© २०२३
बुटवल, २६ फागुन ।
पाल्पाको रिब्दिकोट गाउँपालिकामा स्थायी ठेगाना भई हाल रुपन्देहीमै बसोबास गर्ने स्थानीय सरोकारवालाहरू र गाउँपालिकाबीच समग्र विकासका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित सरोकारवालाहरुले गाउँपालिकाको प्राथमिकता शिक्षा र स्वास्थ्यमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । उनीहरूका अनुसार शिक्षित र स्वस्थ नागरिकहरूले मात्र समृद्ध गाउँपालिका निर्माण गर्न सक्नेछन् ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले गाउँपालिकाले सबैभन्दा पहिले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका थिए । उनीहरूको अनुसार नागरिक शिक्षित र स्वस्थ भए मात्र आर्थिक विकासको सोच्न सकिन्छ । शिक्षित युवा शक्ति, स्वस्थ श्रमशक्ति र उपयुक्त नीति तथा कार्यक्रमहरू लागू गर्न सके मात्र रिब्दिकोटको समृद्धिको यात्रा सम्भव हुने उनीहरूको भनाइ थियो ।
गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले गाउँपालिकाको समग्र विकासका लागि स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वाधार लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरे । उनले रिब्दिकोट गाउँपालिकालाई समृद्ध बनाउन बुटवल केन्द्रित उद्यमी र व्यवसायीहरूको पनि उत्तिकै दायित्व रहेको बताए । “गाउँपालिकाले विशेष गरी कृषि, पर्यटन, र यातायातलाई मुख्य प्राथमिकतामा राखेको छ,” अध्यक्ष कार्कीले भने । उनका अनुसार कृषि र पर्यटन क्षेत्रले गाउँमा रोजगारी सिर्जना गर्न मद्दत गर्नेछ । उनले बाँझो जमिनलाई अधिकतम प्रयोग गरेर आर्थिक उपार्जनका लागि युवालाई जोड्ने खालका कार्यक्रम सञ्चालन गरिने बताए ।
गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारीले शुभकामना मन्तव्य दिँदै जन्मभूमिलाई सम्झेर गाउँ फर्किने अभियान सञ्चालन गर्नुपर्ने बताइन् । उनले विशेष गरी रिब्दिकोटमा बाँझो जमिन कृषि उत्पादनका लागि प्रयोग गर्नुपर्नेमा जोड दिइन् । गाउँपालिकाले कृषिलाई विशेष प्राथमिकतामा राख्दै विभिन्न अभियान सञ्चालन गरिरहेको जानकारी दिँदै अधिकारीले भनिन्, “समग्र विकासका लागि सबै पक्षले हातेमालो गरेर सहकार्य गर्न जरुरी छ । सहकार्यले मात्र गाउँपालिकालाई समृद्ध बनाउन सकिन्छ ।”
कार्यक्रममा उपस्थित स्थानीय, विज्ञ, र सरोकारवालाहरूले गाउँपालिकाको विकासका लागि विभिन्न सुझावहरू दिएका थिए । प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले नागरिकका सुझावहरूलाई मध्यनजर गर्दै आगामी नीतिहरू तय गरिने बताए । उनले भने, “सरकार र स्थानीय सरोकारवालाबीच सहकार्य जरुरी छ । यस अन्तरसंवादबाट प्राप्त सुझावलाई हामी आगामी नीति तथा योजनामा समेट्नेछौं ।”
अन्तक्र्रिया कार्यक्रमका सहभागीहरूले गाउँपालिकाको समृद्धि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, र भौतिक पूर्वाधारको सन्तुलित विकासमा निर्भर हुने बताएका थिए । उनीहरूले पालिकाले बनाउने योजनामा स्थानीय जनताको समेत सहभागिता हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा गाउँपालिका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, व्यवसायी, समाजसेवी, तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।