© २०२३
परासी, २६ कात्तिक ।
पूर्वमन्त्री एवम् जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले किसानले उत्पादन गरेका वस्तुको मूल्य निर्धारण गर्न एक उच्च स्तरीय मूल्य निर्धारण आयोग गठन गर्नुपर्ने बताएका छन् ।
उनले किसानको न्यायका निम्ति आफ्नो निर्वाचन क्षेत्रको संयुक्त कोणसभा र घरदैलो प्रचार–प्रसारका क्रममा यस्तो बताएका हुन् । अध्यक्ष त्रिपाठीले संसारमा कुनैपनि वस्तुको मूल्य निर्धारण स्वयं उत्पादनकर्ता कम्पनी र व्यक्तिले गर्ने गरेपनि किसानले भने आफुले उत्पादन गरेको वस्तुको मूल्य निर्धारण गर्न नपाउनु नै दुःखको कुरा भएको उल्लेख गरे । ्
उनले अहिलेसम्म किसानले उत्पादन गरेको वस्तुको मूल्य निर्धारण व्यापारी र विचौलियाले गर्ने गरेको भन्दै आपत्ति जनाए । अध्यक्ष त्रिपाठीले उखु किसानले अझैपनि आफ्नो भुक्तानी रकम नपाएको भन्दै किसानका समस्या जिउँका तिउँ रहेको जिकिर गरे । राजनीतिक दलका हरेक नेताहरुले आफुलाई किसानको छोरा भन्ने गरेपनि पदमा पुगेपछि बिर्सिने गरेको उनले बताए ।
अध्यक्ष त्रिपाठीले किसानको समस्या समाधानका लागि विगत लामो समयदेखि लड्दै आएको भन्दै आगामी दिनमा पनि किसानको हक हितका लागि लडिरहने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष त्रिपाठीले नेपालमा किसान, मध्यम र सानो व्यवसायहरुका लागि ठुलाठुला घरनाहरुले लगानी नगरेको भन्दै दुःख व्यक्त गरे । नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि एमाले, राप्रपा र जसपाको तर्फबाट साझा उम्मेदवार बनेका अध्यक्ष त्रिपाठीले किसानको समस्यालाई नै चुनावी मूल एजेण्डा बनाएका हुन् ।