© २०२३
आजभन्दा करिब २६०० वर्षअघि लुम्बिनीमा जन्मिएका थिए राजकुमार सिद्धार्थ । कपिलवस्तुका राजकुमार सिद्धार्थमा सानैदेखि करुणाको स्वभाव थियो । एक दिन देवदत्तले घाइते बनाएको राजहंसलाई सिद्धार्थले उपचार गरेर । निको पारे । छोडिदिए । यो उनको करुणाको ज्वलन्त उदाहरण थियो । सारथी छन्दसँग बाहिर निस्किँदा बूढो मान्छे, रोगी मान्छे र लास देखे । यसले उनको भित्री हृदयलाई हल्लाइदियो । मानिसका यस्ता दुःख, दुःखका कारण र तिनको निवारणको खोजीका निम्ति उनी ब्यग्र बने । दरबारको सुखसयल उपभोग गरेर यस्ता कौतुहलताको समाधान हुनेवाला थिएन । त्यसैले सिद्धार्थले दरबारको ऐस, आराम, सम्पूर्ण सुविधा र मातापिता, पत्नी र सन्तानसमेत त्याग गरी चिवर ग्रहण गरे । दुःखको कारण र त्यसको निवारणको निम्ति सारा कुरा परित्याग गर्नु बुद्धले देखाएको त्याग र मानवताको पराकाष्टा थियो । बुद्धत्व प्राप्त गरिसकेपछि केवल आफ्नो मात्र निर्वाणको बारेमा पनि सोच्न सकिन्थ्यो । तर, बुद्धले आफूले प्राप्त गरेको ज्ञानलाई सारा मानिसको कल्याणका निम्ति लगाउने महान विचार लिए । त्यसैले पञ्चवर्गीय भिक्षुहरूलाई पहिलो पटक ज्ञान प्रवाह गराए । यसलाई बौद्ध साहित्यमा प्रथम धर्मचक्र पर्वतन भनिन्छ ।
बुद्धले सारा संसारको निर्वाणको निम्ति ‘बहुजन हिताय र बहुजन सुखाय’को धारणा बोकी ४५ वर्षसम्म पैदल हिडेर निर्वाणको मार्ग फैलाए । समग्र मानवकल्याणका निम्ति बुद्धले गरेको सेवालाई करुणामात्रै होइन, बरु महाकरुणासमेत भन्ने गरिएको छ । बुद्धले दिएको चतुआर्यसत्य, आर्य अष्टाङ्गिक मार्ग, प्रतीत्यसमुत्पाद र चतुब्रम्हविहारको सिद्धान्तले मानव जातिमा समान अधिकार, कर्तब्य र कल्याणको मार्गमा हिड्न उत्प्रेरित गराएको छ । बुद्धले मानव र प्रकृतिका बीच अन्योन्याश्रित सम्बन्ध हुने, मानिसको जीवनका लागि प्रकृतिको रक्षा गर्नुपर्ने जस्ता दीगो विकासका अवधारणाहरू बताए । आज बुद्धका शिक्षाहरू समाज सेवा, श्रमदान, पर्यावरण संरक्षण, दिगो विकास, पर्याप्त अर्थशास्त्र, खुसी अर्थशास्त्र जस्ता अवधारणाका साथ सामाजिक, आर्थिक, शैक्षिक तथा स्वास्थ्य सेवाका क्षेत्रमा समेत लागू गरिएको छ । बुद्धले पञ्चशील, चार आर्य सत्य, अष्टाङ्गिक मार्ग लगायतका शिक्षाहरू फैलाए, जुन मानव जातिको कल्याणलक्षित थियो । दुःखबाट मुक्तिको मूलभूत सिद्धान्त पस्किएर बुद्धले मानवताको सेवा गरे । जीवनको अन्तिम घडीसम्म पनि बुद्धले समाजका सबै वर्ग, जात, लिङ्ग र पृष्ठभूमिका मानिसहरूसम्म पुगेर धर्म शिक्षा फैलाए । यसलाई चीरकालसम्म राखिराख्न संघको स्थापना गरे ।
जातीय, लैगिंक, लगायतका विभेदहरूको अन्त्यका लागि तत्कालीन समाजमा व्याप्त कर्मकाण्ड, विभेद र असमानताजस्ता पक्षहरूमाथि प्रश्न उठाउनु तत्कालीन समाजका निम्ति क्रान्तिकारी विचार थियो । बुद्धले मानिस जन्मको आधारमा होइन, नैतिक आचरण र कर्मको आधारमा ब्राम्हण हुने कुरालाई वैज्ञानिकरूपमा प्रस्तुत गरे । बुद्धका करुणा, अहिंसा र नैतिक जीवनसँग सम्बन्धित शिक्षाहरूले समाज सुधारमा योगदान पु¥याएको छ । बुद्धले तत्कालीन समाजमा तल्लो जातका रूपमा लिइएका उपालि, सुमित लगायतका थुप्रैलाई भिक्षु बनाएका थिए । त्यतिमात्र होइन, नगरबधु आम्रपाली तथा अंगुलीमालजस्तो डाँकुलाई पनि बौद्ध शिक्षा दिएर अर्हत् हुने अवसर दिए । यसर्थ बौद्ध संघमा सबैको लागि ढोका खोलेर समाजमा समानताको शिक्षा बुद्धले दिए । बुद्धले सदैव सरल जीवन यापन गरे । चीवर लगाएर सादा जीवन विताएका बुद्धमा सरलता, विनम्रता र करुणामयी व्यवहार थियो । एक दिन साँझको भ्रमणका लागि बाहिर जाँदै गर्दा बुद्धले भिक्षु सुश्रूषक बिरामी भएर सुतिरहेका देखे । रोगी र बृद्ध भिक्षुको कसैले पनि सेवा नगरेको देखेर बुद्ध आफै सेवामा लागे । आफैले उसको घाउ सफा गरिदिए । स्याहार गरी निको पनि बनाए । बुद्धले सबै भिक्षुहरूलाई एकत्रित गरी एक–अर्काको सेवा गर्नुपर्ने कुरा बताए । बिरामीेको सेवा गर्नु भनेको मेरो सेवा गरेसरह हो भनेर मानव सेवाका निम्ति उदाहरण प्रस्तुत गरे । यस घटनाले बुद्ध मानवसेवाका निम्ति अरूलाई पनि उत्प्रेरित गर्ने र स्वयम् आफू पनि लागिरहन्थे भन्ने कुरा प्रष्ट पार्दछ ।
आफ्नो जीवनको अन्तिम क्षणमा रहँदा पनि बुद्धले मानवताको पक्षमा शिक्षा दिन छोडेनन् । बुद्धले महापरिनिर्वाण लिँदैगरेको सुनेर सुभद्र बुद्धलाई केही प्रश्न गर्न चाहेका थिए । आनन्दले बुद्धलाई आराम गर्न दिनुपर्ने भन्दै रोक्दै थिए तर, बुद्धले सुभद्रलाई भेट्न आउन आज्ञा दिए र जिज्ञासाहरू शान्त पारे । यही क्रममा बुद्धले आफ्नो अन्तिम शिक्षा पनि दिए । ‘अत्तो दीप भवः’ अर्थात् आफ्नो ज्योति आफै बन्न । अरू कसैको भरोसामा नबस । जुन हरेक मानिसलाई स्वावलम्बी र परिश्रमी र आत्मनिर्भर बन्न प्रोत्साहित गराउँदछ ।
बुद्धले महिला, बालबालिका, बृद्ध, विभिन्न जात एवम् प्रवृत्तिका व्यक्तिहरूलाई विभेदको दृष्टले हेरेनन् । धनी गरीब, राजा रङ्कलगायत सबैलाई संघमा प्रवेश गराएर बुद्धले मोक्षको बाटो खोलिदिए । महापरिनिर्वाणको बेला पनि बुद्धले शिक्षा दिन विराम दिएनन् । बुद्धको महापरिनिर्वाण भए पनि उनका शिक्षाहरूले अझै पनि मानवताको पक्षमा वकालत गरिरहेका छन् । त्यसैले बुद्ध जीवनको अन्तिम श्वाससम्म मात्र होइन, बरु जीवन पर्यन्त पनि बौद्ध शिक्षा मार्फत् मानवताको सेवा गरिरहेका छन् । आज पनि बौद्ध शिक्षाले विश्वभरिका लाखौं मानिसहरूलाई मार्गदर्शन र प्रेरणा दिइरहेका छन् ।
आजको प्रतिस्पर्धात्मक जीवनशैलीमा मानिस एकले अर्कालाई पछाडि पार्दै आफू अगाडि बढ्ने प्रयास गरिरहन्छ । जीवनभर खुसी हुने प्रयास स्वरूप भौतिक वस्तुहरूको प्राप्तीमा दौडधुप गर्छ । तर, मान्छे जीवनको अन्तिम क्षणमा आइपुग्दा दुःखी हुन्छ । आफूले समयमै सही ज्ञान प्राप्तीका निम्ति प्रयास नगरेको सम्झँदा पछुताउने गर्दछ । बुद्धका अनित्य, अनात्म र दुःखजस्ता दर्शनको साक्षात्कार नगरेसम्म र जीवनलाई मानव कल्याणका निम्ति प्रयोग नगरेसम्म वास्तविक सुखको अनुभूति हुन सक्दैन । बुद्धले ईश्वरको कुरा गरेनन् । बरु मानवमुक्तिको मार्ग पत्ता लगाए । यसैको निम्ति सबैलाई उत्प्रेरित पनि गरे । बुद्धले आफ्नो शिक्षालाई राम्रोसँग परीक्षण गरेर सही लागेमा मात्र ग्रहण गर्न सिकाए । त्यसैले मानवद्वारा मानव मुक्तिको निम्ति उपयोग हुने बौद्ध धर्म मानवधर्म हो । यसले मानिसलाई शीलवान बनाउनुका साथै मैत्री, करुणा, मुद्दिता र उपेक्षाको भाव जागृत गराउन सहयोग गर्दछ । बौद्ध शिक्षाले काय, वाच्य र चित्तमार्फत् हुने कुनै पनि हिंशालाई स्विकार गर्दैन । त्यसैले मानव समाजको उन्नति र दिगो विकासका निम्ति बुद्धको मानवतावादी शिक्षा कालजयी छ ।