© २०२३
बुटवल २९ पुस ।
शनिबार तिलोत्तमा नगरमा महिलाहरूले फुटबल खेले । फुटबल खेल्दा लगाउने जर्सीभन्दा फरक पोशाकमा उनिहरू मैदानमा थिए । पुसको पारिलो घाममा महिलाहरू आफनो परम्परागत पोशाकमा सजिएर फुटबलको मजा लिदै रमाए । यो फरक फुटबल भैरहेको थियो । तिलोत्तमा नगरपालिका वडा नं ९ मा बसोबास गर्ने महिलाहरूको आठ समुह बिच फुटबलको उपाधि भिडन्त रोचक बन्यो । प्रतियोगिताको नाम नै लुङ्गी महिला फुटबल हुँदा सर्तको रूपमा सहभागी खेलाडीलाई लुङ्गी अनिवार्य थियो । आमा समुहका खेलाडीसंगै खेल हेर्ने दर्शक पनि उत्साही देखिए । प्रत्येक टिममा प्लेइगमा सात जना खेलाडीहरू बल खोस्न र गोल गर्दा दर्शकबाट हुटिङ पाए ।
तिलोत्तमा वडा नं ९ का वडाअध्यक्ष ध्रुव न्यौपानेले संस्कृति जर्गेनासंगै खेलकुद प्रवद्र्धन गर्ने गरि कार्यक्रम गरिएको बताए । घरदैलोको काममा ब्यस्त रहने वडाका महिलाहरूमा एक दिन भएपनि खेलमार्फत मनोरन्जन दिन सफल भएको उनले बताए । समुदायमा समाजमा एकअर्का बिच भेटघाट र सम्बन्ध बढाउन समेत कार्यक्रम सफल भएको उनले दाबी गरे । बढ्दो प्रविधिको दुरूपयोगका कारण मानिसहरू सामाजिकीकरण हुनबाट टाढिएको बेला एउटा महत्वपूर्ण कार्यक्रम गर्न सफल भएको उनले बताए । आगामी वर्ष अझै बृहत बनाएर सो खेल खेलाइने उनले बताए ।
वडा सदस्य तथा खेल संयोजक लवसन गुरुङले समुदाय बिचमा भातृत्व, सहकार्य र विकासमा जोडि दिनु स्थानिय सरकारको दायित्वभित्र पर्ने बताए । टोलमा रहेका आमा समुहलाई विकासको काममा अग्रसर गराउन एक अर्काबिच चिनजान जरुरी हुने र खेलमार्फत यो काममा सफलता मिलेको उनले बताए ।
यसैबीच लङ्गी फुटबल सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधी सृजनशील आमा समुहले चुमेको छ । निक्कै प्रतिस्प्र्रात्मक फाईनल खेलमा कल्याणकारी आमा समूह तुलसीपुरलाई पेनाल्टी शुटआउटमा ३–१ गोलले पराजित गर्दै उपाधि हात पारेको हो । शंकरपुरस्थित मैदानमा उल्लेख्य दर्शकहरूको सहभागिता रहेको खेलको निर्धारित समयमा गोलरहित बराबरी भएपनि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । खेलमा उत्कृष्ट किपर खिम कुमारी राना र उत्कृष्ट खेलाडी बिमा थापा घोषित भए ।
एक समारोहका बिच प्रतियोगिताको बिजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई वडा अध्यक्ष ध्रुव प्रसाद न्यौपाने, कार्यपालिका सदस्य तारा सुनार, वडा सदस्य तथा खेल संयोजक लवसन गुरुङ, सदस्य कमलराज रेग्मी, मिस्सु शाही तथा वडा नम्बर ९ का ज्येष्ठ नागरिक द्वयले प्रमाणपत्र, मेडल ट्रफी सहित पुरस्कार प्रदान गरेका थिए । वडामा २५०० घरधुरी बसोबासी रहेकोमा विशेष गरि पहाडबाट बसाईसराई गरि आएका जनजातीहरू उल्लेख्य छन् ।