© २०२३
‘नवयान’ शब्द संस्कृतका दुई शब्दहरूको संयोजनबाट बनेको छ, जसमा ‘नव’ शब्दले ‘नयाँ’ र ‘यान’ शब्दले ‘सवारी’ भन्ने अर्थ दिन्छ । बौद्ध धर्ममा धेरै हाँगाविगाँहरू रहे पनि मुख्य रूपमा हीनयान, महायान र बज्रयान बौद्ध अभ्यासहरू प्रचलनमा छन्, त्यसैगरी नवयानलाई पनि डा. भिमराव अम्बेडकरले आधुनिक बौद्ध धर्मको शाखाको रूपमा पुर्नव्याख्या गरेका हुन् । नवयानले दलित बौद्ध आन्दोलनको नवीन दृष्टिकोणलाई उजागर गरेको छ । यसलाई अम्बेडकरवादी बौद्ध आन्दोलन पनि भन्ने गरिन्छ । यो आन्दोलन १४ अक्टोबर १९५६ मा डा. भीमराव अम्बेडकरद्वारा सुरू गरिएको थियो । उनले लेखेको ‘बुद्ध र उनको धम्म’ (दि बुद्ध एण्ड हिज धम्म) नामक पुस्तकलाई नवयान बौद्ध धर्म मान्नेहरू मूल ग्रन्थको रूपमा मान्दछन् । नवयानले हिन्दू धर्मको जात व्यवस्था एवम् अन्य अन्धविश्वांसलाई अस्वीकार गर्दै दलित समुदायको अधिकार र मर्यादा उकास्ने प्रयास गरेको देखिन्छ । जातीय समानताको वकालत गरेको हुँदा पनि उक्त समयमा भारतका लाखौँको शङ्ख्यामा दलितहरू नवयान बौद्ध धर्ममा धर्मान्तरित भएका थिए । नवयानका अनुयायीहरूले डा. भीमराव अम्बेडकरले प्रतिपादन गरेको बाईस प्रतिज्ञाहरूको पालन गर्नु महत्वपूर्ण र अनिवार्य विषय हुन्छ ।
नवयानको दृष्टिकोण
डा. भिमराव अम्बेडकरले बौद्ध धर्म स्विकार गर्ने दिनभन्दा अघिल्लो दिन पत्रकारले एउटा प्रश्न सोधेका थिए । तपाईंले जुन बौद्ध धर्म अपनाउँदै हुनुन्छ, त्यो महायान बौद्ध धर्म हुनेछ वा हीन यान बौद्ध धर्म हुनेछ ?“मेरो धर्म न त हीनयान हुनेछ न त महायान हुनेछ । यी दुबै सम्प्रदायमा केही न केही भिन्नता छ । तर मेरो धर्म केवल बौद्ध धर्म नै हुनेछ । जसमा महात्मा बुद्धको मूल सिद्धान्त र केवल विवेकशील सिद्धान्त मात्रै समाविष्ट हुनेछ । बौद्ध धर्ममा हिन्दू धर्ममाजस्तो कुनै पनि किसिमको जातहरू, उँचनीच, भेदभाव, कुरीतिहरू, देव, स्वर्गनर्क, अन्धश्रद्धा केही हुनेछैन । सबैलाई समान अधिकार, समता, बन्धुता, दया र करुणा हुनेछ ।” अम्बेडकरले जवाफ दिएका थिए ।यसबाट पनि प्रष्ट हुन्छ कि नवयानले कुनै पनि किसिमको जातीयतावादलाई स्विकार्दैन । बरु यसले मानवतावादको जगेर्ना गर्नका निम्ति समान अधिकार, समता, बन्धुत्व र करुणालाई प्राथमिकता दिन्छ । वास्तवमा नवयान एक बौद्ध यानमात्र होइन, भारतमा हिन्दू धर्मको आडमा जातीय परम्पराले नित्याएको शोषण र दमनबाट उत्मुक्तिका निम्ति चलाइएको बौद्ध आन्दोलन पनि हो ।
नवयान बौद्ध धर्ममा सामूहिक प्रयास
भातीय स्वतन्त्रतापछि सबैभन्दा बढी सङ्ख्यामा एकैपटक डा. अम्बेडकरको नेतृत्वमा सामूहिक रूपमा बौद्ध धर्ममा प्रवेश गर्ने काम भएको थियो । १४ अक्टोबर १९५६ का दिन नागपुरमा एक दीक्षा सम्पन्न भयो, जसमा अम्बेडकरसहति ५० लाख मानिसहरू एकैपटक बौद्ध धर्ममा प्रवेश गरेका थिए । अर्काे दिन पुनः ५० लाख बौद्ध धर्ममा रूपान्तरित भए । त्यसैगरी तेस्रो दिन चन्दपुरमा ३० लाख अनुयायीहरू बौद्ध धर्ममा प्रवेश गरे । यस प्रकार १ करोड ३० लाखभन्दा पनि बढी मानिसहरूलाई बौद्ध धर्ममा प्रवेश गराउने काम अम्बेडकरले गरे । यस घटनालाई भारतमा बौद्ध धर्मको पुर्नउत्थान वा पुर्नजन्म भएको मानिन्छ । मार्च १९५९ सम्मा डेड करोडदेखि २ करोड सम्म मानिसहरू बौद्ध धर्ममा प्रवेश गरिसकेका थिए ।
धर्म परिवर्तनको कारण
अम्बेडकर दलित आन्दोलनका अगुवा थिए । हिन्दू समाजमा छुवाछूत र भेदभावको मूल जरो हटाउन नसकिने देखेकाले उनले धर्म परिवर्तन नगरेसम्म दलितहरूको मुक्ति सम्भव नहुने निश्कर्ष निकाले । अम्बेडकरले अन्य धर्महरूको तुलना गरेपश्चात् मात्र बौद्ध धर्म छानेका थिए । समतामूलक समाज निर्माण गर्ने उनको दृष्टिकोणसँग बौद्ध धर्मका सिद्धान्तहरू नजिक रहेको हुँदा पनि उनले बौद्ध धर्मलाई छानेका हुन् । नवयान बौद्ध धर्मले अछूतहरूको समस्या समाधान गर्दै उनीहरूलाई सशक्त बनाउने उद्देश्य राख्यो, जसले गर्दा तत्कालीन समयमा भारतीय समाजमा गाडा बनेर बसेको भेदभावलाई चुनौती दिँदै सामाजिक र आध्यात्मिक क्रान्तिको विजारोपण हुनगयो ।नवयान आन्दोलनलाई बौद्ध धर्मको क्रान्तिकारी पुर्नव्याख्या पनि भन्न सकिन्छ । महायान, थेरवाद र वज्रयानजस्ता बौद्ध परम्पराबाट टाढा रही नवयान बौद्ध धर्मले सामाजिक समस्याहरू समाधान गर्नतर्फ ध्यान दिएको देखिन्छ । अम्बेडकरले परम्परागत बौद्ध धर्मका चार आर्यसत्य र अनात्माजस्ता सिद्धान्तहरूलाई त्रुटिपूर्ण र निराशावादी भनेका थिए । उनका अनुसार यी शिक्षाहरू बुद्धका वास्तविक शिक्षा नभएर पछि केही गलत विचारधाराका भिक्षुहरूले बौद्ध ग्रन्थमा समावेश गरेको हुनसक्छ । यसैगरी कर्म र पुनर्जन्मजस्ता बौद्ध धर्मका आधारभूत अवधारणाहरूलाई पनि अम्बेडकरले अन्धविश्वासका रूपमा अस्वीकार गरेका छन् । उनले बौद्ध धर्मलाई वर्गसंघर्ष र सामाजिक समानताको माध्यमका रूपमा पुर्नपरिभाषित गरे । अम्बेडकरको व्याख्यामा बौद्ध धर्म व्यक्तिगत आध्यात्मिक लक्ष्यभन्दा समाजका समस्या समाधान गर्न सक्रिय हुनु पर्दछ, जसले करुणा र सामूहिक एकतामार्फत् अछुतहरूले भोग्नुपर्ने विभेद र अन्यायको निरोध गर्न सक्दछ ।दलित बौद्ध आन्दोलनको रूपमा अगाडि बढेको नवयान बौद्ध धर्मले भारत र विश्वका विभिन्न मुलुकका पिछडिएका समुदायहरूलाई प्रेरणा दिने काम गरेको छ । यो आन्दोलनले बौद्ध धर्मका सिद्धान्तहरूलाई आधुनिक समानता र मानव अधिकारका आदर्शहरूसँग जोड्दै नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ ।
बौद्ध धर्म नै हो भने किन नवयान?
डा. अम्बेडकरले अन्य धर्महरूको तुलनामा जातीय विभेदको अन्त्यका निम्ति बौद्ध धर्म सबैभन्दा उपयुक्त विकल्प ठाने । यसो गरिरहँदा उनले यसलाई नवयानका रूपमा किन परिवर्तन गरे भन्ने महत्वपूर्ण विषय हुनजान्छ । अम्बेडकरले बौद्ध धर्मको मूल चार आर्यसत्य अस्वीकार गरे र दुःखलाई व्यक्तिगत होइन, सामाजिक पीडाको रूपमा पुनःव्याख्या गरे । उनले बुद्धलाई मोक्षदाता नभई मार्गदाता भनी चित्रण गरे । अम्बेडकरले बुद्धका सिद्धान्तहरूलाई आधुनिक विचारधारासँग तुलना गर्ने क्रममा आफ्नो लेख ‘बुद्ध र कार्लमाक्स’मा बुद्ध र माक्र्सका विचारहरूको विश्लेषण गरे । उनका अनुसार, बुद्धले माक्र्सको वर्ग–संघर्षलाई पहिल्यै स्वीकार गरेका थिए । दुःख वा पीडाको कारण शोषण भएको र यसलाई हटाउन पञ्चशील र आर्य अष्टाङ्गिक मार्ग अपनाउनुपर्ने उनको ठहर थियो । अम्बेडकरका अनुसार, बुद्धका विचार फ्रेन्च र रसियन क्रान्तिहरूको समानता, स्वतन्त्रता र भ्रातृत्वका आदर्शभन्दा धेरै माथि थिए । अतः बुद्ध धर्मले समानता मात्र होइन, भ्रातृत्व र स्वतन्त्रता पनि कायम राख्न सक्छ ।अन्ततः, अम्बेडकरले बौद्ध धर्मलाई नवयानका रूपमा पुनःआविष्कार गरे, जसले अछूतहरूलाई सामाजिक मान्यता दिने र उच्च जातिहरूद्वारा गरिएको विभेदबाट मुक्त गराउने लक्ष्य राख्यो । नवयान बौद्ध धर्म बौद्ध धर्मको इतिहास र ब्राह्मण धर्मसँगको संघर्षबाट जन्मिएको हुँदा अम्बेडकरले बौद्ध धर्मलाई क्रान्तिकारी धर्मको रूपमा स्थापित गरएको मान्न सकिन्छ ।
नवयानका बाईस प्रतिज्ञा
डा. भिमराव अम्बेडकरले विश्वको सबैभन्दा ठूलो लिखित संविधान “भारतीय संविधान” निर्माण गर्न महत्वपूर्ण योगदान गरे । त्यसैले आज उनलाई भारतीय सम्बिधानका पिता पनि भनेर चिन्ने गरिन्छ । अम्बेडकर दलीतहरूका नेता मात्र होइन, मुक्तिदाता समेत बने । बौद्ध धर्मलाई नवयानका रूपमा पुनःव्यख्या गरेको यस यानले अछूतहरूलाई सामाजिक मान्यता दिने र उच्च जातिहरूद्वारा गरिएको विभेदबाट मुक्त गराउने लक्ष्य राखेको छ । नवयान बौद्ध धर्म, बौद्ध धर्मको इतिहास र ब्राह्मण धर्मसँगको संघर्षबाट जन्मिएको बौद्ध धर्मको क्रान्तिकारी स्वरूप हो भनी अथ्याउन सकिन्छ ।बुद्ध धम्ममा अवलम्बन गरिएको धम्म दीक्षा विधिलाई अवलम्बन गर्दै अम्बेडकरले नवयान बौद्ध धर्म स्विकार्नेले बाईस वटा प्रतीज्ञा गर्नुपर्ने भनी उल्लेख गरेका छन् । यसलाई कहिँलेकाहीँ भिष्मप्रतिज्ञा पनि भन्ने गरिन्छ ।पहिलो प्रतिज्ञा म ब्रह्मा, विष्णु र महेशमा विश्वास गर्दिनँ, न त तिनीहरूको पूजा नै गर्नेछु भन्ने रहेको छ भने दोस्रोमा भगवानको अवतार मानिने राम र कृष्णमा मेरो कुनै विश्वास हुनेछैन । न त म तिनीहरूको पूजा नै गर्नेछु भन्ने रहेको छ । म गौरी, गणपति र अन्य हिन्दू देवी–देवताहरूमा विश्वास गर्दिनँ । म तिनीहरूको पूजा पनि गर्दिनँ भन्ने तेस्रो प्रतिज्ञा हो । त्यसैगरी चौथो प्रतिज्ञा अन्तर्गत म भगवानको अवतारमा विश्वास गर्दिनँ भन्ने पर्दछ । पाँचौँ प्रतिज्ञा यस्तो छ, ‘भगवान बुद्ध भगवान विष्णुको अवतार थिए भन्ने कुरामा म कहिल्यै विश्वास गर्दिनँ र गर्ने छैन । म यसलाई पागलपन र गलत प्रचार मान्छु ।’
छैठौँ, सातौँं, आठौँ, नवौँ र दशौँ प्रतिज्ञाहरू क्रमशः ‘म श्रद्धा (श्राद्ध) मा सहभागी हुने छैन । न त पिण्डदान नै दिनेछु ।’, ‘म बुद्धको सिद्धान्त र शिक्षालाई उल्लङ्घन गर्ने तरिकाका कामहरू गर्दिनँ ।’, ‘ब्राह्मणहरूले गर्ने कुनै पनि समारोहलाई म स्वीकार गर्दिनँ ।’, ‘म मानिसको समानतामा विश्वास गर्छु ।’ र ‘म समानता स्थापित गर्ने प्रयास गर्नेछु ।’
त्यसैगरी क्रमशः सत्रौँ प्रतिज्ञासम्म यस्ता प्रतिज्ञाहरू रहेका छन्, ‘म बुद्धको आस्टाङ्गिक मार्गलाई अनुसरण गर्नेछु ।’, ‘म बुद्धले तय गरेका मापदण्डहरू पालना गर्नेछु ।’, ‘म सबै जीवित प्राणीहरूप्रति करुणा र मायालु–दयालु हुनेछु र उनीहरूको रक्षा गर्नेछु ।’, ‘म चोरी गर्दिनँ ।’, ‘म झुटो बोल्दिनँ ।’, ‘म यौन पाप गर्दिनँ ।’ र ‘म ड्रग्स र रक्सीको सेवन गर्दिनँ ।’ त्यसैगरी अन्य प्रतिज्ञाहरू यस्ता छन्, ‘म महान अष्टाङ्गिक मार्ग अनुसरण गर्ने प्रयास गर्नेछु र दैनिक जीवनमा करुणा र मैत्रीको अभ्यास गर्नेछु ।’, ‘म हिन्दू धर्मलाई त्याग्छु, जुन मानवताका लागि हानिकारक छ र मानवताको प्रगति र विकासमा बाधा पुर्याउँछ किनभने यो असमानतामा आधारित छ । म बौद्ध धर्मलाई आत्मनिर्भरताको रूपमा अपनाउँछु ।’, ‘म बुद्धको धम्म नै साँचो धर्म हो भन्ने कुरामा दृढ विश्वास गर्दछु ।’, ‘धर्म रूपान्तरणद्वारा म फेरि जन्मेको छु भन्ने कुरामा विश्वास गर्छु ।’ र ‘म दृढताका साथ घोषणा गर्दछु कि यो (परिवर्तन) पछि म बुद्ध र उहाँको धम्मका सिद्धान्त र शिक्षाअनुसार मेरो जीवनलाई निर्देशित गर्नेछु ।’
दलित आन्दोलन र अम्बेडकर
दलित शब्दको अर्थ ‘दबिएको’ वा ‘शोषित’ भन्ने हुन्छ । दलित शब्द जातिवादका कारण सताइएका सबै वर्गका लागि प्रयोग गर्ने शब्द हो । भारतमा दलित आन्दोलनको सुरुवात दलितहरूको सामाजिक, राजनीतिक र आर्थिक अवस्था सुधार्नको लागि गरिएको थियो । चार वर्ण प्रणालीमा शूद्र (दलित) वर्गलाई अन्य तीन वर्गहरूको सेवा गर्ने वर्गको रूपमा लिइएको थियो । समयको परिवर्तनसँगै दलित समाजको सामाजिक संरचना र चेतना परिवर्तन हुँदै गयो । नयाँ राजनीतिक र प्रशासनिक संरचनाले दलितहरूको अधिकारको पक्षमा आवाज उठाउन सहयोग ग¥यो ।डा. अम्बेडकर शिक्षाविद्, वकिल, पत्रकार र सामाजिक र राजनीतिक सुधारक पनि थिए । उनले भारतमा दलित चेतना र दलित आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरे । उनलाई दलित चेतनाको पिता मानिन्छ, किनकि उनले शताब्दीयौदेखि शोषित दलितहरूलाई मुक्त गराउने प्रयास गरे ।
अम्बेडकले दलितलाई सार्वजनिक पोखरीबाट पानी पिउने अधिकारको माग राख्दै सत्याग्रह आन्दोलन मात्र गरेनन् सन् १९३० मा नासिकमा दलितहरूको मन्दिर प्रवेशको लागि पनि सत्याग्रह गरेका थिए । यी आन्दोलनहरूले तत्कालीन समयमा सफलता नपाए पनि दलितहरूमा आफ्नो अधिकारबारे चेतना फैलाउन महत्वपूर्ण योगदान पु¥याए । पछि अम्बेडकर दलितहरूको नेताको रूपमा राजनीतिमा प्रवेश गरे । महात्मा गांधीको अनशन र पुणे सम्झौताले उनलाई भारतीय समाजमा नयाँ राजनीतिक नेता रूपमा चिन्हित ग¥यो । १९३६ मा अम्बेडकरले हिन्दू धर्म छोड्ने निर्णय गरे । उनले समता र मुखनायक जस्ता पत्रिका पनि प्रकाशित गरेका थिए । १९४६ मा अम्बेडकर संविधान सभा सदस्य नियुक्त भए र संविधान निर्माण समितिका अध्यक्षको रूपमा कार्य गरे । आजपनि नवयान बौद्ध धर्मावलम्बीहरूले अम्बेडकरलाई बौधिसत्वको रूपमा लिने गर्दछन् । उनको जतीय छुवाछुत विरुद्धको क्रान्तिलाई बुद्धका परिमार्जित शिक्षा र ब्राम्हणवादका विभेदकारी व्यवस्थाको विरोधको परिणाम मान्न सकिन्छ । भारत लगायत अन्य मुलुकहरू जहाँ अझै पनि अछुत र उच्च कुलीन जातीय व्यवस्था छ, ती सबै मुलुकहरूमा समानता र मानवताको विजारोपण गर्न अम्बेडकरको नवयान बौद्ध धर्म महŒवपूर्ण सावित हुन सक्दछ ।