ट्रेंडिंग:

>> २३ औ तिलोत्तमा गोल्डकप शुरु, पहिलो हाफमा एपीएफको अग्रता >> सामाजिक कार्यमा जुट्न नगरप्रमुख पाण्डेयको आग्रह >> प्रकाशन तथा प्रशारण संघ लुम्बिनीमा कुवँर >> मानसिक स्वास्थ्यको समाचार संप्रेषणमा संवेदनशिलता आवश्यक    >> प्रेस चौतारीको महाधिवेसनको तयारी पुरा, अध्यक्षमा पाण्डे र राई भिडदैँ >> आजवाट सुरु हुदैँ आइपीएल, कोलकोत्तामा उदघाटन खेल >> जेआर क्रिकेट क्लबलाई ईलिटको साथ >> विश्वकर्मा युवा समाजद्वारा स्वर्णकार सुपर सिक्स क्रीकेट प्रतियोगिता हुंदै  >> राष्ट्रिय दल बन्न चार सर्त पूरा गर्नुपर्ने, एउटै चिन्हमा चुनाव लड्न नपाइने >> स्थानीय सरकार सञ्चालन ऐनमा विद्यालय शिक्षाका अधिकार >> सीमा तस्करको गोदामबाट नै सामान जफत >> गणेशको लोभिलो ‘कृषि उद्यम’ >> जनकपुरमा आज राप्रपाको खबरदारी सभा >> आजको मौसमः पाँच प्रदेशमा प्रदेशमा बर्षा हुन सक्ने >> आजवाट प्रथम पानी सम्मेलन हुदैँ >> रुपन्देहीमा अब डेक्सा स्क्यान मेशिन >> ६८ औं सहकारी दिवसः बाँकेमा सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने >> लुम्बिनी प्रदेश लिग फुटबलको उपाधि बर्दियाले हात पार्यो >> नेपालगन्जमा सुख्खा बन्दरगाहको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र >> एन्फा देविनगरमा सुविधा सम्पन्न शौचालय >> धनुषामा प्रहरीको हवाई फायर >> काठमाडौं महानगरले चैत १२ गतेबाट स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउने >> जबरजस्ती करणी आरोपमा राइस मिल व्यवसायी पक्राउ >> प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान >> बबईमा सवारी साधनका नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधिको जडान >> पिएम कपमा आर्मी ६ विकेटले विजयी >> प्रचण्डको स्वागतमा बिरगञ्जका मेयर राजेशमान सिंह >> क्रान्तिका लागि तयार रहन रविको अपिल >> बुटवलमा सुरु भयो मिडिया सम्मेलन >> लन्डनको एअरपोर्टमा आगलागी हुदाँ २४ घन्टा बन्द, १३५१ उडान प्रभावित >> इन्डोनेसियामा ज्वालामुखी बिष्फोट, आसपासका सबै उडान रद्द >> स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह >> युद्धविराम भंग भएको तीन दिनमा मारिए ५९० प्यालेस्टाइनी >> प्रहारीको मौनता लुम्बिनीको कक्ररहवा-कालिदह नाकामा तस्करी मौलाउँदै >> रविले दर्ता गरे पाटन अदालतमा निवेदन, सोमबार तोकियो पेशी >> सिराहाका सिडियो हटाएर कपिलबस्तुबाट पठाइयो >> नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक जारी >> युसिएमएस भैरहवामा निःशुल्क दन्त परीक्षण समपन्न >> लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज तल झर्यो, कतिमा हुँदैछ किनबेच ? >> निशुल्क स्वास्थ्य शिविरले महिलाहरुमा सचेतना बढायो >> वेपत्ता भएका भारतीय पर्यटक भटिएनन् >> चीनले ४ जनालाई फाँसी दिएपछि क्यानडा आक्रोशित >> ‘व्यवसायी टिकाउनको लागि सहकार्य गरौं’ >> सरकारसँग समस्या समाधान हुँदैनः अध्यक्ष शेर्पा >> अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको ६० बर्ष पूरा >> चैतमा चमत्कार, साउनमा सन्नाटा ! >> बुटवलको पहिचान ‘रात्रीकालीन बजार’ >> महेशपुरमा लक्ष्य भन्दा माथि पुग्यो राजस्व >> डढेलो रोक्न सावधानी फैलाउँदै वनका अधिकारी >> नेपाल बैंक लिमिटेड खस्यौलीद्वारा वित्तीय साक्षरता

के बुटवल नुन व्यापारले बनेको शहर हो ?

१ फाल्गुन २०८१, बिहीबार
१ फाल्गुन २०८१, बिहीबार

बुटवलको बारेमा कुरा गर्नासाथ स्थानीय विद्वान, इतिहासका विद्वान, राजनैतिक दल र सामाजिक/व्यापारिक संघ संस्थाका अगुवाहरूले भन्न नछुटाउने शब्द हुन्– बुटवल घ्युसंग नुन साट्ने बजार थियो । यस्ता धेरैजनाले पहाडबाट घ्यु बोकेर बुटवल झर्ने र बुटवलबाट नुन बोकेर पहाड जाने गर्नेहरूको कारणले बुटवल बजार बनेको र विस्तार भएको बताउन छोड्दैनन । पहाडतिरबाट झरेका र हजुरबाको संगत गर्न पाएको पुस्ताले आफ्नो हजुरबा/बाले नुन बोक्न बुटवल झर्दा देखेको बुटवलको वैभवको कुरा गरेर थाक्दैनन् । सबैका कुराहरू सुन्दा बुटवल बजार नुन व्यापारले गर्दा नै बनेको हो भन्ने लाग्छ । एकातर्फ बुटवल प्रागऐतिहासिक रामापिथेकस विचरण गर्ने थलो हो र यो बुद्धकालीन थलो हो भन्ने कुरा पनि गर्ने र अर्कोतर्फ बुटवल नुन बेचेर बनेको थलो हो भन्ने विरोधाभासपूर्ण कुरा गरिरहेका हुन्छौ हामी । त्यसैले प्रस्तुत लेखमा बुटवल शहरको नुनको साईनो कोट्याउने प्रयास गरिएको छ ।

बुटवल बजार
गोरखा बंशावलीमा लेखिएको छ “…नवाफले आफ्ना मुलुकमा काहां कति आमदानि हुदो रहेछ क्या कारिन्दा खाँदा रहेछन् क्या जिमिदार राजा रजौटा षादा रह्या छन्, क्या हामिसित आउदो रहेछ भनि आफ्ना भाइभतिजामा जान्याहरूलाई जाँचन पठाउदा मुलुकमा जाँच गरि गोरषपुरमा जाचबुझ गर्दा र पाल्पालि राजाको ता बुटवल ठुलो अंग छ आमदानि पनि ठूलो छ भनि कसैले यस्तो कुरा पारिदियाछन् र बुटवल हेन्र्या निहँु पारि १०/८ हजार लस्कर लि बुटवलमा उत्र्यो र २/४ दिन वस्या ईतराजि गर्नाको मनसुवा पेटमा राषि हामिलाई मानि षानुपथ्र्यां जगामा त ढेरै आमदानि हुदो रहेछ तिमिहरू सहजैमा षादा रह्याछौ भनि अघि तिरिआयाको भन्दा दोवर तेवर बढाइ नमिलन्या कुरो पारि नवाफले पाल्पालि राजालाई भन्न पठायो ..। यो वर्णन सम्भवत अवधका प्रथम शासक सआदत अलिको गोरखपुर र बुटवल यात्राको हो । बुटवलबाट धेरै कर उठाउने वा बुटवल खोस्ने गरिआएका अवधका नवाबलाई गोर्खाली भारदार सुल्तान शाहले फकाएर बुटवल थमौती गरिदिएर फिर्ता पठाएको बंशावलीमा उल्लेख गरिएको छ ।
प्राचीन नेपाल (सङ्ख्या २१, २०२९ कात्तिक) मा नेपाल देशको इतिहास भनेर पृथ्वीनारायण शाह र उनको टोली बुटवल आएका कुराहरू उल्लेख गरिएको छ । उनको इतिहासमा बुटवल आउने भनेको यहि मात्र हो । बुटवल पुगेपछि बुटवलका बजारको तमाशा हेर्दै आफ्ना भाइछोरा र थरघरहरूलाई “नेपाल र बुटवल कुन असल छ ?“ भनी पृथ्वीनारायणबाट सोधनी भयो । संगै गएका चन्द्र प्रकाश शाह लगायतले “काशी, काश्मीर, नेपाल भन्ने कहावत चलेको हुनाले नेपाल भनेको नेपाल हो । सकल तीर्थ र देवताहरूले पनि आश्रय गरेका हुनाले त्यहाँको जमीन अपूर्व छ । हजुर नै त्यहाँको राजा हुनु उपयुक्त हुनेछ भन्ने लगायतका बिन्ति गरे । सबैको कुरा सुनेर पृथ्वीनारायणले जुँघामा ताउ दिदै “नेपाल नमारी छाड्दिन“ भने । त्यस दिनदेखि चन्द्रप्रकाश शाह अतिनै प्रीतिपात्र बने ।

पाल्पाली राजा हरसाल फागुनका पन्ध्र बीससम्म बुटवलमा बस्ने र घाम ज्यादा चर्केपछि मात्र पाल्पा जाने गर्ने हुनाले उक्त दिन त्यहीं बसेका रहेछन् । श्री ५ ले खरीद गरेको नयाँ पाल बोक्ने मानिस आई नपुग्दा उसको खोजीलाई विराज बखेती गएका थिए । त्यसै बखतमा श्री ५ लाई आलस्य लागी अवेर दिसा गएका थिए । दिसा गर्दा ठूलो शब्द भएको सुन्दा पाल्पाली साहेबहरू (राजकुमार) ले आफ्ना मधिसे रैतीसंग सोधे । उनीहरूले “साना मुलुकका कंगाली राजा कचपच कुरो खान्छन् । खाएपछि पेटमा दर्द हुन्छ ।” भन्ने निन्दित वचन बोलेको पृथ्वीनारायणले सुनेछन् । यस्ता पाजी मधिसेहरूको हेला वचन सहें भने बढा काम कसरी गरौंला भन्ने सोची शौचादी कर्म छिटो गरि अंगद द्वारे र चौतारा द्वारेलाई “जाऊ, ती मधिसेलाई काट” भन्ने हुकुम भयो । उनीहरूले ती मधिसेलाई शमशेर चलाई छटाछट काटे । यसबाट ठूलो हल्ला उठ्दा पाल्पालीहरू धेरै जम्मा भए । अनि गोरखालीहरूलाई आफ्ना हतियार चलाउन लागे । तरवार लिई “जय काली ! जय गोरखनाथ ! ” भनी पृथ्वीनारायण शाह आफै अगाडि सरे । त्यस लडाईमा कसैको शिर, कसैको बाहू, कसैको कटि दुई टुक्रा भए । यसमा पाल्पालीका साठी असी जना जति खती भए । बुटवलका दोकानदारहरू पनि डरले भागी लुके ।

स्वामीनारायण प्रभु भनेर धेरै भक्तहरूले पुज्ने निलकण्ठ वार्णी पाल्पामा महादत्त सेनको शासन भएको बेलामा बुटवल आएका थिए । उनको बुटवल यात्राको बारेमा निलकण्ठ वार्णीः एन ईपिक पिलग्रिमेज अफ चाईल्ड योगी’ मा लेखिएको छ । ’… वार्णी बुटवल नगरको एक रुखमुनी बस्नुभएको थियो । उहाँलाई महादत्त सेनको दरबारमा बोलाईयो । राजा भक्ति स्वभावका रहेछन् । महात्माले राजाकै दरबारमा बसेर राज परिवारका सदस्यहरूलाई दीक्षा दिनुभयो । वार्णी बुटवलबाट विदा हुन खोज्दा बुटोलनगरबासीले उहाँलाई जान दिएनन् । बुटोलनगरमा ५ महिना बसेपछि उहाँ सुटुक्क निस्कनुभयो ।’
माथि उल्लेखित गरिएका ३ घटनाहरूले पाल्पा राज्य नेपालमा एकीकरण हुनु अघि नै बुटवल बजार÷नगर बसिसकेको थियो भन्ने देखिन्छ ।

अनि नुनका कुरा गरौं ।
तिब्बतमा अन्न उत्पादन निकै कम हुन्थ्यो तर त्यहाँका ताल, पखेरामा नुनिलो पानी भएकोले त्यसलाई सुकाएर ढिके नुन बनाउने चलन थियो । नेपालतर्फका व्यापारीहरूले नेपालमा उब्जनी भएको अन्न लिएर तिब्बत जान्थे र त्यहाँ उत्पादन भएको नुन लिएर नेपाल फर्कन्थे । डोल्पा, रुकुम, गुल्मी हुदै बुटवलसम्म उत्तरको नुन ल्याइन्थ्यो भने मुस्ताङ क्षेत्रबाट बेनी, बाग्लुङहुदै कुस्मासम्म नुन ल्याइन्थ्यो, त्यहाँबाट पोखरा, तनहुँ, स्याङ्जा, पाल्पाहुदै बुटवलसम्म नुन आउथ्यो । त्यो नुनलाई भोटेनुन भनिन्थ्यो । त्यो बेला तिब्बतबाट नुन ल्याएर तराईसम्म बेच्ने व्यापारीहरू समाजमा निकै सम्मानित हुने गरेको कुरा ‘हिमालयन ट्रेडर्सः लाईफ इन हाईल्याण्ड नेपालमा विस्तृत रूपमा उल्लेख गरिएको छ ।
मुस्ताङ राज्य जुम्लाको अधिनमा गएपछि जुम्लाका राजा सुरथ शाहको पालामा मुस्ताङमा छाकछांग र तेतांग गाउँमा नुन उत्पादन हुने गरेको र त्यसको विक्रीको लागि जुम्ली राजाले स्थिति बाँधिदिएका थिए । यो आजभन्दा ३०० वर्ष अघिको कुरा हो ( २०४१ कार्तिक २५ गते प्रकाशित कमल दीक्षितको नरसिङ खोलाको नुन शिर्षकको लेखमा गोरखापत्रको २०४१ मङ्सिर ९ मा प्रकाशित रमेश ढुंगेलको प्रतिक्रिया)। मुस्ताङका विभिन्न स्थानमा नुनिलो पानीलाई सुकाएर नुन बनाउने चलन पुरानै भएपनि नेपाल एकीकरणपछी त्यसलाई व्यवसायिक रूप दिएको हुनसक्ने कमल दीक्षितको अनुमान छ । नुनको कथा (प्रकाशित २०४२) मा उनी लेख्छन– … चन्द्र समशेरको पालामा भोटसँग कचपच उठिरहेथ्यो । त्यसैले त्यसको समाप्तिका लागि उनले भोटमाथि चढाइ गर्ने योजना गरेका थिए । यस्तो युद्ध भएमा उत्तरतिरबाट आउने भोटेनुनको आगमन बन्द हुनेछ र दुनियाँलाई नुनको आपूर्ति कम भई दुःख हुनेछ भन्ने भई भारतबाट नुन झिकाउन थाल्नुका साथै उनले नेपालभित्र पनि नुन खानीहरूको खोजी गराउन थाले । त्यस्तैमा टुकुचे, थाकखोलाका युवक व्यापारी हितमान शेरचनले नसिङ खोलाको नुन खानीका वारेमा महाराजलाई बिन्ति चढाई त्यसलाई नुन बनाउने प्रविधि सिक्न भारतमा मान्छे पठाउने योजना पेश गरे । फलतः महाराजलाई यो कुरा गमी उनले हितमानलाई नै साम्भर जान खटाए । साम्भरमा नौ महीना जति वसी नुन जमाउने प्रारम्भिक ज्ञान लिई हितमान नेपाल फर्के । अनि मुस्ताङ, नर्सिङ खोलामा विधिवत् नुन बनाउने कार्य शुरू भयो । यो थियो संवत् १९८१–८३ सालभित्रको कुरो ..’ त्यसबेला मुस्ताङले मात्र २०० टन जति नुन तल्लो भेगलाई बेच्ने रहेछ । डोल्पा, हुम्ला लगायतको क्षेत्रबाट गण्डकी क्षेत्र हुदै बुटवलतिर झर्ने नुनको त हिसाबै रहेन ।

भारतमा मुगल कालमा र ईस्ट इन्डिया कम्पनीको शासन रहँदा नुन आन्तरिक राजस्वको प्रमुख माध्यम थियो । नुनबाट ठूलो रकम असुली गर्ने भएकोले नुनको व्यापारमा कडाई गरिएको थियो । यस्तो अवस्थामा भारतबाट बुटवल क्षेत्रमा नुन ल्याएर ब्यापार गर्ने सम्भावना देखिदैन । बुटवलबाट नजिक रहेको नुनको खानी भएको स्थान भारतको साम्भर थियो । सिपाही बिद्रोहअघि बुटवलदेखि साम्भरसम्म इस्ट इन्डिया कम्पनि सरकार, अवध सरकार र दिल्लीको मुगल साम्राज्यको भूभाग पार गर्दै नुन ल्याउन सहज थिएन । अझ सन् १८०१ मा गोरखपुर क्षेत्र कम्पनीले अवधसंग सन्धि गरि लिएपछि र भारतमै नुन विक्रीमा कडाई अनि भन्सार असुलीको कारण भारतीय भूमिबाट बुटवलमा नुन आउने सम्भावना नै देखिदैन । साम्भरबाट नुन उत्पादन गर्ने एकाधिकार सन् १८६९–७० मा ब्रिटिश इन्डियन सरकारले आफ्नो कब्जामा लियो । साल्ट ईण्डस्ट्री अफ इन्डिया र मोनोग्राफ अफ साल्टमा उल्लेख भए अनुसार केहि घुमन्ते बन्जारा/सन्यासीहरूले गोरखपुरको उत्तरी सिमानामा (बुटवलको दक्षिणी सिमा क्षेत्रमा) थोरै परिमाणमा नुन बेच्ने गरेका थिए ।

सन् १८३८ मा प्रकाशित रिपोर्ट हिस्टोरिकल डकुमेन्ट्स अफ इस्टर्न इन्डियामा एक लाख ८५ हजार ६६१ रुपियाको नुन नेपाल (बुटवल क्षेत्रबाट) गोरखपुर निर्यात भएको थियो । जबकी सोही आर्थिक वर्षमा ४ हजार ३४३ रुपियाँको नुन गोरखपुरबाट बुटवल क्षेत्रमा आएको थियो । यो रिपोर्ट हेर्दा भोटेनुन बुटवल हुदै उत्तरी भारतमा निर्यात भएको प्रष्ट देखिन्छ । सन् १८८० सम्म आईपुग्दा गोरखपुर क्षेत्रमा नेपालबाट जाने नुनको परिमाण न्यून भैसकेको थियो । सन् १८८६ मा गोरखपुर केन्ट रेलवे स्टेशनको निर्माण भएपछी मात्र अवधको उत्तरी क्षेत्र भारतको नुन उत्पादन क्षेत्रसंग जोडिन पुग्यो. र सम्भवत बुटवलसम्म भारतीय नुनको विक्री शुरु भयो । वि.स. १९६३ तिर चन्द्र समशेरले नुनमा कर घटाएपछी भारतीय नुनले नेपाल प्रवेशमा सहजता पाएको हुनुपर्छ, किनभने गोरखापत्रको पहिलो अंक ( वि.स.१९५८ जेष्ठबादी ३ सोमबार) मा बजार भाऊ भनेर देशका तत्कालिन बिभिन्न बजारमा बेचबिखन गरिने मुख्य बस्तुको भाउ उल्लेख गरिएको छ । पश्चिम क्षेत्रका प्युठान र बाग्लुंग बजारमा नुनको भाउ उल्लेख गरिएपनि बुटवल बजारमा नुन उल्लेख गरिएको छैन । यसले पनि बुटवलमा नुनको भब्य ब्यापार हुन्थ्यो र नुनले नै बुटवल बनाएको हो भन्ने भाष्य गलत सिद्ध हुन्छ ।

बुटवलबाट गोरखपुर ब्यापार हुने पुरानो बाटो बुटवल–पालि–निचलौलको विकल्पमा सन् १८७७ तिर नौतनवालाई अंग्रेजले व्यापारिक बिन्दु बनाएपछि बुटवलको पहुँच भारतका मुख्य नुन उत्पादक क्षेत्रसंग भएको हुनुपर्छ । सन् १९१५ तिरबाट नौतनवा र बुटवल यातायात चलन शुरु भएपछि र नौतनवामा रेल स्टेशन बनेपछि भारतले दिने कोटा प्रणाली अनुसार ठुला व्यापारीहरूले बुटवलमा नुन ल्याएर बेच्न शुरु गरेका थिए । सन् १९४९ मा भएको चिनिया क्रान्ति र सन् १९५९मा तिब्बतमा चीनको कब्जापछि तिब्बतबाट नुन आउन कमि भयो । वि.स. २०२० मा साल्ट टे«डिंग कर्पोरेशनले नुन बेच्न थालेपछि र भोटे नुन खाएमा गलगाँड आउँछ भन्ने हल्ला चलेपछि मुस्ताङ र तिब्बतको नुन पहाडमा समेत चलेन । करिब ५० वर्ष बुटवलले लुम्बिनी, गण्डकी, धौलागिरि र राप्तीको केहि भूभागका नागरिकलाई नुन बेचेर नुन बेच्ने शहरको नाम कमायो । सुनौली हुदै आएर पाल्पातिर सिद्धार्थ राजमार्ग उकालिएपछि नुनको बजारपनि उकालिदै गयो र बुटवलसङ्ग नुन बेचेको सम्झना मात्र रह्यो ।
नुनका कुरा यिनै हुन्, घ्यूका कुरा पछी कुनैदिन गरौला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?