© २०२३
सुर्खेत, ५ पुस ।
सुर्खेतमा घरभित्र निसास्सिएर आमा छोराको ज्यान गएको छ । वीरेन्द्रनगर–४ भैरबस्थानमा घरभित्र सुतिरहेका आमा, छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र वीर विश्वकर्माका अनुसार ३० वर्षीया देवीसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापाको मृत्यु भएको हो । देवीसराका ९ वर्षीया छोरी रिया थापाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको डिएसपी विश्वकर्माले जानकारी दिए । प्रहरीको प्रारम्भिक रिपोर्ट अनुसार घरभित्र कोइला बालेको र धुँवामा निसास्सिएर ज्यान गएको देखिन्छ ।
घटना बुधबार रातिको भएपनि बिहीबार बिहान साढे ९ बजे मात्र प्रहरीलाई खबर पुगेको थियो ।
‘बेलुका खाना खाएर सुतेको देखिन्छ, बिहान अबेरसम्म घरबाट कोही ननिस्किएपछि प्रहरीलाई सूचना आएको हो,’ डिएसपी विश्वकर्माले भने, ‘घरभित्र कोइला बालेको र धुवाँमा निसास्सिएको हुन सक्छ ।’