© २०२३
नेपालगञ्ज, १ पुस ।
पूर्व राजा ज्ञानेन्द्र शाहको परिवारले आज बाँकेको राप्ती सोनरी ३ स्थित भूवरभवानी मन्दिरको दर्शन गरेका छन् ।
पारिवारिक भ्रमणको शिलशिलामा नेपालगञ्जमा रहेका पूर्व राजपरिवार विहान साढे ११ बजे भूवरभवानी मन्दिरमा पूजा अर्चना र दर्शन गरेका हुन् ।
पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल शाह, पूर्व अधिराजकुमारी प्रेणा सिंह साथै पूर्व शाहज्यादी पूजा शाहीलगायतले भूवार भवानी मन्दिरमा दर्शन गर्ने क्रममा मन्दिर परिसरमा राप्रपाका स्थानीय नेता तथा कार्यकर्ताहरुले राजा आउ देश बचाउको नारा लगाएका थिए ।
मन्दिरमा पूर्व राजाको दर्शन पाउँदा भगवान नै प्रकट भएको जस्तो महसुस भएको मन्दिरका पूजारी बलराम रेग्मीले बताए । उनले भने, ‘राजालाई पहिले विष्णु भगवानको अवतार मनिन्थ्यो, एक्कासी मन्दिरमा पूर्व राजाको दर्शन पाउँदा खुशीले आँशु झरेको पत्तै भएन ।’ राप्ती सोनारीका पूर्व प्रधान पञ्च सालिक राम डाँगी, तुलसीराम थारु, भूवरभवानी मन्दिर ब्यवस्थापनका अध्यक्ष टिकाराम थारुलगायतले पुष्प गुच्छाले स्वागत गरेका थिए ।
स्वागतका क्रममा पूर्व राजालाई अब फेरि श्रीपेच पहिरिएर देशमा भ्रष्टाचार निर्मूल पार्न स्थानीयहरुले आग्रह गरेका थिए । करिब आधा घण्टा सम्म मन्दिरमा पूजा अर्चना गगरेका पूर्व राजा शाहलाई भेट्न छोटो समयमा जानकारी पाएका सयौं संख्यामा स्थानीयहरु भूवर भवानी मन्दिर पुगेका थिए ।