© २०२३
आज अन्तर्र्राष्ट्रिय शिक्षा दिवस । शिक्षा दिवस मनाउँदै गर्दा नेपालको शिक्षा क्षेत्र भने बर्षौदेखि उही गति र उही ढर्रामा संचालन हुँदै आएको अवस्थाले सवै शिक्षा प्रेमीलाई चिन्तित वनाएको छ । देशमा राजनैतिक परिवर्तन भएपनि शिक्षा क्षेत्रले युगान्तकारी परिवर्तनको अनुभूति गर्न नपाएको यथार्थ हो । नेपालमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे जे नाममा परिवर्तन भएपनि शिक्षा क्षेत्रको आमूल परिवर्तनको जग भने अझै निर्माण हुन नसक्नु चिन्ताको कुरा हो । प्रजातन्त्र पुनस्र्थापना पछिको करिव साढे तीन दशकमा मुलुकमा दुई दर्जन बढी नयाँ सरकार बनेका छन् । धेरै शिक्षा मन्त्रीले शिक्षा सुधारको अवसर पनि पाएकै हुन । शिक्षामा आमूल परिवर्तन ल्याउने नारा हरेक सरकारको प्राथमिकतामै परेको हो । तर, अहिलेसम्म शिक्षामा सुधार भने अपेक्षित हुन सकेको छैन् । यो अत्यन्त चिन्ताको कुरा हो । आज एकै महिनामा ६० देखि ७० हजार युवाहरू काम र अवसरको खोजीमा विदेशिन बाध्य भएका छन् । शिक्षा भन्दा पनि युवाहरूका लागि रोजगारी प्रमुख प्राथमिकता बन्न थालेको छ । मुलुकमा सिपमूलक शिक्षाको अभाव छ । शिक्षामा आमूल परिवर्तन नभएसम्म मुलुकले योग्य शैक्षिक जनशक्ति उत्पादन गर्ने अवस्था देखिदैन् । तसर्थ शिक्षा दिवसकै सन्दर्भमा मुलुकले शिक्षाको सुधारमात्रै होइन आमूल सुधार गर्नु जरुरी छ । अझैपनि सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीले आशा जगाउन सकेको छैन । अहिले देशको शिक्षा क्षेत्र अत्यन्तै कमजोर अवस्थामा छ । सामुदायिक विद्यालयको अवस्था कमजोर मात्र होइन, त्यहाँ अध्ययन गर्ने विद्यार्थीको शैक्षिकस्तरमा बृद्धि हुन सकिरहेको छैन् । शैक्षिक गु्णस्तर बृद्धिका लागि सरकारले अहिलेसम्म गरेको लगानी प्रतिफलमुखी हुन नसक्नुका पछि धेरै कारण छन् । ती कारणमाथि सुक्ष्म अध्ययन गरेर सुधारको पाईला चाल्नु जरुरी छ । खासगरि सरकारको पहिलो कदम सामुदायिक विद्यालयको शैक्षिक गु्णस्तर बृद्धि गर्नेतर्फ ध्यान जानुपर्दछ । सरकारले सामुदायिक शिक्षामा पर्याप्त लगानी गरे पनि लगानी अनुरूपको गुणस्तरीय प्रतिफल प्राप्त हुन नसक्दा सामुदायिक शिक्षा प्रणाली प्रश्नै प्रश्नको घेरामा छ । परिणामस्वरूप सामुदायिक विद्यालयहरू खस्कँदै गइरहेका छन् ।
मुलुकमा गणतन्त्र आएपनि शिक्षामा रहेको विभेद अन्त्य हुन सकेको छैन । गरिव र विपन्न वर्गका बालबालिका सामुदायिक विद्यालयमा अध्ययन गरिरहेको बेला कोही बालबालिका भने महंगो शुल्क तिरेर नीजि स्कुलमा पढ्छन् । देशमै यसरी दुईथरी जनशक्ति उत्पादन भैरहेको छ । यसले हाम्रो समाजमा दुई बर्गमा विभाजित गर्ने काम भैरहेको छ । राज्यले शिक्षा निशुल्क भनिरहेको छ तर सामुदायिक विद्यालयमै चर्को शुल्क असूली भैरहेको छ । यो विषयमा आवाज उठाउने कसले ? अब शिक्षामा भैरहेको विभेदकारी नीतिको स्ुधार जरुरी छ । बर्षौदेखि शिक्षामा देखिएको बिजोगको यो अवस्थामा सुधार गुञ्जायस छ । तर, यसका लागि ठोस प्रतिवद्धता आवश्यक छ । सरकारले कम्तीमा पनि शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिनु जरुरी छ । शिक्षा आफैंमा देश विकासका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण केन्द्र हो । तर, यही क्षेत्रमा चरम राजनीतिकरण भैरहेको छ । यही क्षेत्रलाई तहसनहस वनाउने प्रयास भैरहेको छ । अव सरकारले मुलुकको शिक्षामा आमूल सुधारको अभियान नै सञ्चालन गरोस् । सरकारले नयाँ शिक्षा ऐन तर्जुमा गर्ने तयारी समेत गरिरहेको बेला प्राविधिक शिक्षालाई पहिलो प्राथमिकतामा राखोस् । शिक्षा दिवस मनाउँदै गर्दा नयाँ शिक्षा ऐनलाई प्रविधिमैत्रीमात्रै होइन युग निर्माणको आधारशीला वनाउनेतर्फ पहल जरुरी छ । नेपालको शैक्षिक जनशक्ति रोजगारीका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्ने शिक्षा नीति अवको अपरिहार्य आवश्यकता हो । सरकारले चाहने हो भने शिक्षामा आमूल परिवर्तनको संभावना छ । दिवसकै सन्दर्भमा अव विगतको शिक्षाको अध्यारो कालखण्डको चिरफार गरियोस् । अन्तर्राष्ट्रिय शिक्षा दिवसलाई औपचारिक भन्दापनि सार्थक र परिणाममुखी बनाउने काम होस् ।