© २०२३
बुटवल, १६ फागुन।
महाशिवरात्रिको उपलक्ष्यमा देवदहको साहदौनिया बजारमा विशेष मेला तथा दंगल प्रतियोगिता भएको छ। मेला संरक्षण मूल समिति परिवार देवदहको आयोजनामा महाशिवरात्रि मेला एवं साहदौनिया विराट दंगल कार्यक्रम २०८१ भएको हो।कार्यक्रमको एक समारोहको बीच नेपाल सरकारका पूर्वमन्त्री तथा क्षेत्र नं १ का सांसद छबिलाल विश्वकर्माले प्रतियोगिताको उद्घाटन गर्दै खेल विकासमा सरोकारवाला पक्षले लाग्नुपर्ने बताए।तराईमा धेरै खेलिने र युवाहरू बीच दंगल धेरै आकर्षक खेलका रूपमा रहेको भन्दै यो खेललाई व्यवस्थित गर्दै लग्न जरुरी रहेको उनले बताए। नयाँ युवा खेलाडी उत्पादन हुने गरी लाग्न उनले सुझाव दिए।
आधुनिक रेस्लिङको उत्पत्तिका खेलका रूपमा यो दंगल रहेको भन्दै यस प्रकारको परम्परागत खेल जोगाउने गरी सबै लाग्नुपर्ने बताए। प्रतियोगितामा नेपालका साथै शेरा पहलवान, नौतनहवा रेल्वे स्टेशनका पहलवान जुगन्धर, उमेश पहलवान हरियाणा क्षेत्रका एक सय बढी पहलवानहरू सहभागी रहेको मेला संयोजक दुधनाथ यादवले बताए। कार्यक्रमका दौरान देवदह नगरपालिका वडा नं. ११ का वडाध्यक्ष दुधनाथ यादव, वेद गिरि, प्रकाश अर्याल, नेकपा एमालेका केशव भट्टराईले शुभकामना दिए। प्रतियोगितामा विजेताले नगद १ लाख र गद्य पुरस्कार पाउनेछन्। यसैगरी दोस्रो हुनेले नगद ७० हजार रुपैयाँ तथा तेस्रो हुनेले नगद ४० हजार रुपैयाँ पुरस्कार पाउने सदस्य दिनेश यादवले बताए।

