Butwal Today

स्वर्गद्वारी गुठीका मोही किसानले न्यायको लागि माइतीघरमा अनिश्चितकालीन धर्ना

२० माघ २०८१, आइतबार
अ+
अ-

काठमाडौँ ।

दाङको स्वर्गद्वारी गुठीका मोही किसानहरूले न्यायको माग गर्दै काठमाडौँको माइतीघरमा धर्ना शुरू गरेका छन्। हलो, कुटो, कुदालसहितका कृषि औजार लिएर आएका गुठी पीडित किसानहरूले माइतीघरको सडकमा केहीबेर प्रदर्शन गरेपछि अनिश्चितकालीन धर्नामा बस्न थालेका हुन्।

गुठी पीडित मोही किसानको हितमा गुठी ऐन जारी गर्नुपर्ने माग गर्दै उनीहरूले आजदेखि अनिश्चितकालीन धर्नामा बस्न थालेका छन्। स्वर्गद्वारी आश्रमका मोही किसानको मोहीयानी हक प्रमाणपत्र अनुसारको जग्गा प्राप्तिको कानून निर्माणका लागि दबाब दिन आफूहरू धर्नामा उत्रिएको संघर्ष समितिका सचिव भरत गिरीले जानकारी दिनु भएको छ।

२०४५ सालदेखि नै जिल्ला केन्द्रित आन्दोलन गर्दै आएको भएपनि आफ्नो मागको सुनुवाइ नगरेपछि अहिले काठमाडौँ आएर धर्ना बस्नुपर्ने अवस्थामा पुगेको गिरीले बताउनुभयो।

स्वर्गद्वारी गुठीको मोहीमा दाङका १२ गाउँमा ३ हजार ५ परिवारका १६ हजार जनसंख्या बसोबास गर्दै आएको छ। किसानहरूले खेतीपाती गर्दै बसोबास पनि गर्दै आएका छन्, तर उनीहरूको जग्गा स्वर्गद्वारी गुठीको नाममा रहेको छ। आफूहरूसँग भएको मोहीयानी हक सर्वोच्च अदालतको संयुक्त इजलासबाट परमादेशसमेत जारी गरी खारेज गरिएको पीडितहरूको गुनासो रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?