© २०२३
बुटवल, ०८ माघ ।
झण्डै ४८ वर्षको उमेरमा चुलोचौकोबाट बाहिर निस्केर राजनीतिमा होमिएकी थिइन्, एमकली सुनार । उनी बुटवल उपमहानगरपालिका १७ रानीगन्जकी बासिन्दा हुन् ।२०७४ सालमा स्थानीय चुनावमा एमालेबाट वडा सदस्य बनेकी उनी अहिले खाली बसेकी छन् । पाँचवर्ष वडा सदस्य भएपछि समाजको विकासमा उनको चासो बढ्यो । अहिले पनि उनलाई राजनीति र समाजसेवा गर्न पाए हुन्थ्यो भन्ने भइरहन्छ ।
सात वर्षअघि अकस्मात वडाको दलित महिला सदस्य उठाउने निर्णय गरेको आफ्नो पार्टी एमालेले भने उनलाई खासै वास्ता गर्दैन । दोस्रो पटक पनि बरू वडा सदस्य बन्छु भनेर माग गर्दा पार्टीले अवसर नदिएपछि उनलाई पनि पार्टी प्रति खासै चासो लागेको छैन ।‘यी महिलाहरू जे भने नि गर्छन भन्ने सोचाइले अप्ठेरो परेका बेला प्रयोग गरे । नभए त हिजो दलित सदस्य जन कर गर्नेले दोस्रो पटक जान्छु आफूले सिकेका कुरा लागु गर्छु भन्दा किन दिएनन ?’ उनले भनिन्, ‘पार्टीभित्र पनि धेरै स्वार्थ जोडिएको देखेँ मैले । त्यसैले अहिले राजनीतिमा निष्कृय जस्तै छु ।’
उनले अब भएपनि पढेर केही गर्ने सोच बनाएकी छन् । ‘हाम्रो बेलामा पढ्ने चलन कम थियो त्यसैले पढिएन । अब पढ्ने रहर जागेको छ । यसलाई पुरा गर्न पाए अरू तरिकाले पनि समाजमा काम गर्ने चाहना छ मेरो ।’ तत्कालिन अध्यक्ष सन्तबहादुर रानाले एकमकिलाई आफू विदा बस्दा कार्यवाहकको जिम्मेवारी दिने गरेको सम्झिए ।
‘शिक्षा कम भएपनि विकास र योजनाका विषयमा राम्रो ज्ञान भएको हुँदा उहाँलाई मैले पटकपटक कार्यवहाकको जिम्मेवारी दिन्थेँ,’ उनले भनिन् ‘उहाँले उठाएका विषयहरू धेरै जसो प्राथमिकतामा परे किनभने सहि विषय उठाउनुहुन्थ्यो ।’
उनका अनुसार एमकलीले विशेष गरि वडाका दलित महिलाहरूलाई आत्मनिर्भर बनाउनुपर्ने आवज उठाइन् ।
‘एमकलीको कुरा सुनेपछि हामीले पनि बजेट छुट्याएर सिलाइकटाइ सिकायौँ । त्यतिबेला सिकेका मध्ये दई तीन जनाले कपडा सिलाउने व्यवसाय गरिरहेका छन्,’ उनले भने ।एमकलीलाई दोस्रोपटक पनि वडाको कुनै पदमा पठाउन सकेको भए राम्रो हुन्थ्यो भन्ने उनलाई पनि लाग्छ । छिमेकी सुमित्रा सुनारलाई सँधै चुलोचौको बाहेक काम नगरेकी एमकलीले राजनीति र विकास निर्माणका काममा राम्रो गर्लिन भन्ने लागेको थिएन ।
‘चुनाव जितेपछि त उनले वडामा विकासका लागि सक्रिय पहल गरिन् । अवसर पाए त महिलाहरूले गरिदेखाउन सक्ने रहेछन् भन्ने कुरा उनलाई देखेरै मलाई विश्वास भएको छ,’ उनले भनिन्, ‘दोस्रो पटकपनि हामीले पठाउन चाहेका थियौँ ।’ यसरी वडाका बासिन्दा सहकर्मीले रूचाएका र दोहो¥याएर चुनाव लड्न खोज्ने दलित महिलालाई पार्टीले टिकट नदिएका उदाहरण धेरै छन् । चुनावमै टिकट नदिएपनि पार्टीका विभिन्न जिम्मेवारी वा काम समेत दलहरूले उनीहरूलाई जोड्दैनन् । अर्थात राजनीतिमा आउन प्रोत्साहित गर्दैनन् ।
सैनामैना नगरपालिका ५ की मिरा विकलाई पनि त्यस्तै भयो । २०७४ सालको स्थानीय चुनावमा आफ्नो वडाबाट एमालेकी दलित महिला सदस्य भएकी उनी पनि दोस्रो कार्यकाल उठ्न चाहन्थिन् । तर पार्टीले अवसर दिएन । अहिले खाली बसेकी छन् । विद्यार्थी राजनीति गर्दा गर्दे विहे गरेपछि रोकिएकी मिरा छोराछोरी हुर्किएपछि फेरि समाजमा सक्रिय थिइन् ।
स्थानीय तहमा एमालेको राजनीति गर्ने उनले वडा सदस्य हुनु अघि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि चुनाव जितेरै भएकी थिइन् ।
आफ्नो गाउँठाउँमा आइपर्ने काम गर्ने सँधै अघि सर्न मन लाग्ने मिराले दोस्रो पटकपनि वडा सदस्य हुन मन गर्दा पार्टीले अवसर दिएन । त्यसपछि उनी निष्क्रिय छन् । पार्टीले न त अरू कुनै कामको जिम्मेवारी पनि दिएको छैन ।
‘मैले सुरू गरेका कामलाई पुरा मात्र गर्ने मन थियो त्यसैले दोहोरिनका लागि सबैलाई हारगुहार गरेँ । तर मलाई टिकट दिइएन । आजभोलि पार्टीको साधारण सदस्यता नवीकरण गर्न समेत मन लागेको छैन,’ उनले भनिन्, कसैले पार्टीका लागि काम गर पनि भनेका छैनन् । त्यस्तै काम गर्ने वा देखाउने बेला कोही नभेटाका बेलामा खोज्लान नभए त पार्टीमा पनि आफ्नालाई मात्रै हो अवसर दिने ।’
एमकली र मिरा एमालेका दलित महिला सदस्य थिए । तर भोगाई भने कांग्रेस र एमालेका दलित महिला सदस्यको पनि उस्तै छ ।देवदह नगरपालिका १० की चन्दा विकलाई २०७४ सालमा कांग्रेसले दलित वडा सदस्य बनाएको थियो । आफ्नो जिन्दगी गृहिणी बनेर बिताएकी चन्दाले पाँचवर्ष राजनीति र समाज–विकासको काम गरिन् । उनी दोस्रो कार्यकाल पनि वडा सदस्य बन्न चाहन्थिन् । तर पार्टीले उनलाई टिकट दिएन । न त त्यसपछि पार्टीमा अरू कुनै अवसर दियो ।
‘हिजो कोही नभएर खोज्दै आएका थिए । मैले अब त केही गर्न सक्छु भन्ने बेलामा अवसर दिएनन् । अहिले उनीहरूलाई कतै देखाउनु छैन । त्यही भएर हाम्रो मतलब गर्दैनन्,’ उनले भनिन्, ‘मैले आफ्नो हिसाबले गाउँठाउँका दिदी बहिनीहरूलाई वडामा गएर आफ्ना कुरा सुनाउन वा सेवा लिन पर्छ भनेर सम्झाउँछु ।’
रूपन्देहीको सिद्धार्थनगरपलिका २ बाट अघिल्लो कार्यकाल माओवादीकी दलित महिला सदस्य बनेकी कल्पना परियारले त राजनीतिमा निरन्तरता त परै जाओस उल्टै आफ्नो जागिर गुमाउनुपर्यो । सामान्य परिवारकी परियारले जिविकोपार्जनका लागि भैरहवामा रहेको एक निजी अस्पतालमा सरसफाईको काम गरेर मासिक १६ हजार कमाउँथिन् । तीन सन्तानको पालन पोषणसँगै शिक्षा त्यही कमाइमा निर्भर थियो । सातवर्ष अघि उनको जीवनमा एक्कासी राजनीति छिर्यो ।
नेकपा माओवादीले दलित महिला सदस्यको टिकट दियो । कामका कारणले मैले भ्याउदिन भन्दा पनि सबै कागजी कामहरू अरूले गरिदिएर उनलाई चुनावमा उठाए । त्यो बेला उनले जितिन् ।वडा सदस्य बनेपछि जागिर पनि छोडिन् । अरूले भने जसरी उम्मेदवार भएकी उनलाई काम सिक्नै धेरै समय लाग्यो । बल्ल बल्ल वडा सदस्यको जिम्मेवारी बुझ्दै थिइन् । काम के गर्ने भन्नेबारे मेसो पाउँदै थिइन् पाँचवर्षे कार्यकाल वित्यो ।गएको चुनावमा पनि उनले टिकट त पाइन् तर पहिला झैँ उनलाई जिताउन पार्टी लागेन । हारिन् । उनलाई पनि आफूलाई देखाउनका लागि पार्टीले सदस्यको टिकट दिइएको भन्ने लाग्छ ।
‘दोस्रो स्थानीय तहको निर्वाचनमा पार्टी अर्को मान्छे नभएर फेरि टिकट त दियो तर चुनाव जित्न सकिएन । त्यहाँ जति मेहनत गर्न पर्दथ्यो त्यो पार्टीले गरेन । त्यहाँ अरू दलका साथी धेरै छन् उनीहरूले जिते,’ उनले भनिन् ।
त्यसपछि पार्टीमा उनलाई कुनै जिम्मेवारी दिइएको छैन । कुनै नेता आएर उनलाई पार्टीमा सक्रिय हुनुपर्यो भनेर पनि भनेका छैनन् ।
संविधानको धारा २१५ ले वडा सदस्यमा अनिवार्य दलित महिला सदस्य हुनुपर्ने व्यवस्था गरेको छ । त्यसैले दलहरूले चुनावका बेला खोजेर भएपनि दलित महिला सदस्य बनाउँछन् ।संविधानले राजनीतिक दलमा दलित र महिलाको प्रतिनिधित्व बढोस् भनेर उक्त व्यवस्था गरेको देखिन्छ । तर संविधानको मर्म बुझेर पार्टीमा दलित महिलाको प्रतिनिधित्व बढाउने तथा उनिहरूलाई राजनीतिमा प्रोत्साहित गर्ने नीति कार्यक्रम कुनै पनि पार्टीले बनाएको देखिन्न । नीति भइहाल्यो भनेपनि त्यसको व्यवहारिक कार्यान्वयन भएको देखिन्न ।
यी चारजना महिला सदस्यको अनुभव सुनेपछि तीनवटै पार्टीका स्थानीय नेतृत्वलाई सोधिएको थियो– किन दलित महिलालाई राजनीतिमा अवसर सिर्जना गर्नुहुन्न ? नेकपा एमाले रूपन्देहीका अध्यक्ष यज्ञ गैरेले त आफ्नो दलले दलितलाई पार्टीमा ल्याउन धेरै काम गरेको बताए । दलितलाई पार्टीमा ल्याउन आरक्षणको व्यवस्थासँगै तालिम, प्रशिक्षण जस्ता कार्यक्रमहरूको व्यवस्था गरेको उनको भनाइ छ । ‘दलित महिलाहरूलाई सँधै आरक्षण मात्र होइन खुल्ला प्रतिस्पर्धाबाट नेतृत्वमा बढाउनका लागि हामीले बेलाबेला अभियान चलाउने गरेका छौँ,’ उनले भने, ‘महिला त्यसमाथि दलित भएपछि शिक्षा दिक्षामा धेरै पछाडि परेका हुन्छन् । त्यलाई पार्टीले नजिकबाट पहिचान गरेर क्षमता अभिवृद्धि गरिरहेको छ ।’
पार्टीले यत्रो नीति बनाएको, कार्यक्रम र अभियान चलाएको भए किन स्थानीय तहका संगठन तथा राजनीतिक पदहरूमा दलित महिलाको उपस्थिति नगन्य छ ? भन्ने प्रश्नमा उनले भने, ‘नेतृत्वमा ल्याउन पार्टी पहल गरिरहेको र क्रमशः दलित महिलाहरू कार्यसमिति सदस्य देखि पदाधिकारी सम्ममा आउने तयारी भएको छ ।’नेपाली कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाँणले दलित महिलालाई राजनीतिमा अघि बढाउने नीति रहेको बताए । ‘हाम्रो दलले संगठनमा दलित संघ बनाएर केन्द् देखि वडा सम्म नै काम गरेको छ । पहिलो कुरा त रूपन्देहीमा दलितह पहिचान गरेर समिति गठन गर्ने उनीहरू क्षमता विकास गर्ने र सधै समावेशितामा मात्रै नभएर दलित महिलाहरूलाई खुल्ला प्रतिशप्रर्दाबाट अगाडी बढाउनका लागि योजना सहित गाउँटोलमा पुगेका छौँ,’ उनले भने, ‘पाँच वर्ष वडा वा नगरको प्रतिनिधित्व गरेका दलित महिलाहरू सधै कोटामा मात्रै नभएर अरू स्थानमा पनि आफूलाई उभ्याउन सक्ने गरि विकास गर्न आवश्यक रहेको बताए । त्यसका लागि नेतृत्वले सधै साथ र सहकार्य गर्छौँ ।’
तर दलित महिला कै लागि केहि योजना विशेष योजना भने उनको पार्टीले बनाएको छैन । दलित महिलाको प्रतिनिधित्व दलमा बढाउने कुरामा पार्टी लागि परेको दाबी कांग्रेस एमाले जस्तै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेताले पनि गरे ।नेकपा माओवादी रूपन्देही संयोजक नारायण जिसीले आफ्नो पार्टी सँधै दलितलाई अघि बढाउने कुरामा सकारात्मक रहेको दाबी उनको छ ।‘दलित महिलाहरूलाई अगाडी पहिलो कुरा प्रशिक्षण आवश्यक छ । त्यसका लागि पार्टीले बेलाबेलामा कार्यक्रमहरू गरिरहेको छ,’ उनले भने, ‘चुनावमा कोटा पु¥याउन मात्रै नभएर अरू स्थानमा पनि महिलाहरूलाई प्राथमिकतामा राखेका छौँ । नेतृत्वमा आउन चाहनेहरूलाई पार्टीले सधै साथ र समर्थन गरिरहेको छ ।’
स्थानीय तह हुन् कि केन्द्रीय तहका नेता हुन् उनीहरूले महिला, दलित तथा सिमान्तकृतलाई अघि बढाउने बारे आफ्नो पार्टी सकारात्मक रहेको भन्न पछि पर्दैनन् ।
पार्टीको घोषणापत्र विधानमा पनि समान सहभागिता र समावेशीकरणका नीतिहरू लेखिएकै हुन्छन् । तर व्यवहारमा भने दलित त्यसमाथि महिला दलितलाई दलका विभिन्न जिम्मेवारी दिन र नेतृत्वमा पुर्याउनका लागि कोही पनि गम्भीर देखिन्न् । पार्टीको स्थानीय देखि केन्द्रसम्मका कमिटि संगठन तथा विभागहरूमा दलित महिलाको उपस्थिति नगन्य हुनु नै पार्टी नेतृत्वले समावेशीतालाई महत्व दिन्नन्, यसबारे उनीहरू गम्भीर छैनन् भन्ने बलियो प्रमाण हो ।