© २०२३
नेपाली महिला र पुरुष टोली पहिलो खो खो विश्वकपमा उपविजेता बन्दै इतिहास रच्न सफल बनेको छ । नयाँदिल्लीस्थित इन्दिरा गान्थी इन्डोर हलमा आइतबार भएको फाइनलमा नेपाल आयोजक भारतसँग पराजित भएपनि नेपाली महिला र पुरुष टोलीले पहिलो विश्वकप सहभागितामै रजत जितेर इतिहास रचेको छ । नेपालले पहिलोपटक विश्वकपमा भाग लिएको बर्ष नै उपविजेता बन्न सफल हुनु भनेको सबै नेपालीका लागि गर्वको विषय हो । हाम्रो देशका नेताहरूले देश बनाउन नसकेपनि खेलाडीले विश्वसामु नेपालको शिर उँचो राख्न सफल भएका छन् । सबैभन्दा गर्वको विषय त नेपालका महिला खेलाडीहरूले खेल क्षेत्रमा देखाएको असाधारण क्षमता र कौशलले नेपालीको शीर उँचो भएको छ । यसका लागि नेपाली महिला खो खो टोलीका सदस्यहरूको नाम लिनैपर्दछ र उनीहरूलाई धन्यबाद दिनैपर्दछ । सरस्वती कडायतको कप्तानीमा रहेको नेपाली टोलीमा मानमती धामी, पुजा ओड, आशा थारु, दीपा बिक, निशा शाही, कर्माकुमारी शाही, कन्चन चौधरी, पुनम थारु, सम्झना विक, दीपाकुमारी बिक, खुश्बु राना, वर्षा पण्डित, गीता चौधरी र अनिशा गोले थिए । त्यसो त खो खो मा पुरुष टोलीले देखाएको प्रतिभा कुनैपनि मानेमा कम छैन् । महिला र पुरुष दुवै खो खो टोलीले पहिलोपटकमै जुन क्षमता प्रदर्शन गरेका छन, त्यसले नेपालको शीर उचो भएको छ । नेपाल सरकारले विश्व चिनाउने खेलकुदको विकासमा अझैपनि ध्यान दिएको छैन् । खेल क्षेत्रका लागि लगानी गर्न सरकारले आनाकानी गर्दै आएको छ । पछिल्लोसमय नेपाली महिला टोलीले भलिबल, क्रिकेट र फुटवलमा राम्रो प्रदर्शन गर्दै आएका छन् । त्यसमा आईतवार भएको खो खो विश्वकपले थप आशा सिर्जना गरेको छ । तर दुःखको कुरा के छ भने अझैपनि पुरुष खेलाडीभन्दा महिला खेलाडीलाई राज्यले विभेद गरिरहेको छ । क्रिकेटमा मात्र होइन, भलिबल, फुटबलका महिला र पुरुष खेलाडीमा पनि राज्यको ध्यान गएको छैन । उनीहरूलाई हौसला, प्रोत्साहन दिने काममा राज्य चुक्दै आएको छ । पुरुष महिला जे भएपनि खेलाडी भनेको खेलाडी हो, त्यसलाई लिङ्गका आधारमा विभेद गरिनु कदापि राम्रो होइन । पुरुषलाई भन्दा बढी सुविधा महिला खेलाडीलाई दिनुपर्ने हो । तर सरकार एक त खेल क्षेत्रप्रति उदासिन हुने र त्यसमापनि महिला खेलाडीप्रति सकारात्मक हुन नसक्ने अवस्था अत्यन्त दुःखलाग्दो छ । अवको दिनमा लिङ्का आधारमा गरिने विभेद खेल क्षेत्रबाट हटाउनेतर्फ सरकारको ध्यान जाओस् । नेपाली महिला खेलाडीहरू आफ्नै बलबुतामा अन्तर्राष्ट्रियस्तरमा पुग्नु सानोतिनो कुरा होइन । त्यसमाथि खेलाडीलाई पूर्वाधारको अभावले खेल अभ्यासमै समस्या हुने गरेको अवस्था छ । नेपालमा खेलाडीका लागि सुविधायुक्त रंगशालाको व्यवस्थापन हुन सकेको छैन् । संघीय राजधानी काठमाण्डौंमा समेत अन्तर्राष्ट्रिय स्तरको ठूला खेल प्रतिष्पर्धा गर्न सकिने मैदान नहुनुले नेपालको खेल क्षेत्रको दुर्दशाको अवस्था चित्रण गर्दछ । खेल मैदानमात्रै होइन, खेलाडीका लागि उचित तलबभत्ता छैन् । खेल खेल्न नसकेको भोलिपल्ट के गर्ने भन्ने भविष्यको चिन्ताले खेलाडी अन्योलमा पर्नुपर्ने अवस्था छ । यस्तो नाजुक अवस्थामा पनि खेलाडीले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उँचो राख्नु गौरवको कुरा हो । अझै पर्याप्त अवसर र संभावना भएको भए नेपाली खेलाडी विश्वका कुनैपनि देशभन्दा कम हुने थिएनन् भन्ने पछिल्लो उपलब्धि ज्वलन्त उदाहरण हो । नेपालमा खेलमै लागेर बाँच्न सकिने अवस्था खेलाडीका लागि कहिले आउला ? सरकारले अव सोच्नु जरुरी छ ।
पछिल्लोसमय नेपालमा भैरहेका खेल गतिविधि र खेलाडीको उत्कृष्ट प्रदर्शनले केही आशाको सञ्चार अवश्य गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली क्रिकेटको इतिहासमा पहिलोपटक भएको छ र यो नेपालको खेल क्षेत्रको लागि महत्वपूर्ण कोसेढुंगा बनेको छ । पहिलो संस्करणमै एनपीएलले अन्तर्राष्ट्रियस्तरमा नेपाली क्रिकेटलाई चिनाउने उल्लेखनीय काम गरेको छ भन्दा अत्युक्ति हुँदैन । विदेशी खेलाडीको सहभागिता र नेपालभित्रका प्रतिभावान खेलाडीको उत्कृष्ट प्रदर्शनले एनपिएल नेपाली खेलकुदको गौरवमय क्षण वनेको छ । नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनले देशभित्रको खेल प्रतिभालाई उजागर गरेको छ । पछिल्लोपटक खो खो खेलले नेपालको संभावना उजागर गरेको छ । नेपाली महिला र पुरुष खेलाडीप्रति देशले गर्ब गरेको छ ।