© २०२३
सुर्खेत, २८ पुस ।
कर्णाली प्रदेश सरकारले एक वर्षको अवधिमा तीनहजार बढी दुग्ध उत्पादक किसानलाई प्रोत्साहन बापतको रकम प्रदान गरेको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा प्रदेश सरकारले कर्णालीका तीनहजार सात सय ७६ जना दुग्ध उत्पादक किसानलाई प्रोत्साहन बापतको रकम प्रदान गरेको हो ।
प्रदेशभर ३७ लाख ९१ हजार चार सय २९ लिटर उत्पादन भएको दूधमा प्रदेश सरकारले एक करोड २३ हजार रुपैयाँ प्रोत्साहन बापतको रकम उपलब्ध गराएको पशुपन्छी विकास निर्देशनालय सुर्खेतले जनाएको छ । दूध उत्पादन बढाउने उद्देश्यले कृषकहरुलाई प्रोत्साहन रकम उपलब्ध गराएको निर्देशनालयका निर्देशक कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७८÷७९ बाट कर्णालीका दूध उत्पादक किसानलाई उत्पादनका आधारमा प्रोत्साहन रकम प्रदान गर्दै आएको छ । पशुपालक किसानलाई प्रोत्साहन गर्दै दुग्धजन्य वस्तुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले रकम उपलब्ध गराउँदै आएको छ ।
प्रदेश सरकारले कालिकोट, मुगु, हुम्ला र डोल्पा जिल्लाका किसानलाई प्रतिलिटर १० रुपैयाँ तथा दैलेख, सुर्खेत, सल्यान, रुकुमपश्चिम, जाजरकोटका किसानलाई प्रति लिटर पाँच रुपैयाँका दरले अनुदान रकम प्रदान गरिदै आएको छ ।
जसका लागि गतवर्ष प्रदेश सरकारले एक करोड १६ लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको थियो । उक्त रकमबाट एक करोड २३ हजार रुपैयाँ प्रोत्साहनबापत किसानलाई प्रदान गरिएको निर्देशनालयले जनाएको छ । कर्णालीमा सबैभन्दा बढी सुर्खेतका कृषकहरुले दूध उत्पादनको अनुदान प्राप्त गरेका छन् ।
सुर्खेतका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएकोमा दुई हजार ४१ किसानलाई २८ लाख ४८ हजार आठ सय ७५ लिटर दूधबापतको ४९ लाख २९ हजार रुपैयाँ अनुदान प्रदान गरिएको छ । यस्तै, सल्यानका ६ सय ६१ किसानलाई प्रोत्साहनबापत १३ लाख ३४ हजार चार सय ८० रुपैयाँ प्रदान गरिएको छ । गतवर्ष सल्यानमा दुई लाख ६६ हजार आठ सय ९५ लिटर दूध उत्पादन भएको थियो ।
रुकुमपश्चिमका चार सय ७७ जना किसानले उत्पादन गरेका थिए । तीनलाख दुई हजार एक सय ८७ लिटर दूधबापत सल्यानका कृषकलाई १५ लाख रुपैयाँ वितरण गरिएको छ । यस्तै, जाजरकोटमा ७१ जना किसानलाई चार लाख २२ हजार रुपैयाँ प्रदान गरिएको छ । जाजरकोटमा गतवर्ष ८४ हजार चार सय ६ लिटर दूध उत्पादन भएको थियो । दैलेखमा दुई लाख १० हजार पाँच सय ३० लिटर दूध उत्पादन गर्ने चार सय ३४ जना किसानलाई अनुदानबापत १० लाख ५३ हजार रुपैयाँ प्रदान गरिएको छ ।
कालिकोटमा ७० हजार लिटर दूध उत्पादन गर्ने एक सय चार जना किसानलाई सातलाख रुपैयाँ अनुदान दिइदा हुम्लाका आठ जना किसानलाई आठ हजार पाँच सय ३६ लिटर दूधवापत ८५ हजार रुपैयाँ प्रदान गरिएको प्रदेश सरकारले जनाएको छ ।
यस्तै, चालू आर्थिक वर्ष २०८१÷८२ का लागि दुग्ध उत्पादक कृषकहरुलाई प्रोत्साहन अनुदान दिन प्रदेश सरकारले एक करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको गरेको छ । दूध उत्पादन प्रोत्साहन कार्यक्रममा सहभागी हुन किसानहरुले प्रदेश सरकारको मापदण्ड अनुसार निवेदन दिनुपर्ने निर्देशनालयले जनाएको छ । कर्णाली प्रदेशभर वार्षिक ७१ हजार मेट्रिकटन दूध उत्पादन हुने गरेको छ । निर्देशनालय सुर्खेतका अनुसार प्रदेशभर गत आर्थिक वर्ष २०८०÷८१ मा ७१ हजार दुई सय १७ मेट्रिकटन दूध उत्पादन हुने गरेको छ । निर्देशनालयका अनुसार कर्णालीमा दुई लाख १७ हजार पाँच सय ९७ दुहुना गाईभैँसीबाट उक्त मात्रामा दूध उत्पादन भएको हो ।