© २०२३
सल्यान, २९ कार्तिक ।
कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय सल्यानले प्रदान गर्दै आएको अत्यावश्यक वाहेकका सेवा स्थगन गरेको छ । प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण अत्यावश्यक वाहेकका सेवा बन्द गरिएको कार्यालयले जनाएको छ । मंगलबार एक सुचना जारी गर्दै प्रशासनले बुधबार ३० गतेदेखि आगामी मंसिर ५ गते सम्म राहदानी तथा राष्ट्रिय परिचयपत्र सम्बन्ीध सेवा स्थगन गरिएको जानकारी दिएको छ ।
“शान्ति, सुरक्षा, विपद व्यवस्थापन, नागरिकता वाहेकका सेवाहरु बुधबारदेखि मंसिर ५ गते सम्मलाइ स्थगित गरिएको छ”–सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले भने, “मंसिर ४ को निर्वाचन सम्पन्न गर्न कर्मचारीहरु खट्ने भएका कारण सेवा बन्द गर्नुपरेको हो ।” निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्न स्थानीय प्रशासन अहोरात्र तल्लीन रहेको र निर्वाचन कार्य सम्पन्न नभएसम्मका लागि जिल्लाभर मदिरा बिक्रीमा समेत रोक लगाइएको खड्काले बताए ।
जिल्लाको समग्र सुरक्षा व्यवस्था सुदृढ बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल एवं नेपाली सेनाले गस्ती कार्यलाई निरन्तरता दिइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।