© २०२३
बुटवल, ३ माघ ।
किशोर–किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी अभियानको सवलीकरण अभिमुखीकरण कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाईले प्रजनन स्वास्थ्य अति संवेदनशील विषय भएकाले यसका बारे गम्भीर बहर हुन आवश्यक रहेको बताए ।
उनले यस विषयमा काम गर्ने जुनसुकै संघ संस्थाले पनि स्थानीयस्तरका प्रभाव देखिने तरिकाले काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै कालिका स्वावलम्बन सामाजिक केन्द्रका कार्यकारी निर्देशक रामेन्द्र रावलले संस्थाको स्थापनकालदेखि नै समाजका विषयवस्तुहरुलाई उठान गरिरहेको भन्दै यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परियोजनाले पनि समाजमा राम्रो प्रभाव राख्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा परियोजना प्रमुख अभिनव चौधरीले परियोना विषयमा जानकारी दिदै रुपन्देही नवलपरासी र कपिलबस्तुका १० स्थानीय तहहरुमा आधारभुत सर्वेक्षण गर्ने, परियोजनाको आभिमुखीकरण कार्यक्रम सेवा प्रदायक सरोकारवालाहरु, किशोरी सञ्जाल, महिला अधिकार मन्च, युवा क्लव, आमा समुह आदिसँग गर्ने, यौन तथा प्रजनन स्वास्थ्य ऐन २०७५ सम्बन्धी अन्तरक्रिया कार्यशाला, किशोरी सञ्जाल, महिला अधिकार मन्च, युवा क्लव, आमा समूह आदिको क्षमता अभिवृद्धि तथा सुदृढीकरण, पत्रकारहरुका लागि यौन तथा प्रजनन स्वास्थ्य ऐन र हालको परिस्थिति सम्बन्धी ३ दिवसीय कार्यशाला, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी शिक्षा, सूचना, परामर्श र सुविधाहरुको सेवा प्रवाहलाई किशोर–किशोरी मैत्री बनाउन प्रत्येक जिल्लाको ६ वटा स्वास्थ्य संस्थाहरुलाई सहायोग गर्ने बताए ।
उनले परियोजनाका उद्देश्यहरु सुरक्षित मातृत्व र यौन तथा प्रजनन स्वास्थ्य ऐन २०७५ को पुर्ण कार्यान्वयन गर्ने तर्फ जोड दिने बताए । त्यसैगरी लुम्बिनी प्रदेशमा लैङ्गिक हिंसा आ.व २०८०÷८१ मा ५ हजार ८सय ९२ रिपोर्ट दर्ता भएका छन् । त्यसमध्ये कुल ३ सय ७५ यौन हिंसाका रिपोर्ट दर्ता भई उपचारमा गएको उनले जानकारी दिए । कार्यक्रममा रुपन्देहीका नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, १६ पालिकाका स्वास्थ्य शाखा प्रमुख, प्रहरी, सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
किशोर–किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी अभियानको सवलीकरण अभिमुखीकरण कार्यक्रम जिल्ला समन्वय समिति रुपन्देहीको आयोजना, कालिका स्वावलम्बन सामाजिक केन्द्रको समन्वय र एम्पलाईफी चेन्जको सहयोगमा आयोजना गरिएको हो । कार्यक्रममा शुद्धोधन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख समिर भण्डारी, कालिका स्वावलम्बन सामाजिक केन्द्रका कोषाध्यक्ष प्रविन श्रीवास्तव, अधिवक्ता दिपा सुनार लगायतले बोलेका थिए ।