© २०२३
चन्द्रौटा, १७ पुस ।
कपिलवस्तुको शिवराज नगरपालिकामा जेष्ठ नागरिकका घरघरमा स्वास्थ्यकर्मी पुग्ने गरेका छन् । नगरभित्रका जेष्ठ नागरिक, अपाङ्गता र विपन्न परिवारहरूका घरघरमा स्वास्थ्यकर्मी पुगेर सेवा प्रदान गरेका हुन् । पालिकाको निर्देशनमा स्वास्थ्यकर्मीहरू गाउँटोलमा पुगी उनीहरूलाई सेवा प्रदान गरेको पालिकाका स्वाथ्य शाखा प्रमुख चुडामणी भट्टराईले बताए । उनले भने : “प्रति चौमासिकमा रूपमा यो सेवा प्रदान गर्ने गरेका छौँ । जेष्ठ नागरिकलाई अत्यन्तै प्रभावकारी रहेको सेवाग्राहीको भनाई छ ।”
सेवाग्राहीसँगै स्वास्थ्यकर्मी समेत उत्साहि भएको बताउँदै औषधी उपचार घरघरमै पाउँदा आम नागरिक समेत यसलाई निरन्तरता दिनुपर्ने उनले बताए । स्वाथ्य अवस्था मजबुत बनाएर निरन्तररूपमा यस कार्यक्रमलाई अगाडि लैजान सके स्वास्थ्य क्षेत्र फराकिलो बनाउन टेवा पुग्ने भट्टराईले बताए । शिवराज नगरपालिकाले एक वर्षमा प्रत्येक ४/४ महिनामा ३ पटक सञ्चालन हुने उनले बताए । उनले थपेः “एकपटक सञ्चालन गर्दा ३ हजार ५ सय ८२ जनालाई सेवा प्रदान गर्ने गरेका छौँ । उहाँहरूको घरघरमा पुगेर सेवा प्रदानसँगै समस्या बुझेका छौँ ।”
प्रदेश सरकारले समेत स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै एक बर्षमा एकपटक मात्र सञ्चालन गरेको उनले बताए । उनले ८० बर्ष भन्दा माथिसँगै क र ख वर्गका आपांगतालाई सेवा प्रदान गरेको भट्टराई बताउँछन् । नगरपालिकाले ७० बर्ष भन्दा माथिका उमेरका नागरिकसँगै अपांगता भएका र विपन्न परिवारका नागरिकहरूलाई समेत सेवा प्रदान गर्ने गरेको उनको भनाइ छ ।
सुपादेउराली टोलका प्रेम नारायण खनालले आफूहरू घरमै स्वास्थ्य अवस्था बुझ्न पाउँदा हर्षित रहेको बताए । आफ्नो शारीरिक स्वास्थ्य अवस्थाको बारेमा जानकारी पाउँदा आनन्द पाएको जनाउँदै औषधि उपचारसमेत पाएको उनले बताए । यस्तै अर्का जेष्ठ नागरिक चुडामणी भुसालले उपचारसँगसँगै सुझाब सल्लाह समेत घरमा पाउँदा समय र पैसा दुबैको बचत भएको बताए । स्वास्थ्यकर्मीलाई धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन उनले आग्राह समेत गरे ।
यस्तै चनई स्वास्थ्य चौकीका इन्र्चाज जित बहादुर बिसीले जेष्ठ नागरिक, अपांगता र विपन्न परिवारका घरघरमा पुगेर नागरिकहरूलाई सेवा दिन पाउँदा खुसी भएको बताए । स्वास्थ्य सेवाको पहँुच बाहिर रहेका आम नागरिकहरूलाई पनि स्वास्थ्यसम्म ल्याउने योका कार्यक्रम माध्यम बनेको समेत उनले जनाए । उनले भने ः “घरघरमा स्वास्थ्यकर्मी पुग्दा उहाँहरू अत्यन्तै खुसी हुनुभएको छ । तर उहाँहरूमा लुकेर रहेका ब्लड प्रेसर, सुगर लगायत बिरामी जस्ता समस्या रहेको पाइएको छ ।”
उनीहरूलाई ब्लड प्रेसर, सुगर लगायत अन्य समस्या रहेका बिरामीलाई आफूहरू चेकजाँच गर्ने गरेको बताउँदै घरघरमा पुगेर आम नागरिकहरूलाई सेवा प्रदान गर्न पाउँदा आनन्दित भएको इन्र्चाज बिसीको भनाइ छ । यस्तै अर्का शिवराज नगरपालिका वडा नम्बर ३ का बृजमोहन अहिरले पछिल्लो समय हरेक व्यक्तिलाई पनि कुनै न कुनै समस्या रहेको बताए । उनले यसलाई न्यूनीकरण गर्न खानपानमा सुधार ल्याउन आवश्यक रहेको बताए । यसलाई आफूहरूले ख्याल गर्न सके सबैखाले रोगबाट बच्ने अचुक औषधी रहेको जनाउँदै जेष्ठ नागरिक लगायतलाई सम्मान गरेकोप्रति यादवले धन्यवाद व्यक्त गरे ।
यस्तै स्थानीय ईश्वरी प्रसाद खनालले घरघरमा पुगेर प्रदान गरेको स्वास्थ्यकर्मीहरूको प्रदान गरेको सेवा सकरात्मक रहेको बताउँछन् । उनका अनुसार निः शुल्क रूपमा स्वास्थ्य परीक्षण लगायत औषधी उपचार विस्तरमा बसेर पाउँदा एकदमै प्रशांसनीय योग्य छ । पालिका भित्रका सबै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरू परिचालन गरी नागरिकलाई सेवा प्रवाह गर्दै आएको स्वास्थ्य शाखाले जनाएको छ ।