्पा भोट माग्न आएका थिए, हामीले वन्यजन्तुको समस्या बतायौं,’ कृषक रिता पुलामीले भनिन्, ‘विकल्प खोज्छौं भनेका छन् । आशा गरौं ।’ नेताहरुले गाउँका चुनावीसभामा जोडतोडले दक्षिण क्षेत्रमा पशुपालनको संभावना क्षेत्र हो । अन्नबाली, तरकारी खेती विस्तार गरेर युवालाई स्वरोजगारी बनाउने भाषण गर्छन् । ‘त्यो कसरी संभव हुन्छ,’ उनले भनिन्, ‘वन्यजन्तुबाट अहिलेकै बाली जोगाउन कठिन छ । वर्षदिन दुःख गरेको बाली छिनभरमै भ्याइदिएपछि के खाएर बाँच्ने ?’
दुर्गम वस्ती छ । जहाँ वर्षामा सडक बिग्रेर गाडी चल्दैनन् । हिउँद पर्खनुपर्छ । पशुपालनको लागि भूई र डाले घाँस प्रशस्त छ । घाँस पानी, जंगल देखेर हुन्न । ‘जंगलमा लुकेर बस्ने वन्यजन्तुले मानव बस्ती नै उठिबास लगाउन थाल्यो कसरी हुन्छ कृषि क्रान्ति ?, ‘युवा दिनेश परियारले भने, ‘चुनावमा नारा कृषि उद्यमबाट युवालाई रोजगारी छ । यहाँ खेतबारीबाट उब्जनी भित्र्याउनै मुस्किल छ ।’ पहिला वन्यजन्तु नियन्त्रण गरिदिनुपर्यो । कृषि फार्म सञ्चालन गरेर उत्पादन भएपनि बजारको समस्या छ । यहाँबाट बाह्रै महिना गाडी चल्ने सडक हुनुपर्छ । त्यो छैन् । वर्षामा विरामी डोली र डोकोमा बोकेर घण्टौं पैदल हिडेर अस्पताल पु¥याउनुपर्छ ।
नेता र उम्मेदवारले तत्काल हामीलाई आवश्यकता नभएका नारा लगाउँछन् । गाउँमा बाह्रै महिना गाडी चल्ने बाटो, विजुली, सिचाइ सुविधा, सहज स्वास्थ्य सेवा, राम्रो पढाई हुने स्कुल, घरघरमा खानेपानी ल्याइदिनुपर्ने उनको तर्क छ । यस्ता काम तीन तहको सरकार कुनले गर्छ ? तर, गाउँमा गास, बास, कपास जस्ता जनताका आधारभूत आवश्यक्तालाई सरकारले हेर्नुपर्ने उनले बताए ।
‘पहिला गास, त्यसको लागि वन्यजन्तुबाट बाली जोगाउने, खेतबारीमा उब्जनी गरेर पेटभरी खान पुगोस,’ जलुकेकी सिता पुलामीले भनिन, ‘सुरक्षित बस्ने बास, त्यहा“ खानेपानी, सिचाइ, घरमा विजुली, फोन, इन्टरनेट सहज हुनुपर्छ । ठुला शहरका नीजि स्कुलमा पढेका विद्यार्थीसँग गाउँमा पढेकाले प्रतिष्पर्धा गर्न सक्ने सामुदायिक पढाई हुनुपर्छ ।’ विरामी पर्दा सहज स्वास्थ्य उपचार, बजार आउजाउ गर्न हिउँद÷बर्षा गाडी चल्ने बाटो र गाउँमै रोजगारीका अवसर चाहिने उनले बताइन् । अहिले फरक छ । गाउँमा शिक्षा राम्रो नभएर अभिभावक शहरमा छोराछोरी पढाउन डेरागरी बसेका छन् । युवाहरु वैदेशिक रोजगारीमा गएर पैसा कमाएपछि गाउँमा फर्कदैनन् । उपचारकै लागि शहर रोज्छन् । गाउँमा वृद्धवृद्धा मात्रै छन् । खेतबारी बाँझिदै गएका छन् । यी समस्या छन्, यतातिर नेताले ध्यान दिनुपर्ने उनको तर्क छ । यस्तै हो भने गाउँ नै रित्तिन सक्छ, बस्ती विनाको गाउँ हुनसक्छ र जंगल बन्ने उनको चिन्ता छ । ‘चुनावमा सधैं गर्नै नसकिने गफ दिने, जितेपछि वास्ता नगर्ने बानी सुधानुपर्छ,’ उनले भनिन, ‘गाउँमा जन्मिएकालाई गाउँमै बस्ने र शहरबाट बसाइसराई गरेर पहाडी गाउँ भित्रिने गरी काम गर्नुपर्छ । आधारभूत आवश्यक्ता सानातिना काम नगरी ठुला सपना नदेखाउनुस् ।’