© २०२३
लमही, २४ पुस ।
बाबाकी सगर गैनु हाँ, मुरिया लहाने
सखि ए हो, सेंडुर छुटल पानिघाट, सखि ए हो ! …….
केहीदिन यता थारू वस्तीहरूमा यी र यस्तै गीतहरू सुनिन थालेका छन् । यो मघौटा गीत हो । माघ पर्वमा मघौटा, ढमार र ढुम्रु बिशेष गीतको रूपमा लिइन्छ । माथिको गीतले माघ आगमनको संकेत गर्छ र मनभित्र गुम्सिएर रहेका पीडाहरूलाई पनि बिर्साउँछ अनि धेरै दिनदेखि छुट्टिएर बसेका साथी, भाइ, इष्टमित्रहरूसंग भेटघाटमा जोडिदिएको अनुभूत गराउँछ । यसरी सद्भावपूर्ण महत्वका साथ गाइने यस गीतले माघको वास्तविक सांस्कृतिक झल्को पनि दिन्छ । समयसंगै अहिले माघ मनाउने शैली फेरिदै गएको छ । हिजो गाउँघरमा नाचगान गरेर मनाइने माघ अहिले मञ्च कार्यक्रम गरेर राजधानी लगायत शहर केन्द्रित भइरहेको छ भने विदेशमा रहेका थारू समुदायले पनि महोत्सवको रूपमा मनाउँदै आएको खबर आइरहेका छन् । यसैले यसको महत्व अझै बढ्दै गएको अनुभूति गर्न सकिन्छ ।
माघ के हो, कसरी माघी भयो ?
माघ खासमा पश्चिमा थारु समुदायले मनाउने एक बिशेष पर्व हो । माघ पर्वलाई ठाउँ अनुसार थारु समुदायले माघ, खिचरा, तिला संकराइत भन्ने गरिन्छ भने मगर समुदायले माघे सकराती र अन्य समुदायहरूले माघे संक्रान्ति अथवा मकर संक्रान्ति भन्ने गर्छन् । । तर, वास्तवमा थारु समुदायको माघ नै मौलिक पर्व हो, माघी होइन । यो शब्द घर छोडेर राजधानी छिरेका थारू युवाहरूले काठमाडौंमा १५/१६ वर्ष पहिले माघ बिशेष कार्यक्रम मनाउँदा केही व्यानरहरूमा माघी महोत्सव लेखिएकै आधारमा पूर्वका थारू समुदाय र गैरथारू समुदायले माघी भन्ने बुझे र यो शब्द प्रयोगमा आएको भेटिने थारु बिद छबिलाल कोपिला बताउछन । अन्यथा यसभन्दा पहिले र आम थारू समुदायमा माघ पर्वको रूपमा चिनिन्छ । यो पर्व माघ महिनामा मानिने हुनले यसलाई माघ भनिएको हुनु पर्छ अथवा आदिम समुदाय थारू जातिको बिशेष पर्वको नाममा माघ महिनाको निर्धारण भएको हुनु पर्छ भन्ने तर्क पनि छ । थारू समुदायमा यसलाई नयाँवर्षको रूपमा मान्ने गर्छन् । कसैले यस पर्वलाई आर्थिक बर्षको रूपमा पनि लिने गर्छन् । जसले जे भने पनि माघ पर्व थारु समुदायको मौलिक पर्व हो र यसलाई नयाँ वर्ष र आर्थिक वर्षको रूपमा लिने गरिन्छ । केही वर्ष पहिले अथवा कमैयाँ, कम्लहरीहरू मुक्त हुनुभन्दा पहिले हलिया, मुक्त कमैयाहरू बिशेष छुट्टी पाउँथे भने रैती या अन्य व्यक्तिहरू केही समयको लागि छुट्टी पाउँथे ।
यसरी कामबाट मुक्त भएर अथवा स्वतन्त्र रूपमा मनाइने भएकोले यसलाई मुक्ति दिवसको रूपमा पनि लिने गरिन्थ्यो । यस अवसरमा नयाँ रीति–थिति, नयाँ गणनेता र नीति–नियम निर्माण हुने गर्छ । गाउँको अगुवा ककन्दारदेखि चौकीदारसम्म चुनिने, वर्षभरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने ? लेनदेन घरसल्लाह लगायतका छलफल हुने भएकोले यसलाई नयाँ आर्थिक वर्षको रूपमा पनि लिने गरिन्छ । त्यसैगरि यस पर्वका बाहिर र गाउँमै रहेका इष्टमित्रहरू स्वतन्त्र रूपमा मान्ने र मनोरञ्जनका नाच–गान पनि गरिने हुँदा यसलाई सद्भाव र सांस्कृतिक पर्वको रूपमा पनि लिने गरिन्छ ।
कहिले र कसरी मनाइन्छ ?
थारू समुदायमा धुमधामसँग मनाइने माघको तयारी केही दिन पहिलेदेखि नै शुरु हुन्छ । पात टिप्ने, दाउरा ल्याउने, जाँड–रक्सी पार्ने, माछा मार्ने ठाउँको छनौट लगायतका कार्य गरिने गरिन्छ । माछा मार्नका लागि माघ अगावै कुलो, खोलानालामा चिनो राखिन्छ । यसलाई थारू भाषामा झुक्का डर्ना अथवा भ्युँरा–डर्ना भनिन्छ । झुक्का (चिनो) राखिएपछि त्यस ठाउँमा कसैले माछा मार्न पाउँदैन । माघमा सुंगुरको मासु बिशेष मानिन्छ । त्यसैले माघ अगावै कहाँ सुंगुर काट्ने भन्ने कुराको निश्चितता पनि पहिले नै भइसकेको हुन्छ ।
पुस अन्तिम दिन
पुस पहिनाको अन्तिम दिन जसलाई ‘सुवर मर्ना’ दिन भनिन्छ । यस दिन बिहानैदेखि झुक्का हालेर रख्वारी गरेका कुलो तलाउमा माछा मार्ने र सुंगुर मार्ने गरिन्छ । साँझ परेपछि आफ्नो इष्टमित्र, साथी भाइ कहाँ गएर जाँड, सुंगुरको मासु खाँदै पर्व गीत ‘ढमार’ गाउँदै माघ पर्वको प्रारम्भ गर्छन् । ढमार माघमा मात्रै गाइने आवधिक गीत होे । थारू समुदायमा सुंगुरको मासु बिशेष रूपमा लिने गरिन्छ । यसकारण पनि यस दिनलाई ‘सुवर–मर्ना’ दिन भनिने थारु बुद्धि जिबि खडक प्रसाद चौधरी बताउछन । रैतीहरू आफ्ना जमिन्दार कहाँ दाउरा, पात दिन जान्छन् । उनीहरूलाई जमिन्दारहरूले पनि ठूलै सम्मानका साथ खुवाउने पिलाउने गर्छन् । र, खानपिनसँगै उनीहरूले ‘ढमार’ गाएर मनोरञ्जन गर्छन् । त्यस दिन राती ककन्दारको घरमा गाउँभरिका मान्छेहरू जम्मा भई मादल, डफको तालमा ढमार गाउँछन् । अँगनामा ठूल–ठूला मूढा बालेर धुनी जलाइन्छ । त्यही धुनी टप्दै उनीहरू जाँड खाँदै रातभरी जाग्राम बसेर बस्ने गर्दछन। तर दाङ लगायत पश्चिमा थारू जिल्लाहरूमा ‘मघौटा नाच’ प्रचलित छ । माघ आउनुभन्दा पहिलेदेखि थारू युवायुवतीहरू मघौटा गीत गाउँदै नाचेर रमाउने गर्छन् । नाचमा मादल, झाल, कस्टार बजाउँदै छाता ओढेर नाच्ने गर्छन् । माघ १ गते राती भाले बासेपछि महिलाहरू बिहान ढिक्री/रोटी बनाउन उठ्छन् भने गाउँका मानिसहरू ढमार गाउँदै, मादल, डफ बजाउँदै नदी, कुलो, खोलानाला, घाट, जलाशयमा नुहाउन जान्छन् । थारू समुदाय प्रकृतिपुजक भएकोले यस पर्वमा उनीहरू ‘कुवँरवर्ती’ (जलदेवी) संग आफ्ना दुःख, सुख सुनाउने र मागहरू माग्ने गर्छन् । उनीहरू पानीमा डुबेर आफ्ना मागहरू राख्छन् । यसरी मागे माग पुरा हुने जनविश्वास छ । त्यत्तिमात्रै होेइन आजको दिन नयाँ कपडा फेर्ने दिनको रूप पनि लिइन्छ । वर्षभरि पुराना लुगा लगाए पनि आजको दिन लुगा फेर्न सके राम्रो हुने पुरानापुस्ताका जानकारहरू बताउँछन् ।
माघमा नुहाउने चलन स्वस्थ्यको दृष्टिकोणले पनि बैज्ञानिक देखिन्छ । जाडोका कारण कतिपय मानिसहरू महिनौं ननुहाएका कारण छालारोग, लुतो, घाउ, खटिरा लगायत कपालमा जुम्रा पर्ने सम्भावना पनि बढी हुन्छ । तर, माघ पर्वमा सबैले अनिवार्य नुहाउनै पर्ने चलन भएकोले शरिर सफा हुन्छ । घाउ खटिरा लगायत रोग लाग्न पाउँदैन र जलदेवीसँग मागेको मनोइच्छा पनि पुरा भएको अनुभूति हुन्छ । यस अवसरमा कोही लामो समयदेखि विरामीमा परेको छ या कुनैै समस्या छ भने मनोकामना गर्दै जलदेवीलाई भाकल गर्ने गर्छन् । स्वेच्छाले भाले, परेवा या पुज्ने बाचा गर्छन् । यदि आफ्नो माग पुरा भए ३ या ५ वर्षमा आफूले बाचा गरेका भाले, परेवा पुज्ने गर्छन् र यसरी पुज्ने कामलाई ‘मनौटा पुज्ना’ भनिन्छ । नुहाउन जाँदा साथमा पिठो या चामलको टीका र तीलको छन्टी लिएर जान्छन् । थारू समुदायमा सेतो टीका लगाउने चलन छ । सेतो टीका शान्तिको प्रतीकको रूपमा लिइन्छ । यसलाई चोखो अथवा पवित्र वस्तुको रूपमा पनि लिइन्छ । सेतो टीका पारदर्षिताको प्रतीक पनि हो । सेतो वस्तुमा कुनैै पनि दाग लाग्यो भने प्रष्टै देखिन्छ । त्यसैले माघ नुहाएर कुनैै किसिमको गलत क्रियाकलाप नगर्ने प्रतिबद्धताका साथ सपथ खाने गरिन्छ । त्यसैगरि आजको दिन तीलको आँगो ताप्ने चलन छ । तीलको आगो पवित्र मानिन्छ । यसको आगो तापेमा मन पनि पवित्र हुन्छ भन्ने मान्यता छ थारू समुदायमा ।
यसरी नुहाएर घरमा आई ‘निस्राउ’ निकाल्ने चलन छ । निस्राउ भनेको चामल, मासको दाल र नुनको पाहुर होे । जुन आफ्ना चेलीबेटीहरूलाई पाहुरको रूपमा दिने जाने चलन छ । निस्राउ आफ्नो औकात हेरेर केही थप गरेर पनि दिने गरिन्छ । निस्राउ निकालेर जन्म दिने आमा–बुबालाई ढोग गरेर आर्शिवाद लिने गरिन्छ । आमा–बुबा नभएकाहरूले आफ्ना घरमूली वा नजिकको नाता पर्ने ठूला बडाहरूसंग आर्शिबाद लिने गरिन्छ । नाता अनुसार ढोग आशिर्वाद लिदै खानपिन पनि शुरु हुन्छ् । दिनभरि गाउँमा यसैगरि सेवा–ढोग गर्दै माघ स्वतन्त्र भएर मान्ने चलन छ । यसले समुदायमा एकता, प्रगाढ सम्बन्ध, आपसी सहयोग सद्भाव आदानप्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेल्छ । समाजमा बसेपछि कहिलेकाहीं कसैसँग ठाकठूक पर्नु स्वाभाविकै हो । यसरी एकापसमा सेवासलाम (ढोग) लागेर अंकमाल गर्दा मेलमिलाप तथा सम्बन्ध प्रगाढ हुन्छ । त्यसैले माघलाई मेलमिलापको दिनको रूपमा पनि लिइन्छ । मानिसहरू स्वतन्त्र रूपमा माघ मनाए झैं पहिले–पहिले घरमा पालिएका पशुहरू सुंगुर, भेंडा–बाख्रा, गाई–गोरु, राँगा–भैंसी पनि छाडा छाडिन्थे । कसैको बाली नोक्सानी गरेपनि त्यस दिन आममाफी हुन्थ्यो । तर, योे चलन अहिले छैन । योे समयको माग पनि हो । हिजोको अवस्थामा जे जस्तो भएपनि आज यसरी छाडा छोड्दा नोक्सान बढी हुने भएकोले रोक लगाइएको होे ।
माघमा सुंगुरको मासु, मुलासहितको सुंगुरको मासु, मेंवाको अचार, मसिनो आलुको चट्नी, अन्डीको जाँड र लामो ढिक्री खास परिकार बनाइन्छ । बालबालिकाहरू पनि निकै रमाउँछन् । उमेर पुगेकाहरू घर–घरमा गएर जाँड, सुंगुरको मासु खाँदै ढमार गएर मनाए जस्तै उनीहरू घर–घरमा गई ढिक्री मागेर रमाउने गर्छन् । यता घरका मुली महिलाले ती बालबालिकाहरूलाई ढिक्री दिएर विदाई गर्छिन् । उनीहरू खुशी भएर उफ्रिदै अर्को घर लाग्छन् । योे क्रम पनि दिनभरि चल्छ । तर, योे चलन अहिले हराउँदै गएको छ । गाउँमा ढमार गाउने चलन पनि घट्दो छ ।
माघ २ गते दोस्रो दिन ‘खिच्रहवा’ । खिचडी पकाएर खाने दिन भएकोले ‘खिच्रहवा’ भनिएको हो । खिचडी मासको दाल, चामल, नुन, बेसार, घ्यू या तेलमा पकाइन्छ । खिचडी जस्तै जमिन्दार, रैती, किसान, कमैयाँ, ओर्गिनियाँ, छेग्रहवा, बर्डिवा, भैंसरवा सबै एकै ठाउँ बसेर छलफलमा सहभागी हुने र समान व्यवहार गरिने भएकोले पनि ‘खिच्रहवा’ भनिएको हुनुपर्छ । आज कसैले कसैप्रति पदीय भेदभाव, विभेद गर्न पाउँदैन । सबै स्वतन्त्र रूपमा बोल्न पाउने भएकोले दिल खोलेर छलफलमा सहभागी हुन्छन् । घरभित्रको आन्तरिक छलफल पनि जमेर हुन्छ । को, कुन कामको जिम्मा लिने, उमेर पुगेकाहरूको विवाह गर्ने नगर्ने, ‘छारा’ (बसाई सर्ने) जाने नजाने, घर छुट्टिने नछुट्टिने, अधिया–बटैया लिने–दिने, बर्षभरिको काम गर्दा मनमुटाव भए त्यसैबेला छलफल गरी सहमतिमा ल्याउने, कसैसंगको लेनदेन, हिसाब–किताब लगायतका घरायसी कुराहरूको गम्भीर छलफल गरी पुनः एक वर्षको लागि जिम्मेवारी लिने–दिने काम हुन्छ । अधिया–बटैया गरी खेती किसानी गर्ने रैतीहरू आफ्नो जमिन्दार कहाँ ‘करै’ (रक्सी राख्ने करुवा जस्तै माटोको भाडा) मा रक्सी लिएर माघ डेवानी गर्न जान्छन् । वर्षभरिको कामको समीक्षा गर्ने र पुनः जिम्मेवारी लिन–दिन गरिने छलफललाई माघ डेवानी भनिन्छ । आजकल करैको रक्सी बोक्ने चलन नभएपनि दुबै पक्षको सल्लाहमा खानपिनको व्यवस्था हुन्छ या जमिन्दारकै घरमा छलफल हुने भएकोले उसैले खानपिनको जिम्मा लिएको हुन्छ । छलफल खानपिन पुर्व नै शुरु हुन्छ । अधिया–बटैयाको कुरामा सहमति भए दुबैले एकार्कालाई सेवा–ढोग गरी खुशीयालीमा खानपिनसंगै रमाउँछन् । र, पुनः अघिल्लो दिन बाँकी रहेको ढमारलाई अगाडि बढाउँछन् । यसरी गरिने कामको सम्झौता थारू समुदायमा अलिखित हुन्छ । जुन सम्झौता एक बर्षको लागि मात्रै रहन्छ, अर्को माघपछि स्वतः खारेज हुन्छ ।
तेस्रो दिन ‘भुराखेल’ (ख्याला) । भुराखेल भनेको गाउँभरिका किसान, जमिन्दार, रैतीहरूको बृहत भेला हो । भेलामा एक घरबाट एकजनाको अनिवार्य उपस्थिति हुनुपर्छ र भेला गाउँको अगुवाको घरमा हुन्छ । आज आगामी वर्षको लागि गाउँका अगुवा पनि चुनिने भएकोले बिशेष महत्व मानिन्छ । अगुवालाई ठाउँ बिशेष अनुसार बरघर, ककन्दार, भल्मन्सा, महटाँवा भनिन्छ । अगुवा चुनिएपछि कुलापानी हेर्ने अघरिया, पन्हेर्वा, गाउँको मर्वा (भूँइह्यारथान) को हेरचाहका लागि चिरकिया, गाउँको रक्षक एवं हुलाकीको रूपमा काम गर्ने चौकिदार पनि चयन गरिन्छ । बैठकमा गतवर्षमा भए गरिएका बाटो–घाटो, कुलानाला, सडक, धार्मिक पूजापाठ लगायत विकासको काम सम्बन्धी समीक्षा हुन्छ । नयाँ नीति–नियम, नियम उल्लंघन गर्नेलाई दन्डजरिवाना बारे छलफल गरेर क्षतिको मूल्य अनुसार रकम तोकिन्छ, जसलाई ‘खारा लेना’ भनिन्छ । यी थारु समुदायमा हुने यस्ता कार्य समय सान्दर्भिक भएकोले स्थानीय सरकारले मान्यता दिनु पर्ने बुद्धिजिबि चौधरी बताउछन् ।
यसरी माघलाई हेर्दा थारू समुदायको नयाँ वर्षको रूपमा मनाएको पाइन्छ । तर, आम नेपालीको नयाँ वर्ष बैशाख भएकोले माघ आर्थिक वर्षको रूपमा पनि लिने गरेको पाइन्छ । यो पर्व निकै हर्षोल्लासका साथ मनाइने भएकोले थारू समुदायका हरेक तह र तप्काका व्यक्तिहरू स्वतन्त्रतापूर्वक मनाउँछन् । बर्षभरिका लेनदेन, नयाँ थिति रीति बनाउने भएकोले सबैले निशंकोचपूर्ण तरिकाले आफ्ना कुरा राख्न पाउने अधिकार हुन्छ । यसैले यो नयाँ वर्ष र आर्थिक वर्ष दुबैको रूपमा लिन सकिन्छ ।
राज्यबाट विभेदगरिएको छ । थारु अगुवाहरूभने शदियौंदेखि परम्परागत अनुशासनमा रही आफ्नो शासन पद्धति चलाइरहेको थारू समुदायप्रति भने राज्यले सँधै विभेद गर्दै आएको बताउँछन् । पछिल्लो समयमा मिश्रित बसाई र कैयौं कानुनी अड्चनका कारण यो प्रणाली पनि बिवादमा तानिदै गएको छ । यसलाई व्यवस्थित गर्नका लागि केही वर्षयता केही जागरुक थारू अगुवाहरूले गाउँपालिका, नगरपालिका र जिल्ला स्तरीय समिति निर्माण गरेका थिए । तर यसबाट पनि आशातीत् उपलब्धि हुन सकेको छैन । यसकारण राज्यले समयमा स्पष्ट नीति र कम्तिमा पनि ३ दिनको बिदा दिनु पर्ने थारू अगुवाहरूको माग हुँदै आएको छ ।