© २०२३
बुटवल, २१ पुस ।
तराईका शहरमा पछिल्लो समय चिसो बढेको छ । सितलहरसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । बुटवलका विभिन्न वडाका अब्यवस्थित बसोबासीहरूलाई चिसोबाट बचाउने शनिबार न्यानो कपडा वितरण कार्यक्रम गरेको छ । चिसो बढेसँगै कठिनाई भोगेका करिब डेढ सय जनालाई बुटवल पुरानो बसपार्कमा प्रस्तावित गौतम बुद्घ मानव सेवा केन्द्रले खाना खुवाउने तथा न्यानो कपडा वितरण कार्यक्रम गरेको हो ।
बुटवल शहरलाई सहयोगापेक्षी सडक मानवमुक्त अभियानलाई साथ दिनेगरि कार्यक्रम गरिएको प्रस्तावित गौतम बुद्घ मानव सेवा केन्द्र निर्माणका अध्यक्ष बिक्रम तिवारीले बताए । सामाजिक कार्य गर्ने गरि करिब १२५ जना सदस्यहरूबाट १ हजार रूपैयाका दरले सहयोग उठाएर संस्था दर्ता तथा आश्रम बनाउने लक्ष्यसहित आफूहरू लागेको उनले बताए । चिसोका कारण काम गर्न नसक्ने र न्यानो कपडाको खोजीमा रहेकाहरूलाई सहयोग गरेको उनले बताए । मानव सेवाको उद्देश्यका साथ भविष्यमा आश्रम बनाउने लक्ष्य समेत रहेको उनले बताए ।
एक कार्यक्रमका बीच श्री १००८ स्वामी शान्ता नन्द सरस्वती महाराज, लुम्बिनी बौद्ध बिहारका सागर भन्ते, श्री पशुपति शान्ति शिवालय बर्दियाका दामोदर बास्तोला, केन्द्र निर्माणका अध्यक्ष बिक्रम तिवारीले डेढ सय जनालाई न्यानो कपडासंगै ५० थान सिरक बितरण गरेका हुन ।
कार्यक्रममा लुम्बिनी बौद्घ बिहारका भन्ते सागरले दान दिन सक्ने नै महान हुने बताए । संसारमा लिन र दिने गरि दुई प्रकारको मानिसहरू हुने भन्दै दिनेहरूको समाजमा सधै सम्मान हुने उनले बताए ।