Butwal Today

२८६१ औ सोनाम लोसारको अवसरमा रक्तदान

१३ माघ २०८१, आइतबार
अ+
अ-

बुटवल, १३ माघ । २८६१ औ सोनाम ल्होछार (नया वर्ष) को अवसरमा आईतबार बुटवलमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल तामाङ घेदुङ रुपन्देहीको आयोजनामा सामाजिक उत्तरदायित्व अन्तरगत रक्तसंचार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाका अध्यक्ष कृष्ण चौहान, नेपाल तामाङ घेदुङ रुपन्देहीका अध्यक्ष राजेश घिसिङ, नेपाल तामाङ युवा घेतुङका अध्यक्ष हसन्त लामाले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गर्दै उद्घाटन गरे । समाज रुपन्देही शाखाका अध्यक्ष कृष्ण चौहानले रक्तदानको महत्वबारे प्रकाश पार्दै युवाहरुलाई रक्तदानमा अग्रसर हुन आग्रह गरे ।

नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा २५ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक कुमार तामाङले बताए ।

रुपन्देहीमा छरिएर रहेका तामाङ जातीका समुदायहरुलाई संगठित गर्दै आफनो संस्कार संस्कृति संरक्षण र सामाजिक कार्यमा अग्रसर गराउदै आएको नेपाल तामाङ घेदुङ रुपन्देहीका अध्यक्ष राजेश घिसिङले बताए । यो वर्ष माघ १७ गते सोनाम ल्होसार विविध कार्यक्रम गरि मनाउने जिल्लाभित्र रहेका बौद्ध धर्म मान्ने तामाङहरु आआफ्नो ईकाईमा जम्मा भएर संस्कार, संस्कृति अनुसार पुजापाठ र खानपिन गरि मनाउने उनले बताए । जिल्लामा भैरहवा, सिक्टहन, चरङे, शितलनगर र बुद्ध, देविनगर गरि ५ ईकाईहरु छन । जनगणना अनुसार तामाङहरु नेपालमा चौथो स्थानमा रहेको मानिन्छ ।

चिनियाँ पात्रो र मन्जुश्री सम्वत २८५७ औ अनुसार पृथ्वीको गतिमा आधारित यो अन्तराष्ट्रिय सोनाम लोसार भएको नेपाल तामाङ घेदुङ रुपन्देहीका सचिव शम्भु मोक्तानले बताए । बिस २०५९ सालमा स्वर्गीय नर्बु लामाको अगुवाईमा घुदुङ स्थापना गरि रुपन्देहीमा सोनाम लोसार मनाउन शुरु गरेको उनले बताए ।

कार्यक्रममा नेपाल तामाङ युवा घेतुङका अध्यक्ष हसन्त लामाले समाजमा आफ्नो फरक पहिचान भएका तामाङहरु पछि परेको भन्दै सरकारबाट सहयोग जरुरी रहेको बताए । नेपालसंगै चिन, जापान, दक्षिण कोरिया, उत्तर कोरिया,भारत लगायत विश्वका करिब २२ देशहरुमा मनाउदै आएका छन ।