© २०२३
बुटवल काठमाडौं उपत्यका बाहिर विकासका दृष्टिले अग्रणी शहर हो । बुटवल उपमहानगरको सीमाक्षेत्रभित्र मात्रै सीमित छैन, यसको प्रभाव नवलपरासीको बर्दघाटदेखि कपिलवस्तुको चन्द्रौटासम्म रहन्छ । अब प्रदेश राजधानी दाङको देउखुरीमा पुगेपछि त्यहाँसम्म बुटवलको प्रभाव क्षेत्र हो । यसर्थ, हामीले बुटवललाई सीमानाको साँघुरो घेराभित्र राखेर मात्रै हेर्नुहुँदैन । अबको विकास चाहे त्यो भौतिक पूर्वाधारतर्फको विकास होस् या मानव संशाधनको विकास होस्, देशमै नेतृत्व गर्ने क्षेत्र यही भूगोल हो ।
बुटवल अहिले भौतिक पूर्वाधारमा अगुवाई गर्दैछ । हामीसँग अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र र प्रदर्शनी स्थल तयार भएका छन् । ६ लेनको सडक सम्पन्न हुने क्रममा रहेको छ भने बुटवल–नारायणगढ सडक स्तरोन्नति भइरहेको छ, बुटवलदेखि गोरुसिंगेसम्मको सडकको शिलान्याश हुँदैछ । बुटवलभित्र कुनैपनि क्षेत्रमा पुग्नका लागि सडकको अभाव छैन ।
शिक्षामा हामीले बुटवलभित्रका सबै सार्वजनिक विद्यालयहरूलाई एउटै स्तरमा पु¥याउने गरी काम गरिरहेका छौं । विद्यालयहरूको स्तरोन्नतिका लागि नियमित रूपमा काम भइरहेको छ । आम्दा अस्पताललाई विशिष्टकीकृत अस्पतालका रूपमा स्तरोन्नति गरी ३ सय बेडको पु¥याउने र पारा मेडिकल र नर्सिङ विषयको प्रविणता प्रमाण पत्र तहको कक्षा सञ्चालन भइसकेको छ । यसले दक्ष जनशक्ति उत्पादनमा पनि भूमिका निर्वाह गर्नेछ ।
प्राविधिक शिक्षामा बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि भौतिक पूर्वाधार तयार गर्ने काम अघि बढेको छ । बुटवल १५ मा कृषिविज्ञान (बी.एस.सी.ए.जी.) कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । बीटीआइमा ४० जना छात्रालाई निःशुल्क छोरी पढाउ कार्यक्रम सञ्चालन गरिएको छ । यसले छात्रालाई प्राविधिक क्षेत्रमा दक्ष बनाउन मद्दत गर्नेछ । सुनचाँदीका गरगहना बनाउन कालिगढ उत्पादन गर्नका लागि तालिम सञ्चालन गरिएको छ ।
स्वास्थ्यतर्फ दुईवटा १५–१५ बेडका अस्पताल निर्माण भएर सञ्चालनको तयारीमा छन् । यसले स्वास्थ्यमा अर्को फड्को मार्नेछ । बाआमासँग नगर प्रमुख, बालबालिकासँग उपप्रमुख, अपांगता भएकाहरूलाई घरदैलोमै स्वास्थ्य सेवा, जटिल रोग उपचारमा बिरामीलाई उपचार खर्चको व्यवस्था बुटवलमा छ । बुटवललाई बालमैत्री नगरका रूपमा स्थापित गर्नका लागि बालमैत्री घोषणा गर्ने गरी काम भइरहेको छ ।
लामो समयसम्म विवादमा रहेको मोतीपूर औद्यौगिक क्षेत्रमा जग्गा यकिन गरी ब्यवस्थापन गर्न ड्रोन प्रविधिबाट जग्गा नापजाँच गर्ने काम सकेर औद्योगिक क्षेत्रको जग्गा छुट्याएर अब बाँकी काम गर्नेतर्फ अगाडि बढेको छ । बुटवल–१५ सेमलारमा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने काम अगाडि बढेको छ । यसले बुटवल र आसपासका किसानका लागि लाभ पु¥याउनेछ । भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलबाट यहाँका उत्पादन अन्तरराष्ट्रिय बजारमा पु¥याउने गरी स्तरीय बनाउने काममा पनि हाम्रो प्राथमिकता छ । यसमा हामी आसपासका स्थानीय सरकारहरूसँग सहकार्य गरेर अगाडि बढ्नेछौं ।
बढ्दो शहरीकरणका कारण बस्ती बाक्लिदै छ र हामीसँग पार्किङका लागि जग्गा अभाव हुने अवस्था आउनेवाला छ । त्यसका लागि हामीले बुटवल उपमहानगरपालिका, नगरविकास कोष र मल्टि डेफोर्ट हार्मोनिक जेभीसँग बहुतले पार्किङ भवन निर्माणका लागि परामर्शदातासँग सम्झौता भई काम अगाडि बढाएका छौं । पार्किङका लागि क्षेत्रहरू तोकेर सडक क्षेत्रको जाम कम गर्ने काम भएको छ । यस्तैगरी अन्य क्षेत्रमा पनि पार्किङसहितका बहुतले भवन निर्माणलाई प्रोत्साहन गर्नेछौं । सडकमा ट्राफिक जाम हुन नदिन र सहज रूपमा यातायात सञ्चालनका लागि मिलनचोक, कालिकाचोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडान गरिसकेका छौं ।
सहरलाई उज्यालो बनाइराख्नका लागि २३ स्थानमा हाइमास्ट लाइट जडान गरेका छौं भने कालिका पथमा स्ट्रीट लाइट जडान गरिएको छ । यसलाई थप गर्दै जाने हाम्रो योजना रहेको छ । सहरलाई सुरक्षित राख्नका लागि सीसीटीभीबाट निगरानी गर्ने गरी १ सय २५ वटा सिसीटिभी जडान गरिएको छ । जसले सम्भावित दुर्घटनाबाट जोगाउन मदत गर्दछ भने दुर्घटनापश्चात् पनि सघाउ पुराउँछ । कालिकापथमा हाइटेन्सन लाइनको भाग हटाएर मोनोपोल जडान हुँदैछ यसले सडकलाई फराकिलो बनाउन र सुरक्षित बनाउन मद्दत गर्नेछ ।
पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको सबैभन्दा बढी चाप हुने क्षेत्रमध्येमा बुटवल पर्छ । बुटवलबाट देशका अधिकांश स्थानमा जाने गाडी छुट्छन् । यसका लागि हामीसँग अहिले उपलब्ध बसपार्क साँघुरो भइरहेको अवस्था छ । यसका लागि हामीले प्रदेशस्तरको हरियाली बसपार्क बनाउने योजनामा छौं । नयाँ बसपार्कमा स्नानगृहसहितको आधुनिक शौचालय निर्माण भएको छ भने थप ३ वटा सार्वजनिक घुम्ती शौचालय सञ्चालनमा ल्याइएको छ ।
बुटवलको पहिचानलाई पुनःस्थापित गर्ने उदेश्यले फल्चा निर्माण गरिएको छ भने थप फल्चा निर्माण गर्ने काम अगाडि बढेको छ । यस्तै, खेलकुदतर्फ मेयरकप फुटबल प्रतियोगिता, उपप्रमुख भलिबल प्रतियोगिता, ब्याडमिन्टन, लनटेनिस, क्रिकेटतर्फ बुटवलमा पर्याप्त लगानी भएको छ ।
वडा नं.७ र ८ मा रहेको धागो कारखानादेखि उत्तरतर्फको २५ विगाहा जग्गा प्रदेश स्तरको हरियाली बसपार्क निर्माणका लागि शिवनगर सामुदायिक वनसँग सहमति प्राप्त भई आवश्यक प्रक्रिया अगाडि बढाएका छौं । बुटवलको खानेपानी अभावलाई हटाउनका लागि झुम्साबाट पानी ल्याउनका लागि आवश्यक सहजीकरणको काम भइरहेको छ । पानीको मुहान क्षेत्र र आसपासको विकासका लागि बुटवल उपमहानगरपालिकाले वार्षिक २ करोड रूपैयाँ दिने सहमति भएर पानी ल्याउन स्थानीय बासिन्दा सहमत भएका छन् । यसपछि अब छिटै नै बुटवलमा पानी आउनेछ ।
बुटवल पहिलेदेखि नै पर्यटकीय केन्द्र हो । यहाँ नेपाल–अंग्रेज युद्धमा जित हासिल गरेको जितगढी किल्ला, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार, करीब एक करोड दश लाख वर्ष पूरानो आदिम मानव रामापिथेकसको अवशेष फेला परेको स्थान र हिलस्टेशन नुवाकोट क्षेत्र, सिद्धबाबा मन्दिर, भैरव मन्दिर, भुवनेश्वरी मन्दिर, नीलकण्ठबाबाधाम, मुक्तिनाथधाम, कपरकट्टी ताल, हिलपार्क, मणिमुकुन्द सेन उद्यान, पिस पार्क, मिलन पार्कसहितका प्राचीन, ऐतिहासिक र पर्यटकीय स्थल रहेका छन् । अहिले निर्माणका क्रममा रहेका दुई केवलकारले बुटवलको पर्यटनलाई अरू धेरै चलायमान बनाउने छ । यसले बुटवललाई उत्कृष्ट विश्रामस्थलका रूपमा परिचित गराउनेछ भन्नेमा हामी विश्वस्त रहेका छौं । बुटवलदेखि नुवाकोटसम्म पैदलमार्ग निर्माण गर्ने काम यही वर्ष शुरु हुनेछ ।
–क्षमताविकासतर्फ नगरप्रमुख गृहणी महिला स्वरोजगार कार्यक्रम, उपप्रमुख आत्मनिर्भर कार्यक्रम, मेयर युवा इलम कार्यक्रम, जस्ता सीपमूलक र रोजगार तथा स्वरोजगारमूलक तालिमहरू सञ्चालन गरिरहेका छौं । जसले दक्ष जनशक्ति उत्पादन गर्न र युवाहरूलाई स्वरोजगार हुन मदत गर्दछ ।
–लामो समयदेखि बुटवललाई अस्तव्यस्त बनाइरहेको ठेला व्यवस्थापन गरेका छौं भने इरिक्सा व्यवस्थापन पनि अन्तिम —चरणमा पुगेको छ ।
–सडकका छाडा चौपाया व्यवस्थापन गर्न गौशाला सञ्चालन गरेका छौं । यसले सडकमा छाडा चौपायाको कारणले हुने दुर्घटनाहरू कम गरेको छ ।
–ज्योतिनगर पहिरो, अमरपथको डुबान रोक्नका लागि विशेष कार्यक्रम सञ्चालन गरिएको छ । नगरको पहिचानलाई थप स्थापित गर्नका लागि नगर गान निर्माण गरी प्रयोगमा ल्याइएको छ ।
महानगरका लागि तयार छ बुटवल
स्थानीय निकाय पुनर्संरचना आयोगले मापदण्ड बनाएपछि ललितपुर, पोखरा–लेखनाथ र भरतपुरलाई जोडजाड गरेर २०७३ मा महानगरपालिका घोषणा ग¥यो । त्यसबेला नै बुटवल उपमहानगरपालिकाबाट महानगरपालिका बन्नुपर्ने थियो । हामीले महानगरपालिका बनाउनुपर्ने माग राखेका पनि थियौं । तर महानगर घोषणा भएन । बर्दघाटदेखि चन्द्रौटासम्मको क्षेत्रको एकीकृत विकासका लागि प्राधिकरणका रूपमा स्थापना गरेर समानुपातिक विकास भएको साझा शहर बनाउन सकिन्छ । महानगर बन्नका लागि हामी सक्षम छौं । त्यसका केही मापदण्डहरू म यहाँ जानकारी गराउन चाहन्छु ।
— बुटवलका स्थायी बासिन्दाको जनसंख्या करीब २ लाख छ । अनौपचारिक रूपमा बसोबास गर्नेको संख्या १ लाख भन्दा बढी छ ।
–आम्दानीमा गत आर्थिक वर्षमा आन्तरिक श्रोतका रूपमा ५१ करोड रहेकोमा यसलाई अरू वृद्धि गर्दै जाने योजनामा रहेका छौं ।
— बुटवल रंगशाला, बुटवल टेक्निकल इन्स्टिच्युट, कोरियन प्राविधिक शिक्षालयजस्ता प्राविधिक शिक्षालय छन् ।
— लुम्बिनी प्रादेशिक अस्पताल विशेषज्ञसहितको अस्पताल बुटवलमै रहेको छ । अहिले यसको थप स्तरोन्नतिको काम भइरहेको छ । हामीले पनि अरू स्तरीय अस्पताल निर्माण गर्ने र स्तरोन्नति गर्ने काममा लागेका छौं ।
— सुविधासम्पन्न टर्मिनल सहितको बसपार्क छ । यो भन्दा स्तरीय बसपार्क निर्माण हुँदैछ ।
— तरकारी तथा फलफुल वितरण केन्द्र सञ्चालनमै रहेको छ र आधुनिक र उच्चक्षमताको कृषि उपज केन्द्र निर्माणको तयारीमा रहेका छौं ।
— हामीकहाँ सपिङ मलहरू पर्याप्त छन् । अरू केही निर्माणका क्रममा रहेका छन् ।
— हामीसँग बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थल रहेका छन् ।
यी र यस्ता कुराहरूका कारण बुटवललाई महानगरपालिका घोषणा गर्न रोकिने अवस्था आउँदैन । अहिले पनि बुटवल महानगरपालिका बन्न सक्षम छ ।
संघ, प्रदेशसँग अपेक्षा
संघ, प्रदेश र स्थानीय सरकारबीचमा निरन्तर समन्वयको आवश्यक पर्छ । तर हामीकहाँ यस्ता संयन्त्रहरू प्रभावकारी छैनन् । प्रधानमन्त्रीको अध्यक्षतामा अन्तरप्रदेश परिषद् गठन हुने र त्यसले प्रदेश–प्रदेशबीच उत्पन्न हुने राजनीतिक विवाद समाधान गर्ने व्यवस्था गरिएको छ । उक्त समितिमा स्थानीय सरकारको प्रतिनिधित्व हुने व्यवस्था छैन । राज्यशक्तिको प्रयोग तीन तहले गर्ने र विवाद समाधान गर्ने सङ्घीय कमिटीमा चाहिँ दुई तहको मात्रै प्रतिनिधित्व हुने संरचनागत व्यवस्था छ । यसले विवाद समाधान हुने देखिँदैन । स्थानीय तहबीचमा र स्थानीय तह र प्रदेशसँगको विवाद समाधान गर्ने जिम्मेवारी प्रदेशसभालाई दिइएको छ । ती संयन्त्रहरूको बैठक नियमित छैन र हामीले आफ्ना कुरा राख्न पाएका छैनौं । प्रदेशसँगकै विवादमा प्रदेशसभाले निर्णय गर्ने कुरामा स्वार्थ बाझिने अवस्था देखिन्छ । अरू पनि यस्ता कानूनहरू छन्, जसले हाम्रो संघीयताका बीचमा केही अन्योल सिर्जना गरेका छन् ।
अन्योल सिर्जना गरेका कानूनहरू
१) अन्तरसरकारी वित्त व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४
२) कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४
३) स्थानीय सरकार सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४
४) श्रम ऐन २०७४
५) अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४
६) शिक्षा ऐन २०२८ (आठौं संशोधन २०७३), (नवौं संशोधन २०७४)
७) विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४
८) राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४
९) सहकारी ऐन २०७४
यी ऐनहरूमा अधिकार बाझिएका छन् । केही अस्पष्टताहरू छन् । संघ, प्रदेश र स्थानीय सरकारका बीचमा रहेका यस्ता अन्योल समाधान गर्ने काम समन्वय परिषद् र अन्तरसरकारी वित्त परिषद्जस्ता निकायले गर्नुपर्ने हो । तर त्यसमा स्थानीय सरकारका रूपमा हुने प्रतिनिधित्व प्रभावकारी भूमिकासहितको छैन । हामी स्थानीय सरकारको रूपमा संघ र प्रदेशसँग बलियो अर्थ राख्ने समन्वयकारी भूमिका होस् भन्ने चाहन्छौं । स्थानीय सरकार जति बलिया हुन्छन् र आत्मनिर्भर हुन्छन्, संघीयता त्यति नै बलियो बन्छ । यसको प्रत्यक्ष लाभ जनतामा पुग्छ । अहिले संघीयताविरोधी र खर्चिलो संरचना भनेर जसरी आलोचना र विरोधका स्वरहरू सुनिन थालेका छन्, त्यसको कारण यस्ता निकायहरू र संरचनाहरू सक्रिय र प्रभावकारी नबनाउनु हो । तीन तहबीचमा समन्वय गर्ने जतिपनि निकायहरू छन्, तीनलाई सबैभन्दा बढी प्रभावकारी बनाउन सकियो भने हाम्रो संविधानले परिकल्पना गरेको संघीयता साँचो अर्थमा कार्यान्वयन हुन्छ ।
हामी के चाहन्छौं ?
–हामी स्थानीय सरकारलाई संघीयताको बलियो खम्बाका रूपमा स्थापित गर्न चाहन्छौं । संघ र प्रदेशबाट प्राप्त अनुदानको भरमा विकासे काम गरिरहेको अवस्थालाई बदल्दै आत्मनिर्भर बन्न चाहन्छौं । संघ र प्रदेशको साथमा मुलुकलाई समृद्ध बनाउने जग हाल्ने सरकारका रूपमा अघि बढाउन चाहन्छौं ।
–सेवाप्रवाहलाई डिजिटल र सहज बनाउन चाहन्छौं । हाम्रा सबै काम अनलाईनबाट सञ्चालन हुने र घरमै बसेर सरकारी सेवा लिनसक्ने अवस्थामा पु¥याउन चाहन्छौं ।
–लागि संघ र प्रदेशले केन्द्रीकृत मानसिकता त्यागेर संघीयतालाई जनताका घरदैलोमा पु¥याउनका लागि अगुवाई गर्नुपर्छ । आवश्यक कानूनहरू तयार गर्न र कार्यान्वयन गर्नका लागि मार्गप्रसस्त गर्नुपर्छ । कानूनी बाधाअड्चनहरूलाई समाधान गरी केन्द्रीकृत राज्यप्रणालीका अवशेषहरू समाप्त गर्नुपर्छ । अनि स्थानीय सरकार समृद्ध बन्छन् । स्थानीय सरकार समृद्ध बनेपछि मुलुक समृद्ध बन्छ ।
बुटवल– पर्यटकीय, ऐतिहासिक र औद्योगिक नगर
नेपालका पुराना नगरपालिकाहरूमध्ये एक, बुटवल उप–महानगरपालिका, लुम्बिनी प्रदेशको रूपन्देही जिल्लामा पर्दछ । देशका प्रमुख राजमार्गहरू पूर्व पश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्गको संगम स्थलमा रहेको यस उप–महानगरपालिका २०१६ सालमा स्थापना भएको हो । नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा २०७१ मंसीर १६ गते बुटवल नगरपालिकाबाट बुटवल उप–महानगरपालिकामा स्तरोन्नति भएको थियो । बुटवलको पूर्वमा देवदह नगरपालिका, पश्चिममा सैनामैना नगरपालिका, उत्तरमा पाल्पा जिल्लाको तिनाउ गाउँपालिका रहेका छन् र दक्षिणपट्टि तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिका रहेका छन् ।
तिनाउ नदीको किनारमा अवस्थित बुटवल उप–महानगरपालिकाभित्रको जनसंख्या करिब डेढ लाखको हाराहारीमा पुगेको छ । जनगणना २०७८को प्रारम्भिक तथ्यांकअनुसार बुटवलको कुन जनसंख्या १,९५,०५४ रहेको छ । जसमध्ये ९९,३४९ जना महिला र ९५,७०५ जना पुरुष रहेका छन् । बुटवल करीब एक करोड दश लाख वर्ष पूरानो आदिम मानव रामापिथेकसको अवशेष फेला परेको र नेपाल अंग्रेज युद्धमा विजय हासिल गरेको प्राचीन, ऐतिहासिक, पर्यटकीय, व्यापारिक र व्यावसायिक केन्द्र हो । यहाँ मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार र जितगढी किल्ला रहेका छन् । मणिमुकुन्दसेन उद्यान, हिलपार्क, कपरकट्टी ताल, सिद्धबाबा मन्दिर, नरैनापूर धाम, नीलकण्ठबाबाधाम, मुक्तिनाथधाम, गणेश मन्दिर, नारायणस्थान, राधाकृष्ण मन्दिर, कालिका मन्दिर, राममन्दिर, भुवनेश्वरी मन्दिर, बौद्ध गुम्बा, पद्यम चैत्य विहार यहाँका प्रमुख पर्यटकीय र धार्मिक स्थल हुन् ।