© २०२३
‘हाम्रो भविष्यको आधार सिमसार क्षेत्रको संरक्षण’ भन्ने नाराका साथ विश्व सिमसार दिवस आज नेपालमा पनि मनाईदैछ । नेपाल भूपरिवेष्ठित देश भएपनि नेपाल अथाह सिमसार सम्पदाको खानी हो । नेपालमा ताल तलैया, पोखरीसहित सिमसार क्षेत्रको संख्या अत्याधिक रहेको छ । नेपालको सिमसार क्षेत्र पानीको आधार हो । जलाधारका स्रोत पनि हो । यस्ता सिमसार क्षेत्रहरूमा नेपालमा बिरलै पाईने दुर्लभ चरा चुरुङ्गीहरूको वासस्थान रहेको पाईन्छ । तर, पछिल्लोसमय सिमसार क्षेत्र अतिक्रमणमा पर्दै गएको छ । हाम्रै वरिपरी रहेका सिमसार क्षेत्रहरू मासिदै गएका छन् । सिमसार क्षेत्र बढ्दो जनसंख्याका कारण मानवीय अतिक्रमणमा पर्दै गएका छन् । त्यसो त सिमसार क्षेत्रले पर्यटक आकर्षित गर्दैनन । किनभने यस्ता सिमसार क्षेत्र अत्यन्त ओसिलो र दलदल भएकोले उत्तिकै मनमोहक हुँदैनन र तिनले सीमित पर्यटकमात्रै आकर्षित गर्छन । नेपालमा रहेका सिमसार क्षेत्रमा बच्चा कोरल्न रुसको साईबेरियादेखि चराहरू आइपुग्छन् भन्ने विभिन्न अध्ययनहरूले देखाएको छ । वातावरणविदहरूले सिमसार क्षेत्रले बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टी सन्तुलनमा राख्न संयोजनको भूमिका खेल्ने वताउँदै आएका छन् । नेपालमा कैलालीको घोडाघोडी ताल, रारा ताल, कोशी टप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, से फोक्सुन्डो ताल, माई पोखरी अनि पोखराका ९ वटै तालहरू महत्वपूर्ण सिमसार क्षेत्र हुन् । त्यसका अलावा सयौं तालहरू छन जो सिमसार हुनबाट अतिक्रमणको शिकारमा पर्दै आएका छन् । नेपालसंगै पृथ्वीका धेरैजसो सिमसार क्षेत्रहरू लोप हुने क्रममा छन् । यस्ता अधिकांश सिमसार क्षेत्रहरू एसियामा पर्छन् । नेपालले पनि सिमसार क्षेत्रको महत्व आत्मसात् गर्दै २०५९ सालमा जारी गरेको सिमसार संरक्षण नीतिलाई २०६९ सालमा परिमार्जन र स्वीकृति दिएर सिमसार क्षेत्र संरक्षणमा आफ्नो प्रतिवद्धता जनाएको छ । तर, सिमसार क्षेत्र जसरी संरक्षण गर्नुपर्ने हो, त्यसमा सरकार चुकेको देखिएको छ । सिमसार क्षेत्र जोखिम परेका छन् । सिमसार क्षेत्र वरिपरि पूर्वाधार खडा गर्ने काममा सरकारले कडाई गर्न सकेको छैन् । यही अवस्था कायमै रहे पृथ्वी संरक्षणमा चुनौति मात्रै होइन, मानव समुदायको अस्तित्व समेत संकटमा पर्ने निश्चित छ ।
सिमसार दिवस मनाउँदै गर्दा सिमसार क्षेत्रमाथि अतिक्रमणमात्रै होइन, बढ्दो दोहन र प्राकृतिक श्रोतमाथिको बेवास्ताका कारण सिमसार क्षेत्र सुक्दै गएका छन । भएका सिमसार क्षेत्रको पनि संरक्षणमा ध्यान पुग्न सकेको छैन । पर्यावरण र जलाधार संरक्षणमा सिमसारको भूमिका महत्वपूर्ण हुन्छ । तर, सिमसार बचाउनेतर्फ न त नेपालको न त विश्वकै ध्यान पुगेको छ । खासगरी सिमसार वनस्पतिका आकर्षक भूमि र पञ्छीका निम्ति आश्रय थलो मानिन्छ भने पानीको आधारदेखि जलाधारका स्रोत पनि सिमसार क्षेत्र हो । यस्ता सिमसार क्षेत्रहरूमा दुर्लभ चरा–चुरुङ्गीहरूको वासस्थान हुन्छ । जंगली जनावरहरूको बसोबासको क्षेत्र पनि सिमसार नै हुन्छ । सिमसार क्षेत्र नभएको जग्गामा जंगली जनावर समेत बस्न रुचाउँदैनन भने चरा चुरुङ्गीको बासस्थान समेत सोही क्षेत्रमा हुन्छ । अतः सिमसार क्षेत्रको सुरक्षा गर्नु हामी सवैको दायित्व हो । नेपालका सिमसार क्षेत्रमा मात्रै ३२ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चराहरू (जसमध्ये १५ प्रजाति दुर्लभ श्रेणीका), ९ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइन्छन् । सिमसार हाम्रो चराचर संरक्षणमा महत्वपूर्ण सम्पदा क्षेत्र हो । तर, बिडम्वना नै भन्नुपर्दछ– सिमसार क्षेत्र अहिले मासिदै गएका छन् । नेपालमा ठूला–साना गरी करिव चार हजार सिमसार क्षेत्र छन् । वन जंगल विनास हुँदै गर्दा सिमसार क्षेत्र संरक्षणमा छिटो ध्यान पुगेन भने चुनौति सिर्जना हुनसक्छ । ढिलो नगरी नेपालले अव सिमसार संरक्षणको लागि तीब्र पहल गर्नु जरुरी छ । सिमसार अतिक्रमणबाट जोगाउनेतर्फ सरकारले पहल गर्नु जरुरी छ । सिमसार मासिनु भनेको चुनौति थपिनु हो । अतः सिमसार संरक्षणमा किञ्चित ढिलाई नहोस् ।