© 2026
चन्द्रौटा, २१ माघ ।
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर–१ मा रहेको आधारभुत विद्यालय नेवलागञ्जमा रहेको विद्यालयका शिक्षकहरूले विद्यार्थीहरूलाई दुना टपरी बनाउन सिकाउन व्यवहारिक रूपमै जुटेका छन् ।विद्यालयका प्रधानाध्यापक मधु पौडेलले कक्षा ६ देखि ८ सम्मका २०७ जना विद्यार्थीहरूलाई दुना टपरी बनाउन सिकाउन थालेको बताएकी छन् । उनीहरूलाई आत्मनिर्भर बनाउनका स्थानीय जंगलमा पाइने सालको पात, भर्लाको पातले दुना टपरी बनाउन जमर्कोमा लागेको उनको भनाइ छ । शिक्षालाई व्यवहारिक बनाउने उद्देश्यले यो कार्यक्रम थालिएको हो । “हामीले विद्यार्थीहरूलाई केवल किताबी ज्ञान मात्र नभई, जीवनोपयोगी सीप पनि सिकाउनुपर्छ भन्ने महसुस गरेका छौँ,” उनले भनिन् । “यसले विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउनका साथै वातावरणमैत्री व्यवसायिक सीपसमेत प्रदान गर्नेछ ।”
विद्यालयलेले हप्तामा एक पटक फुर्सदको समय निकालेर व्यवहारिक सीप अन्र्तगत यो सीप प्रदान गर्दै आएको हो ।
अहिले विद्यालयमा आयोजना गरिएको सरस्वती पूजाको लागि अवसर पारेर सुरुवात गरिएको उनले जनाईन् । दीर्घाकालिनरूपमा बनाउने सोँच भएको बताउँदै सीपमूलक ज्ञान दिन आवश्यक रहेको उनले जिकिर गरिन् । उनी मात्रै नभएर अन्य शिक्षकहरू यस कार्यमा संलग्न छन् । शिक्षक दिलिप कुमार थारुले विद्यार्थीहरूलाई दुना–टपरी बनाउनका लागि आवश्यक कच्चा पदार्थबारे बताउँदै उनीहरूलाई कसरी सुल्टो तरिकाले बनाउने भन्ने व्यावहारिक प्रशिक्षण दिएका छन् । “सुरुमा केही कठिनाइ महसुस गरेपनि अहिले धेरैजसो विद्यार्थीहरू आफैँ राम्रोसँग दुना–टपरी बनाउन सक्षम भएका छन्” उनले भने ।विद्यार्थीहरू यो नयाँ सिकाई प्रक्रियाप्रति निकै उत्साहित देखिन्छन् । कक्षा ७ मा अध्ययनरत छात्रा अमृता थापाले भनिन्: “हामीले यो सीप सिक्दा रमाइलो महसुस गरेका छौँ । यसले हामीलाई भविष्यमा आम्दानी गर्ने उपाय पनि सिकाएको छ ।” अर्का विद्यार्थी सोनु थारुका अनुसार उनीहरूले यो सीप आफ्ना अभिभावकसँगै अन्य साथीभाईहरूलाई पनि सिकाउने सोँच बनाएका छन् ।
विद्यालयको यो प्रयासलाई स्थानीय अभिभावकहरूले समेत सकारात्मक रूपमा लिएका छन् । विद्यार्थीका अभिभावक तुलसीराम थारु भन्छिन्, “बच्चाहरूले यस्तो सीप सिकेपछि उनीहरू व्यावहारिक रूपमा सक्षम हुनेछन् । अब उनीहरू केवल किताबी ज्ञानमा मात्र सीमित हुने छैनन् ।” यसले विद्यार्थीहरूलाई भविष्यमा स्वरोजगार बन्न सहयोग गर्नेछ । अन्य विद्यालयहरूले यस उदाहरणबाट प्रेरणा लिन सक्छन् ।सरकारले सीपमूलक शिक्षालाई विद्यालयको पाठ्यक्रममै समावेश सके विद्यार्थीहरूलाई भविष्यमा रोजगारका अवसर सिर्जना गर्न सजिलो हुनेछ । यस्ता कार्यक्रमलाई विद्यालयस्तरमा मात्र सीमित नराखी सरकारी नीति नै बनाएर प्रवद्र्धन गर्न सकिन्छ । विद्यालयको यो प्रयासले विद्यार्थीहरूलाई व्यवहारिक सीप सिकाउने मात्र नभई स्थानीयस्तरमै वातावरणमैत्री उत्पादनको प्रवद्र्धन गर्ने योजना छ । पछिल्लो समय विद्यार्थीलाई सीपमूलक शिक्षाको आवश्यक छ । तर सरकारले नै व्यावहरिक शिक्षासँग जोड्न सके अझै प्रभावकारी हुन्थ्यो । त्यति मात्रै नभएर सुनमा सुगन्ध थपिएको उदाहरण नै सावित हुन्थ्यो । तर सावित हुन नसकेपनि उदहारणको रूपमा प्रस्तुत हुने जमर्कोमा जुटेको छ ।