© २०२३
सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले प्रदेश सरकार तथा स्थानीय तहमा कार्यरत प्रवत्ता एंव सूचना अधिकारीहरुलाई सत्य तथ्य सूचना दिन निर्देशन दिएका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज सुर्खेतको विरेन्द्रनगरमा आयोजना गरेको प्रदेश मन्त्रालय र स्थानीय तहका प्रवक्ता तथा सूचना अधिकारीहरूबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कँडेलले यस्तो निर्देशन दिएका हुन् ।
कार्यक्रममा उनले कर्णाली प्रदेश सरकारले सूचना लुकाउनु पर्ने गरि कुनै पनि काम नगरेको बताएका छन् । उनले सरकारले गरेका काम जति धेरै जनताको माझ पुराउन सक्यो त्यति नै गलत प्रवृत्तिको अन्त्य हुने उल्लेख गरे । प्रदेश सरकार सुशासन र पारदर्शिता कायम गर्न र भ्रष्टाचारको अन्त्यगरि समाजमा देखिएका विकृति अन्त्य गर्ने काममा लागेको हुनाले सरकारले लुकाउनु पर्ने कुनै सूचना नभएको मुख्यमन्त्री कडेललको भनाई थियो । सरकारले गरेका राम्रा कामको सही रुपमा प्रचार नहुँदा जनताले केही नगरेको जस्तो बुझ्ने गरेको मुख्यमन्त्री कडेलले उल्लेख गरे ।
‘जनतालाई सूचना दिने कुराबाट प्रशासनिक संयन्त्र भाग्ने अवस्थाको अन्त हुनु पर्छ’ कँडेलले भने, ‘सही सूचना दिदाँ कहाँ कस्ले के कमजोरी गरेको छ भनेर जनताले थाहा पाउने हुँदा कमजोरी गर्नेले समयमा सच्चिने अवस्था आउँछ ।’