© २०२३
कपिलवस्तु, २७ पुस ।
लायन्स क्लव इन्टरनेशनलका संस्थापक मेलविन्स जोन्सको १ सय ४६ औं जन्मदिनको अवसर पारेर कपिलवस्तुको तौलिहवामा बिभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ । जन्मदिनको अवसर पारेर कपिलवस्तु नगरपालिका वार्ड नं २ स्थित बुद्ध पद्म उच्च माध्यमिक विद्यालयमा माहुरी होमको सहयोग मा शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यालयका विद्यार्थीलाई बालमैत्री शिक्षामा प्रोत्साहन गर्न ती सामग्रीहरु लायन्स क्लव कपिलवस्तु प्राचिनका अध्यक्ष सन्तोष कुमार कसौधन, माहुरी होमका अध्यक्ष रामदयाल ठाकुर, क्लवकी प्रथम उपाध्यक्ष कस्तुरा सिग्देल, चार्टर प्रेसिडेन्ट रवि ठाकुर, लायन्सका सदस्यहरु अर्जुन चापागाई र शिवशंकर कान्दु लगायतले विद्यालयका प्रधानाध्यापक बाबुराम भण्डारीलाई सामग्री हस्तान्तरण गरेका थिए ।
त्यसैगरी कपिलवस्तु अस्पतालमा रहेका ३० जना बिरामीहरुलाई फलफूल वितरण तथा वडा नम्बर २ ठुलो बर्गदवामा रहेको कामधेनु गौशालामा १० क्वीन्टल मकैको दाना हस्तान्तरण गरिएको छ । शैक्षिक सामग्री र फलफुल माहुरी होमले सहयोग गरेको थियो भने गौशालाका लागि समाजसेवी अपरदिप कसौधनले मकै दाना सहयोग गरेका थिए ।
लायन्सका चार्टर प्रेसिडेन्ट रवि ठाकुरले समाजसेवा गर्ने उद्देश्यले स्थापित लायन्स क्लव अफ कपिलवस्तु प्राचीनले सामाजिक कार्य गर्दै आएको बताए ।क्लवले समाजसेवामा उत्प्रेरणा बढाउनका लागि बहुआयामिक क्षेत्रमा सहयोग गर्दै आएको क्लवका अध्यक्ष लायन सन्तोष कुमार कसौधनले जानकारी दिए ।