© २०२३
सुर्खेत,१ पुस ।
मानवसेवा आश्रम भवन निर्माणको लागि आयोजना गरिएको महायज्ञबाट ९ करोड ४१ लाख ४४ हजार रुपैयाँ संकलन भएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार महायज्ञ सञ्चालन भएको सात दिनको अवधिमा उक्त रकम संकलन भएको हो ।
महायज्ञमा ५ करोड रुपैयाँ रकम उठ्ने लक्ष्य लिइएको थियो । तर, लक्ष्य भन्दा धेरै रकम संकलन भएको समितिले जनाएको छ । संकलित रकमबाट वीरेन्द्रनगर–११ स्थित देउती बज्यै तथा गंगामाला धार्मिक वनले आश्रमलाई उपलब्ध गराएको जग्गामा कर्णाली प्रदेशस्तरीय भवनको निर्माण हुने आश्रमले जनाएको छ ।
महायज्ञमा कर्णाली प्रदेशका स्थानीय पालिकाका जनप्रतिनिधि, समाजसेवी, व्यापारी, बुद्धिजीवी, विद्यार्थीहरू र संघसंस्थाहरुको सहभागीता रहेका थियोे । मंसिर २१ गते शुक्रवारबाट वीरेन्द्रनगर – ६ खुलामञ्चमा सुर्खेतमा सुरु भएको महायज्ञ २८ गते शुक्रवारसम्म सञ्चालन भएको थियो ।
भवन निर्माण सहयोगार्थ सञ्चालन गरेको महायज्ञबाट संकलित रकमको पारदर्शिता कायम गर्दै १५ दिनभित्र प्रत्येक हिसाबको लेखाजोखा सहित सार्वजनिक गर्ने मूल आयोजक समितिका संयोजक डा. नवराज के.सीले बताए ।
आश्रमले आयोजना गरेको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञ –२०८१ मा भागवत भास्कर कमलनयन गौतमले कथा वाचन गरेका थिए ।