दाङ, ७ पुस ।
नागरिक समाज दाङले चालु आर्थिक वर्षको पाँच महिना बितिसक्दा पनि भौतिक पूर्वाधारका क्षेत्रमा विनियोजित विकास बजेट खर्च निराशाजनक रहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
समाजका जिल्ला संयोजक नीमबहादुर थापाको अध्यक्षतामा आईतबार घोराहीमा बसेको नियमित बैठकले विकास निर्माणका लागि विनियोजित बजेटको समयमा सदुपयोग हुन नसक्दा पूँजीगत खर्च अत्यन्तै कमजोर देखिएको प्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
विकासका लागि विनियोजन भएको बजेट समयमा खर्च नहुँदा यसले बजेट असन्तुलनको अवस्थामा पुग्ने भन्दै लक्षित कार्यक्रम निर्धारित समयमा सम्पन्न गरेर पूँजीगत खर्चमा सुधार गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
प्रदेश सरकारको पछिल्लो पाँच महिनाको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेटमध्ये साढे १० प्रतिशत मात्रै पूँजीगत खर्च भएको छ ।
यसैगरी, सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा वेपत्ता छानबीन आयोग गठन प्रकृया अहिले फेरी अन्यौलको स्थितीमा पुगेको भन्दै चाँडो आयोग गठन गरी द्वन्द्वपीडितलाई न्याय दिन माग गरेको समाजका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिए ।
आयोगमार्फत द्वन्द्वपीडितको समस्या टुंगोमा पुर्याउँदै उनीहरुको पीडा अन्त्य गर्ने प्रयास लामो समयदेखि हुन नसकेको हुँदा चाँडो आयोग गठन गरी पीडामा मलम लगाउने काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
जिल्लाका विभिन्न सडकको अवस्था जीर्ण, सार्वजनिक सवारीमा क्षमताभन्दा बढी राख्ने प्रवृति, मापदण्ड विपरित उच्च भारवहनका सवारी, ट्राफिक नियम विपरित साना तथा ठूला सवारी चलाउने प्रवृति बढ्दै गएको प्रति ट्राफिक व्यवस्थापन चुस्त र प्रभावकारी बनाउन नागरिक समाजले ध्यानाकर्षण गराएको छ ।
कमजोर सडक पूर्वाधार, ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीको कडाई नहुनु जस्ता कारणले चालकहरुमा लापरवाही बढ्दा दुर्घटनाका कारण दैनिक जसो ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भईरहेकाले यसको न्यूनीकरणमा ध्यान दिन सरोकार निकायको ध्यानाकर्षण गराएको समाजका सचिव श्रेष्ठले जानकारी दिए