© २०२३
बुटवल, ३० कात्तिक ।
उमेरले चार बीस टेक्नै आँटेकी लिलु बुढा मगर । पेट पाल्नका लागि सडक छेउँमा दिनभरजसो ग्राहक कुरिरहन्छिन् । रुकुमको तकमा पुरानो घर बताउने बुढाले लामो समय देखि बुटवललाई आफनो कर्मभुमि बनाईरहेकी छन् ।
करिव आज भन्दा ४८ वर्ष अगाडि बुटवल झरेकी बुढालाई यहाँको हावापानीले पनि आफुलाई चिन्छ जस्तो महसुस हुने गरेको बताउँछिन् । जताततै रुख जंगल थियो । त्यसबेला कहीं कतै मात्र घर थिए । अहिलेको शहर त सपना जस्तो लाग्छ मलाई । म यही शहरमा दैनिक मजदुरी गरेर रमाए । त्यसैले यो शहर अत्यन्त प्यारो लाग्छ ।
महेन्द्र राजमार्गको तिनाउ पुल नजिकको बाटो छेउँमा दुईवटा पुरानो टिन । त्यसमाथि प्लाटिकले बेरेको एउटा सानो झुप्रो । सामान्य घाम र शीतका थुपालाई छल्न मात्र सक्ने यो झुप्रोमा लिलु बिहानै ७ बजे नै आईपुग्छिन् । दिनभरी मकै पोल्ने बेच्ने उनको दैनिकी हो । यो झुप्रोमा मकै मात्र होईन दुइचार पोका बदाम, एक दुई खाने चक्लेट पनि छ । जुन उनले मकै नभएका दिनमा बेच्ने गछिन् ।
समय अनुसारका सामान्य सामान बेन्नु उनको दैनिकी हो । उनी भन्छिन् बाचुन्जेल सम्म खानु प¥यो आफ्नै हात खुट्टा चलाएर खानुको मज्जा बेग्लै छ । उनी भन्छिन्–“सिर्जनमा जे बिक्री हुन्छ त्यही बेचेर जीवन चलाउँछु । त्यसका लागि छिमेकी साथीभाईहरुको साथ र सहयोग त छँदैछ ।
उनले यो बाटो छेउँमा लामो समयदेखि जाडो सिर्जनमा मकै बेच्न थालेको लामो अनुभव छ । आजभन्दा करिव १२ वर्ष अगाडिबाट उनले मकै पोलेर बेचेको बताईन् । त्यसबेलामा अहिलेको जस्तो जताततै खानेकार पाईदैन थियो । यो बाटो हिंड्नेहरुले धेरैजसो मकै किनेर खाने गर्दथे । तर अहिले समय बद्लिएको छ । पहिले जस्तो व्यापार त छैन तर पनि जसोतसो खान पुगेको छ ।
अनुहारभरी बुढ्यौले मुज्जा परेको छ । कपाल हिमाल जस्तै सेतै फुलेको छ तर पनि व्यवसाय गर्ने जोस छ उनमा । जोशसँगै जीवनलाई हिंडाउनुपर्ने बाध्यता छ उनलाई । सरकारले दिने बृद्धभत्ताका लागि पहल गर्दा आफनो नागरिता श्रीमानले बनाईदिएको त्यसमा श्रीमानले आफुसँगको उमेर मिलाउँदा कम उमेर राखेका कारणले सरकारले दिएको सेवा पाउन नसकेको गुनासो गरिन् ।
३० वर्षको उमेरमा रुकुमकै श्री प्रसाद बुढासँग भागी विहे गरेकी लिलुले श्रीमानको माया र साथ कहिल्यै आफनो भागमा नपरेको गुनासो गरिन् । विहेपछि पहिलो सन्तान ५ महिना हुने बित्तिकै गर्भमा मृत्यू भए पछि आफुलाई कहिल्यै छोराछोरी चाहना नभएको सुनाउँछिन् ।
“यो बीचमा श्रीमानले अर्को श्रीमती विहे गरेर छोरा पनि जन्मिाए । कमाए उतै रमाए तर बुढेशकालमा मसँग आएका छन् । अहिले केही काम गर्न सक्दैनन् मैले यही दुईचार घोंगा मकै पोलेर बेचेर पालेकी छु”–उनले भनिन् ।
“जिन्दगी बिताउन मैले श्रीमानको साथ पाइन । एक्लै यो बुटवल बजारमा कहिले जंगलबाट दाउरा ल्याएर ५० रुपियाँ त १ सय रुपियाँमा बेचेर जिवन चलाएँ । कहिले बाटोमा बिस्कुट मिठाई बेचेर आफुलाई पालेकी थिएँ । त्यसैबीचमा मेरो दिदी बिहे नगरी बसेकी थिइ उसलाई पनि यहि मेरो दुखको साथी बनाउन ल्याए । अहिले दिदी र मैले आलोपालो यो काम गरेका छौ”–उनले भनिन् ।
यो बीचमा देशमा ठुलै परिवर्तन भए तर पनि आफ्नो जीवनमा ठूलो परिवर्तन नआएको उनको भनाई छ । सडक छेउँमा अहिले सानो मकै २५ र ठुलो मकै ३० रुपियाँ बेच्ने गरेकी छु । दिनमा त्यही ५० वटा जति बिक्री हुन्छ । त्यही नै मेरो आम्दानीको स्रोत हो । भगवान जस्ता बाटो हिंड्ने ग्राहकले मकै खाने मात्रै होईन मलाई देखेर होला सायद दुईचार रुपियाँ फिर्ता पनि नलिई जानेको संख्या पनि धेरै छ यहाँ ।