© २०२३
सल्यान, १३ फागुन ।
सल्यानको छत्रेश्वरी गाउँपालिका–१ फारुलेबोटमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। रोल्पाको झ्यामबाट सल्यान छत्रेश्वरीको दमाचौर तर्फ आउँदै गरेको रा १ क ५३० नम्बरको मिनी ट्रक गएराति ११:५५ बजे दुर्घटनामा परेको थियो।
दुर्घटनामा परी रोल्पाको गंगादेव गाउँपालिका–३ निवासी ३५ वर्षीय ट्रक चालक हरी चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। ट्रक सडकबाट करिब ५० मिटर तल खसेको बताइएको छ। स्थानीय बासिन्दाले दुर्घटनाको जानकारी दिएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो।
गम्भीर घाइते भएका चालक चन्दलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको थियो। तर उपचारकै क्रममा मंगलबार बिहान ६ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम बहादुर खत्रीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।