© २०२३
बाणगंगा, २४ पुस ।
बाणगंगा नगरपालिकाको कार्यपालिकाको बैठक नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । बैठकले विभिन्न महत्वपूर्ण निर्णय गर्दै आगामी नगर सभामा पेश गर्ने प्रस्तावहरू पारित गरेको छ ।
नगरपालिकाका प्रवक्ता विष्णु पौडेलका अनुसार बैठकमा संगठनात्मक अध्ययन प्रतिवेदन (ओएनएन) प्रस्तुत गरिएको छ, जसलाई आगामी नगर सभामा पेश गर्ने निर्णय गरिएको छ। यसले नगरपालिकाको संगठनात्मक क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।
बैठकले स्वास्थ्य ऐन २०८१ पारित गर्न आगामी पुस २५ गते बस्ने १६औँ नगर सभामा पेश गर्ने निर्णय गरेको छ । यो ऐनले नगरपालिकाभित्र स्वास्थ्य सेवाको पहुँचलाई सहज र व्यवस्थित बनाउन मद्दत गर्नेछ ।
यसका साथै, आर्थिक ऐन र संशोधन, बिनियोजन ऐन र संशोधन पनि नगर सभामा पेश गरिनेछ । प्रवक्ता पौडेलले नगर सभाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् ।
नगर प्रमुख चक्रपाणी अर्यालले बाणगंगा नगरपालिकालाई दुधमा आत्मनिर्भर पालिका घोषणा गर्ने प्रस्ताव नगर सभामा पेश गरिने जानकारी दिएका छन् ।
नगर सभाबाट पारित भएपछि यो प्रस्ताव कृषि तथा पशुपंक्षी मन्त्रालयमा स्वीकृतिका लागि पठाइने योजना रहेको छ । प्रमुख अर्यालले नगर सभामा विशेष प्रस्ताव पनि प्रस्तुत गरिने जानकारी दिए ।
नगर उप प्रमुख रिता कुमारी चौधरीले नगरको विकासमा तीव्रता दिन आवश्यक रणनीतिहरू प्रस्तुत गरिन् । प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले विकास योजनाहरूलाई दिगो बनाउन चरणबद्ध रणनीतिहरूको महत्वबारे प्रकाश पारे ।
बैठकमा वडा अध्यक्षहरूले पनि आ–आफ्ना वडाको प्राथमिकताका योजना प्रस्तुत गरेका थिए ।
नगर सभामा प्रस्तुत गरिने प्रस्तावहरूमध्ये शिक्षा, स्वास्थ्य, र आर्थिक विकाससँग सम्बन्धित थप प्रस्तावहरू समावेश गरिने योजना रहेको बताइएको छ। साथै, सामुदायिक क्षेत्रमा जलस्रोतको उपयोगलाई व्यवस्थित गर्न छुट्टै प्रस्ताव तयार पारिएको छ ।
बैठकमा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, र शाखा प्रमुखहरूको व्यापक सहभागिता रहेको थियो । बैठकले नगरपालिकाको विकासको प्राथमिकतामा टेकेर अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ ।