Butwal Today

शत प्रतिशत बालिका तथा किशोरीलाई एचपिभी खोप लगाइयो

७ फाल्गुन २०८१, बुधबार
अ+
अ-

नेपालगन्ज, ७ फागुन .

बाँकेमा लक्षित समूहका करिव शत प्रतिशत बालिका तथा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका आठवटै पालिकामा १५ दिन सम्म सञ्चालन गरिएको एचपिभी खोप अभियान अन्तर्गत ३३ हजार ३७५ बालिकालाई खोप लगाउने लक्ष्य निर्धारण गरिएकोमा ३२ हजार ९९९ बालिकालाई अर्थात ९९ प्रतिशतलाई खोप लगाइएको हो । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले सो अभियान अन्तर्गत सबैभन्दा बढी खजुरा गाउँपालिकामा लक्ष्य भन्दा ५७ प्रतिशत बढी बालिकालाई सो खोप लगाइएको बताए । खजुरामा तीनहजार २५३ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा पाँचहजार १०० जनालाई खोप लगाइएको छ । यस्तै नेपालगन्ज उपमहानगरपालिकामा पनि लक्ष्यभन्दा दुई प्रतिशत बढी बालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले बताए । प्रायजसो खोप अभियानमा पछाडी पर्ने नेपालगन्ज उपमहानगरमा यसपटक एचपिभी खोप उत्साहपूर्ण रुपमा लगाएको देखिएको उनले बताए ।

प्रमुख शाहीका अनुसार नेपालगन्जमा आठहजार २६२ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा आठ हजार ४०० जनाले खोप लगाएका छन् । यसैगरी डुडुवा गाउँपालिकामा पनि लक्ष्यको ९९ प्रतिशत बालिकाले खोप लगाएका छन् भने राप्ती सोनारी गाउँपालिकामा ९७ प्रतिशतले खोप लगाएका छन् । जानकीमा ९० प्रतिशत, बैजनाथमा ८९ प्रतिशत र नरैनापुरमा ८८ प्रतिशत बालिकाले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । सबैभन्दा कम खोप लगाउनेमा कोहलपुर नगरपालिकामा ८३ प्रतिशत बालिकाले खोप लगाएको जनाउँदै जिल्लाका खोप फोकल पर्सन श्रेष्ठले भने, ‘किन यहाँ सबैले खोप लगाएनन् सो बारेमा अनुसन्धान गरिरहेका छौं ।’ जिल्लाका ३३ हजार ३७५ बालिका र किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्यका साथ माघ २२ गतेबाट खोप अभियान शुरु गरिएको जनाउँदै सो क्रममा आठ पालिकालाई दुई चरणमा बिभाजन गरेर खोप लगाउने कार्य गरिएको खोप फोकल पर्सन श्रेष्ठले बताए । फागुन ६ गतेसम्म सञ्चालन गरिएको सो अभियान अन्तर्गत जिल्लामा कक्षा ६ देखि १० सम्मका बालिका र बिद्यालय बाहिरका १० देखि १४ वर्ष उमेरका बालिका तथा किशोरीहरुलाई उक्त खोप लगाइएको थियो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार पहिलो चरण अन्तर्गत माघ २२ गतेदेखि फागुन १ गतेसम्म नेपालगन्ज, कोहलपुर, खजुरा र जानकीमा खोप अभियान सञ्चालन गरिएको थियो भने दोस्रो चरणमा माघ ३० गतेदेखि फागुन ६ गतेसम्म राप्ती सोनारी, बैजनाथ, डुडुवा र नरैनापुर गाउँपालिकामा खोप दिने कार्यक्रम सञ्चालन गरिएको थियो ।