© २०२३
‘कुष्ठरोग परास्त गर्न सामूहिक ऐक्यवद्धता’ भन्ने नाराका साथ विश्व कुष्ठ रोग दिवस आज नेपालमा पनि मनाईदैछ । कुष्ठरोग दिवस मनाईरहँदा नेपालले कुष्ठरोग उन्मूलन भएको घोषणा गरिसकेको छ तर हाम्रै वरिपरी यत्रतत्र कुष्ठ रोगीको संख्या बढ्न थालेको छ । कुष्ठ रोगीप्रति अहिलेपनि हेयको दृष्टिले हेर्ने परम्परा कायमै छ । त्यसैकारण कुष्ठरोगप्रतिको जागरण फैलाउने उद्देश्यले यो दिवस हरेक बर्ष आजकै दिन मनाउने औपचारिकता पूरा हुँदै आएको छ । सरकारले यो दिवसका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम समेत आयोजना गर्दै आएको छ । दिवसका अवसरमा आयोजना हुने कार्यक्रमले कुष्ठरोगसम्बन्धी भ्रमजन्य परम्परागत मान्यता तोड्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । कुष्ठरोग लाग्ने वित्तिकै मानिसमा रोगले भन्दा पनि समाजले हेर्ने हेय दृष्टिका कारण ठूलो मानसिक असर पुग्दै आएको छ । सरकारले पनि ‘कुष्ठरोग मुक्त समाज’ घोषणा गरिसकेको छ । तर, नेपालबाट कुष्ठ रोग नियन्त्रण हुँदै गएको भनिएपनि अझै नियन्त्रण नहुनु चुनौतिकै विषय हो । पुर्खौदेखिको यो रोगले नेपाली समाजमा नराम्रोसंग जरा गाडेको छ । कुष्ठ रोगी देख्नेवित्तिकै मानिसमा उसलाई हेर्ने दृष्टिकोणमा नराम्रो विभेद सिर्जना हुने गरेको छ । सामाजिक कुरीति र मान्यताहरूका कारण हाम्रो समाजले कुष्ठ रोगलाई पचाउन सकिरहेको छैन । जसका कारण समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन । त्यहीकारण कुष्ठ रोगीहरू समाजमा घुलमिल गर्न समेत गाह्रो हुने अवस्थामा छन् । उनीहरूलाई मानसिक रूपमै समाजबाट टाढा राखिएको छ । नेपाललाई कुष्ठ रोग मुक्त देश घोषणा गरिएपनि कुष्ठरोगीहरूको संख्या अझैपनि बढेको छ । यही रूपन्देहीमा समेत कुष्ठरोगका विरामी छन । उनीहरू समाजले गर्ने हेय भावका कारण उपचार गर्न जान समेत डर मान्ने अवस्था छ । यही रूपन्देहीमा समेत कुष्ठरोगीहरू वर्षेनी बढिरहेको देखिनु चिन्ताको कुरा हो । जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार जिल्लामा बर्षेनी कुष्ठरोगी फेला पर्नेक्रम रोकिएको छैन । कुष्ठ रोगको संख्या बढिरहेकोले सरकारले लिएको लक्ष्य भेट्टाउन समेत जटिल रहेको चिकित्सकहरू नै बताउँछन । कुष्ठरोग प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्य अनुसार विश्वभर सन् १९५४ देखि यो रोगविरुद्ध दिवस मनाउन थालिएको थियो ।
चिकित्सकहरूका अनुसार कुष्ठ रोग ‘माइकोब्याक्टेरियम लेप्रे’ र ‘माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस’ जीवाणु ‘ब्याक्टेरिया’ को संक्रमणको कारणले लाग्छ । संक्रमणको सुरुवातमा कुनै लक्षण नदेखिन पनि सक्छ । कुष्ठरोग ‘पौसिबेसिलरी’ र ‘मल्टिबेसिलरी’ अथवा सर्ने र नसर्ने गरी दुई किसिमको हुन्छ । त्यही भएर कतिपय प्रभावित मानिसहरूले चेतनाको अभावमा उपचारमा हेलचेक्र्याइँ गर्दा विरामीको अवस्था नाजुक भई मृत्यु समेत हुने गरेको पाइन्छ । तसर्थ कुष्ठरोगलाई सामान्य रोग भनेर हेलचेक्र्याई गरिनुहुँदैन । नेपाल कुष्ठरोग मुक्त मुलुक घोषणा भइसकेपनि यस प्रकारका रोगको लक्षण देखिएका मानिसहरूले सामाजिक तथा पारिवारिक ग्लानी महसुस गरी उपचार प्रक्रियामा सहभागी नभएका उदाहरणहरू प्रशस्तै भेटिन्छन् । मानिसमा उपचार गरे निको हुन्छ भन्ने विश्वास दिलाउन अझ प्रभावकारी अभियानहरू संचालन गर्नु आवश्यक देखिन्छ । १५ वर्ष अघि नै निवारण भएको घोषणा गरिएको यो रोग अझै कायमै रहनु चिन्ताको कुरा हो । अझैपनि कुष्ठ रोग भनेपछि अघिल्लो जुनीको पाप ठान्ने मानसिकता हाम्रो समाजमा अझैपनि कायमै छ । कुष्ठ रोगीहरूलाई हेय दृष्टिले हुर्ने मानसिकतामा परिवर्तन नहुँदा यो रोगको समस्या भन्दा पनि रोगले निम्त्याएको दुर्भावना र अवहेलना झनै भयानक छ । तसर्थ अवको दिनमा नेपालमा कुष्ठ रोगविरुद्धको दिवस मनाउँदै गर्दा कुष्ठरोगप्रति समाजमा रहेको गलत मान्यता चिर्न अभियान नै छेड्नुपर्ने आवश्यकता छ । यो बिषयमा स्वास्थ्यकर्मीसंगै अभियानकर्मी र सरकार स्वयंको ध्यान जाओस् ।