© २०२३
तिलोत्तमा, २२ माघ ।
शृङ्गेश्वर धाम एवं ज्येष्ठ नागरिक मिलन केन्द्रको गुरुयोजना पूरा गर्न बिहीबारदेखि महायज्ञ लगाइने भएको छ । तिलोत्तमा–४ डिंगरनगरस्थित मन्दिर वरिपरिको संरचनासंगै ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन बनाउन आवश्यक पर्ने आर्थिक सहयोग जुटाउन महायज्ञ गर्न लागिएको हो ।
केन्द्रका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक यदुनाथ पाण्डेका अनुसार महायज्ञबाट संकलित रकम ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माणमा खर्चिने छ ।
मन्दिरको बृहत् भौतिक संरचना निर्माण गर्न महायज्ञ गर्न र ज्येष्ठ नागरिक मिलन केन्द्रको लागि आवश्यक भवन, ज्येष्ठ नागरिकको सेवा एवं प्राकृतिक चिकित्सा उपलब्ध गराउन माघ २४ गतेदेखि फागुन २ गतेसम्म सुप्रसिद्ध कथाबचक पुज्य आचार्य ओमप्रकाश सुवेदी प्रमुख बाचकका रुपमा रहने आयोजक मूल समितिका संयोजक पाण्डेले जानकारी दिए । महायज्ञको अवसरमा बिहीबार बिहान १० बजे धाम र योगिकुटी पौवा होटल अगाडिबाट कलश यात्रा सुरु भई राजमार्ग परिक्रमा गरी सकिने छ ।
श्रृङ्गेश्वरधाम एवं महायज्ञ आयोजक समितिका अध्यक्ष ऋषि भण्डारीले धामले लिएको लक्ष्य प्रापित्का लागि श्रीमद्भागवत ज्ञान–विज्ञान श्रृङ्गेश्वर धार्मिक महा महोत्सव तथा श्रृङ्गारिक महाआरती गर्न लागिएको जानकारी गराए ।
महायज्ञ अवधिभर योग एवं ध्यान शिविर, कथा प्रवचन भजन, सामूहिक ब्रतबन्ध, चौरासी पुजा, ग्रह शान्ति, तुलादान, रुद्राभिसेक, बिशेष कर्म समेत गरिने भएको छ भने भगवानको झाँकी प्रदर्शन गर्नुको साथै लाखबत्ती प्रज्ज्वलन तथा रात्रि जागरण समेत गरिने महायज्ञ संरक्षक नारायण प्रसाद पन्थले बताए । समितिले मंगलबार गरेको पत्रकार सम्मेलनमा महायज्ञ संचालन सप्ताह अवधिभर सो पुनित कार्यमा सहभागी हुन सम्पूर्ण राजनीतिक दल, विभिन्न संघ–संस्था र समुदायलाई आयोजकले अनुरोध गरेको छ । सो स्थानमा ५ तले ज्येष्ठ नागरिक मिलन केन्द्रको शिलान्यास अर्थमन्त्री बिष्णु पौडेलले केही दिन अगाडि गरेका थिए । गुरुयोजना अनुसार काम पूरा गर्ने क्रममा रहेको धामले हालसम्म ६ करोड बढी सो स्थानमा खर्च गरिसकेको छ ।