© २०२३
सुर्खेत, ८ माघ ।
कर्णाली प्रदेशसभाका सांसद जिवनबहादुर शाहीले सरकार छाड्ने चेतावनी दिएका छन् । सोमवार कर्णाली प्रदेशसभाको पाँचौ अधिवेशनको पहिलो बैठकमा बोल्दै सांसद शाहीले यस्तो बताएका हुन् ।
‘यसै साताभित्र आठ बुँदे सहमति कार्यान्वयनको अवस्थाका बारेमा जानकारी दिन माग गर्दछु,’ संसदीय दलका नेता शाहीले भने, ‘यदि कार्यान्वयन नभएको पाइए पवित्र गठबन्धन गर्नेहरू बस्नुहोला हामी सरकारबाट बाहिर बस्नेछौँ ।’ शाहीले सरकार छोड्दा कारबाही भोग्न परेपनि आफू तयार रहेको बताए । ‘यता सरकार छोड्दा कारबाहीको पनि तयारी होला, त्यो पनि भोग्न तयार छु,’ काँग्रेस संसदीय दलका नेता समेत रहेका शाहीले भने, ‘अन्याय सहेर सरकारमा बसिन्नँ ।’
‘जुन बेला कांग्रेसलाई छोडेर माओवादी एमालेसँग गयो, त्यति बेला पवित्र गठबन्धन थियो होला माओवादी कांग्रेससँग मिल्न आउँदा अहिलेका मुख्यमन्त्रीले अपवित्र गठबन्धन भन्नु भएको थियो,’ उनले प्रश्न गरे, ‘अहिले कांग्रेससँग मिलेर सरकार चलाइरहनु भएको छ, यो कस्तो गठबन्धन होला?’ शाहीले सदन पनि निस्क्रिय भएको बताए । ‘कसको छायामा पर्नुभएको सभामुख र सचिवहरु मलाई थाह छैन” उनले भने ।
शाही बोल्नुपूर्व मुख्यमन्त्री यमलाल कँडेलले सरकारले गरिरहेका कामबारे फेहरिस्त पेश गरेका थिए । लगत्तै बोलेका शाहीले वाइडवडी काण्डमा आफू मुछिएका विषयमा स्पष्ट पारे ।
‘हामी सबै सधै दास भयौ, दलका नेताका दास भयौ, संघीयता यसरी कसरी कार्यान्वयन हुन्छ’ उनले प्रश्न गरे, ‘हामीले हाम्रो निर्णय गर्न नपाउने सबै माथिकै नेताले निर्णय गरिदनुपर्ने हामीले मान्दिनुपर्ने ?’
यहाँ आउने सबै मन्त्रालयका सचिबहरुले यो मन्त्रीले केही जान्दैन भन्ने भ्रम पालेको भन्दै असन्तुष्ट जनाए । ‘उहाहरु भन्नुहुन्छ हामी त संघका मान्छे हौ । उसो भए कर्णाली नेपालभित्र पर्दैन ?’ शाहीले भने ।