काठमाण्डौ, १३ फागुन ।
शेयर बजार लगातार सातौं कारोबार दिन बढेको छ । आज शेयर बजार परिसूचक नेप्से ७ दशमलव १३ अङ्कले बढेर २,७६५ दशमलव ८८ विन्दुमा पुगेको छ । गत फागुन ४ गतेयता शेयर बजार बढिरहेको छ ।

आजको कारोबारमा विकास बैंक, फाइनान्स, जलविद्युत्, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार समूह बाहेक सबै समूहको शेयर बढेको छ, जसमा अन्य समूहको शेयर झन्डै ३ प्रतिशतले उकालो लागेको छ ।
गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर आज १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर भने झन्डै ९ प्रतिशतले घटेको छ ।
हालको बजार वृद्धिको बीचमा कारोबार रकम भने घटेको देखिएको छ। हिजो ११ अर्ब ८ करोडको शेयर कारोबार भएकोमा आज ३ सय १२ वटा कम्पनीका १ करोड ७८ लाख कित्ता शेयर ९ अर्ब ९० करोड रुपैयाँमा किनबेच भएका छन् । आज सबैभन्दा बढी हिमालयन रिइन्सुरेन्स कम्पनीको १ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।



