Butwal Today

न्याय पाउलान निर्मला पन्तको परिवारले ?

५ पुष २०८१, शुक्रबार
अ+
अ-

गृहमन्त्री रमेश लेखक कञ्चनपुरकै हुन । आफ्नै जिल्लाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको छानविनमा ढिलासुस्ती भएको बिषयमा लेखकले सरकारमाथि विगतका बर्षहरूमा ठूलो दवाव दिएका थिए । अहिले उनी आफै निर्मला पन्तको हत्याको अनुसन्धान गर्ने निकायको नेतृत्वमा पुगेका छन् । ढिलो भएपनि गृहमन्त्रीले आफ्नो जिल्लामा भएको निशृंस हत्या प्रकरणको अनुसन्धान टुंगो लगाएर दोषी अपराधीमाथि कारवाहीको प्रकृया सुरु गर्न सके निर्मला पन्तको परिवारले न्याय पाउने झिनो आशा पलाएको छ । गृहमन्त्रीले निर्मला पन्त प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूसँग छलफल गरेपछि निर्मला पन्त हत्या प्रकरण फेरी एकपटक चर्चामा आएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पन्तको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूसँग छलफल थालेको छ । अनुसन्धानमा खटिएका अधिकृतहरूसँग छलफल गरेर एउटा निष्कर्ष निकालेर नयाँ कोणबाट फेरि अनुसन्धान अघि बढाउन लागिएको छ । यसमा गृहमन्त्रीको अग्रसरतालाई धन्यबाद दिनैपर्दछ । यद्यपि यो अनुसन्धान निरन्तर जारी नै छ । हत्याका बिषयमा प्रहरी अधिकृतसंग छलफल सकेर एउटा निचोड निकालेपछि अनुसन्धानका लागि नयाँ टोली पठाउने सीआईबीको भनाई छ । गत साउन १० गते मात्रै पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष पूरा भएको छ । तर अहिलेसम्म हत्यारा पत्ता लगाउन प्रहरीले नसकेको भन्दै सुरक्षा निकायको गंभीर आलोचना भैरहेको छ ।
गृहमन्त्री लेखकले पन्तको बलात्कारपछिको हत्यामा संलग्नमाथि कारवाही गर्न सरकारले नसकेको भन्दै तत्कालीन सरकारको चर्को आलोचना गरेका थिए । तर, अहिले अनुसन्धान गर्ने जिम्मेवारी निकायमै उनै लेखक पुगेका छन् । अव उनको नेतृत्वमा बहुचर्चित निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान भएर दोषीमाथि कारवाही गर्ने आधार तयार होस् । कम्तिमा निर्मला पन्त हत्या प्रकरणमा मूख्य आरोपी र सहायकहरूको पहिचान भयो भने मात्रै पनि केही हदसम्म निर्मला पन्तले न्याय पाउने अवस्था हुनेछ । विगत ६ वर्षको अवधिमा ६ जना गृहमन्त्री र प्रहरी प्रमुख फेरि । अहिलेसम्म ६ वटा समिति बने, तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन् । २०७५ साल साउ १० गते साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् । त्यसयता उनको हत्या अनुसन्धानमा धेरै कुरा बाहिर आएपनि सरकार र प्रहरी प्रशासनले गुदी कुरा पत्ता लगाउन नसक्नु चिन्ताको बिषय हो । निर्मला पन्त अनुसन्धानकै क्रममा १२४ जनाको डीएनए जाँच, ६५५ जनासँग सोधपुछ गरिए पनि नतिजा शुन्य छ । यसअघि गत बर्ष गृहमन्त्री भएपछिको पहिलो निर्णयमा हस्ताक्षर गर्दै रबि लामिछानेले कञ्चनपुरकी निर्मला पन्तलाई न्याय दिन अधिकतम प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए । उनले समिति पनि गठन गरे । घटनास्थलसम्म पुगेर अनुसन्धान पनि गराए तर खै उनीपनि निर्मला पन्तको हत्यारा पत्ता लगाउने घटनाबाट पञ्छिए । विगतका धेरै प्रहरी महानिरिक्षकले समेत निर्मला पन्त हत्या प्रकरण पत्ता लगाउने अठोट गरेकै हुन् । तर दुर्भाग्य अहिलेसम्म उक्त घटनाको पटाक्षेपमा सबै असफल सावित भैरहेको छन । निर्मला जस्ता अन्य धेरै चेलीको पनि निर्मम हत्या भएको छ । तीमध्ये हत्यामा संलग्न कति अपराधी पक्राउ परे र कतिले सजाय पाएका छन । आज ती सवै निर्मलाको हत्याको फाईल खुल्नुपर्दछ । जेहोस ढिलै भएपनि निर्मलाको पक्षमा न्याय हुने आशा पलाएको छ । गृहमन्त्री निर्मला पन्तकै जिल्लाको भएकोले पनि प्राथमिकतामा यो विषय परेको छ । गृहमन्त्रीले निर्मला पन्तको हत्यामा संलग्न दोषीमात्रै पक्राउ गरेर सजाय दिने वातावरण बनाएमात्र पनि उनको कार्यकाल ऐतिहासिक हुनेछ ।