दाङ,२८ फागुन ।
नेपाल पत्रकार महासंघ दाङको आयोजनामा र घोराही उपमहानगरपालिकाको सहयोगमा तीन दिने अदालती पत्रकारिता तालिम घोराहीमा सुरु भएको छ । पत्रकारलाई अदालती रिपोर्टिङ गर्दा कानुनी शब्दावलीको प्रयोग, अदालती आदेश, फैसला लगायत विविध कानूनी प्रकृयाका विषयमा जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
जिल्ला न्यायाधिवक्ता योगेन्द्रप्रसाद ढुंगेलले फैसला, कैदी र थुनुवा बिचमा भिन्नता ,आदेश, थुनछेक बहस, मुद्दाको प्रकृति, क्षेत्राधिकार लगायतका विषयमा जानकारी दिएका थिए ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कबिराज रोकायाले प्रहरीमा दिइने जाहेरी, ठाडो उजुरी, थुनुवा कक्ष, आरोपितको गोपनीयता लगायतका विषयमा जानकारी दिएका थिए । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोख्रेलले अदालती पत्रकारिताको परिचय, रिपोर्टिङ गर्दा ध्यान दिनुपर्ने कुरा लगायतका विषयमा जानकारी गराएको थिए । घोराहीका नगरप्रमुख नरुलाल चौधरीले पत्रकारहरुले सत्यतथ्यमा आधारित समाचार दिन क्षमता बिकास गराउन तालिमको आयोजना गरेको बताए । प्रेस स्वतन्त्र सेनानी सुशील गौतमले पत्रकारले आफ्नो बिट समायर समाचार लेखेमा मानिस खोजी खोजी पढ्ने बताए ।
नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी, पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, प्रदेशका महासचिव पाण्डव शर्मा, महासंघका पूर्व अध्यक्ष सुदीप गौतम, केबी मसाल, दुर्गालाल केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए । चैत्र १ गतेसम्म सञ्चालन हुने तालिममा दाङमा क्रियाशील ३० जना पत्रकारहरूको सहभागिता रहेको छ ।