© २०२३
आजभन्दा १० वर्ष पहिलेको गढीमाई देवीको विशेष पूजामा भक्तजनको ठूलो उपस्थिति थियो । त्यहाँ पूजा गर्न आउने केहीले कुभिण्डो आदि वलिका लागि लिएर आएतापनि अधिकांशले पशुहरू नै वलिका लागि लिएर आएका थिए । पुजा भइरहेको थियो । त्यस समयमा एकजना पहेँलो कपडा लगाएका योगी जस्ता देखिने मानिस वलि पुजाको विरोध गर्दै नेपाल आएका थिए । उनले काठमाडौँको महङ्गो होटलमा पत्रकारहरू माझ पशुवली गलत भएको कुरा भनिरहेका थिए । हिन्दू भेषमै आएका उनी को हुन् त भनी मैले त्यसबेला अनुसन्धान गर्दा ती भारतबाट आएका स्वामी अग्निवेश रहेछन् । आफुलाई वैदिक आर्य भनी परिचय दिएका उनी भारतमैँ पनि धेरै विवादित व्यक्ति थिए । भारतमा उनले धेरै पहिलादेखि नै चलिआएका संस्कार संस्कृतिको विरोध गर्थे । अमरनाथ भगवान्को पनि विरोध गर्ने उनी भेष हिन्दु नै भएपनि कार्य चाहिँ विधर्मीहरूलाई सहयोग गर्ने खालको गर्दथे । त्यसैलेपनि सन् २०२० मा उनी देहान्त हुनुभन्दा केही समय अगाडि उनलाई हिन्दु समर्थित भिडले कुटपीट पनि गरेको थियो । उनी विदेशी विधर्मीहरूकै समर्थक थिए तर सुधारका नाममा हिन्दु धर्मको विरोध गर्नका लागि उनले आर्य समाजमार्फत् गेरु वस्त्र धारणा गरेका थिए भन्ने बुझाई धेरैको रहेको छ ।
त्यस्तै आजभन्दा पाँचवर्ष पहिला गढीमाई देवीकै पुजामा वलि दिएको विषयलाई धेरै रङ्गरोगन गरिएको थियो । नेपालमा विदेशी पैसामार्फत् पेट पाल्दै आएका विदेशी संघसंस्थाका प्रतिनिधिहरू त्यहाँ भइरहेको वलिको विरोध गर्दै त्यसलाई तुरुन्त रोक्नुपर्दछ भन्दै पुजास्थलमै पर्चा पम्पिलेट सहित उपस्थित भएका थिए । दशवर्ष पहिलेको अग्निवेशले गरेको विरोधलाई खासै मतलव नगरेतापनि पाँचवर्ष पहिला संघ संस्थाहरूमार्फत् पुजास्थलमा नै आई गरिएको विरोधलाई स्थानीय युवाहरूले निगरानी गरेका रहेछन् । त्यसैले आफुहरूले परापूर्वकालदेखि गर्दै आइरहेको आस्थामाथि भएको प्रहारविरुद्ध मोर्चाबन्दी गरेछन् । यो कुरो कसरी बाहिर आयो भने ती दिनभरी प्लेकार्ड लिएर वलिको विरोध गर्ने गरेका व्यक्तिहरू नजिकैको होटलमा बसेका रहेछन् । अनि उनीहरूको दैनिक खानपान चाहिँ माछामासु नै हुने गरेको रहेछ । यसरी खाँदै गरेको स्थानमा गएर युवाहरूले रङ्गेहात फेला पारेपछि उनीहरूको भागाभाग भएको थियो ।
त्यतिमात्र कहाँ हो र जब हामी नेपालीहरूको ठूलो पर्व दसैँ आउँछ अनि त्यसबेला शाकाहारी अभियान र वलि विरोधका कार्यक्रमहरू अति नै धेरै आउँछन् । विदेशी संघ संस्थामार्फत् यहाँका संस्कार संस्कृति तहसनहस गर्न आएको पैसा यस किसिमका कार्यक्रममा अति नै धेरै खर्च हुने गरेको छ । समाजमा हिन्दु धर्मका विभिन्न सम्प्रदायका गुरुहरूले पनि विदेशीहरूको षडयन्त्रलाई बुझ्दै नबुझी तिनैका शाकाहारी अभियानहरूलाई समर्थन गरिरहनुभएको हुन्छ । उहाँहरूले पनि धर्मशास्त्रका सबै कुरा नबुझीकनै यी विषयहरूलाई हल्का तरिकाले लिने गरेको पाइएको छ । विशेषत नेपालमा कस्ता प्रकारका जातजाति बस्ने गरेका छन् ? यहाँको परम्परा के हो ? यहाँका शक्तिपीठहरूमा किन परापूर्वकालदेखि वलि दिँदै आइरहिएको छ । तन्त्र परम्परा भनेको के हो ? तन्त्र परम्परामा विशेषत कुन जातजातिको अधिकार रहेको छ ? ती गुरुहरूले यी कुराहरूको विना अध्ययन नै प्याच्च बोल्ने र आफ्नै सम्प्रदायका मात्र कुराहरूलाई अगाडि सारिरहनु भएको हुन्छ । सनातन परम्परामा विभिन्न देवताहरूको आराधना गरिन्छ । हाम्रा धर्मशास्त्रमा यसो गरेमा यसो फल मिल्छ भनेर स्पष्ट लेखिएको छ । स्वर्ग जाने, नर्क जाने, फेरि जन्मिने या मोक्ष हुने कुन मार्ग लिने हो त्यस कुरामा व्यक्ति स्वतन्त्र हुन्छ । प्रवृत्तिमार्ग मार्फत् जीवन विताउने कि निवृत्तिमार्ग मार्फत् जीवन विताउने ? यस कुरा पनि उसकै हातमा हुन्छ । त्यसैले सनातन मार्ग जस्तो सजिलो नियम भएको धर्म सायद विश्वका कुनैपनि स्थानका धर्महरूमा छैन भन्दा अत्युक्ति हुँदैन । सनातन धर्मका धर्मशास्त्रहरूमा स्वर्ग प्राप्तिका लागि विभिन्न यज्ञ याज्ञादिको विधान गरिएको छ । ती यज्ञहरू पनि कुन समयमा गर्ने, कसले गर्ने, कसले नगर्ने सबैको विधि राखिएको छ । हाम्रा आचार्यहरूको मान्यता एवम् हाम्रो अनुभवमा पनि नदी र मनको प्रवृत्ति सधै तलजाने नै हुन्छ । मनलाई बाँधेर राख्न सकियो भने परमात्मामा बल्ल ध्यान जान्छ अर्थात् जीवात्मा र परमात्माको मिलन हुन्छ भनी शास्त्रहरूले बताएका पनि छन् । तर यी मन र नदीलाई बाँधेर राख्न अत्यन्त गाह्रो छ । त्यसैले शास्त्रहरूले पनि यिनलाई बाँधेर राख्न अनेक उपाय दिएका छन् । मानिस जन्मिएपछि नै उसले हिंसा गर्न थाल्दछ । तर जतिसक्दो थोरै हिंसा गर्न सकौँ भनेर शास्त्रहरूले उपाय पनि दिएका छन् । मां भनेको मलाई त्यसले अर्को जन्ममा खानेछ । त्यसैले हामीले जसको मांस खाइन्छ अर्को जन्ममा त्यसले हाम्रो मासु खान्छ पनि भनिएको छ । त्यसैले भरसख नखाऊ नै । खान्छौ नै भने यो यो चिज यसरी खाऊ भनेर विधिपनि सिकाएको छ । तन्त्र पुजामा पशुवलि अनिवार्य पनि भनेको छ । भगवान्ले सात्विक, राजसी र तामसी प्रकृतिका खानाहरू खाँदा खाना अनुसार हाम्रो मनको प्रवृत्ति हुन्छ भनेर पनि भनिदिएको छ । जीवो जीवस्य कारणम् भनिएका हाम्रा शास्त्रमा आफुलाई जुनचिज मीठो लाग्दछ त्यो चिज भगवान्लाई अर्पण नगरिकन नखापनि भनेको छ । यस्तै यस्तै विभिन्न शास्त्रोक्त कुराहरूको नियममा विभिन्न मानिस विभिन्न तरिकाले हाम्रो सनातन परम्परामा बाँचिरहेका छन् । अझ विशेषत नेपाली समाजमा त परापूर्वकालदेखि नै वलिको परम्परा रही आएको छ । कुभिण्डो वलिदिने भन्दापनि पशु वलि दिने परम्परा नै अधिकांश नेपालीहरूको रही आएको छ । अहिले आधुनिक विदेशी परम्पराले सनातन नेपालीहरूले जुनपनि पशुको जसरी पनि खाने गरेतापनि हामीले जान्दा समेत विना वलि मासु खाने चलन थिएन । आफ्ना कुलायन पूजा, दसैँ, विवाह र देउराली आदिको पूजाबाहेक अरूबेला नेपालीहरूले माछा मासुको प्रयोग गर्दैनथे । उनीहरूले मासु आस्थाका आधारमा खाएपनि मासुले नै खानेगरी उनीहरूले खाने गरेका थिएनन् । अतः अहिलेपनि धेरै हाम्रा पुराना अभिभावकहरूले दसैँमा देवीको प्रसादका रूपमा र कुलायन पूजामा कुल पूजाको प्रसादका रूपमा मात्र मांस सेवन गरी अरू बेला शाकाहारी जीवन नै व्यतित गर्ने गरेका छन् । त्यस्तै गढीमाईको पुजा गर्न आउनेले गर्ने पुजा पनि त्यही आस्थाकै कारणले हो ।
यी सबै विषय प्रसङ्ग के का लागि भनियो भन्ने कुरा त लगभग बुझीपनि सकियो होला । कसैको आस्थामाथि प्रहार गर्ने छुट कसैलाई पनि छैन । अधिकांशले वलिका कारणले पशु हिंसा बढेको भनेतापनि मांसाहारीहरूले मासुको लागि नै गर्ने हत्यामा जस्तो पशु हिंसा बढेको हुँदैन । कसैका पनि आस्थामा चलेका विषयमा वलि विरोधका कुरा लिएर आउने ती विधर्मी नै हुन् । उनीहरू कुनैपनि मुस्लिमहरूको बकर इद पर्वका बेला हुने एवम् क्रिश्चियनको इस्टर पर्वका समयमा हुने अरवौँ पशु हत्याका विषयमा कहिल्यै बोल्दैनन् । यस वर्ष चाहिँ नेपालमा सनातनीहरू जागेछन् भन्ने जानेर भारतीय नाकामा बसेर गढी माईमा आउने भक्तजनलाई बाधा पु¥याइरहेका, कसैको पनि आस्थामाथि प्रहार गरिरहेका ती विधर्मीहरूले यहाँ खोलिएका बुचरखाना बन्द गराउन्, मानिसहरूलाई बरु शाकाहारी बनाउने अभियानमा लगाउन् । जसले गर्दा वलि प्रथा स्वतः हट्छ । तर यिनीहरूले यसो गर्दैनन् किनकि यी विधर्मीहरूका खेतालाहरू हुन् ।