© २०२३
काठमाडौं ।
राष्ट्रिय मानव अधिकार आयोगले सहकारी बचतकर्ताको रकम फिर्ताका लागि परिणाममुखी काम गर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगले आज प्रेस विज्ञप्ति निकालेर सहकारी समस्याप्रति ध्यानाकर्षण भएको भन्दै समस्याको सार्थक समाधान खोजेर बचतकर्ताको रकम फिर्ता गर्न र दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।
आयोगले जारी गरेको विज्ञप्तिमा व्यक्तिको आर्थिक, सामाजिक र सांकृतिक अधिकारको हनन् भएको उल्लेख छ । विगतमा सहकारी पीडितको समस्या समाधान गर्ने र बचतकर्ताको रकम फिर्ता गर्ने भन्दै सरकारले गरेको सहमति कार्यान्वयन नभएकोप्रति आयोगले चिन्ता व्यक्त गरेको छ ।
आयोगद्वारा जारी विज्ञप्तिमा राज्य र पीडितबीच भएका सहमति कार्यान्वयन गर्न, शान्तिपूर्ण प्रदर्शन तथा सभा सम्मेलन गर्न पाउने नागरिकको संविधानप्रदत अधिकारको संरक्षण गर्न साथै सहकारीमा देखिएको कानूनी, नीतिगतलगायत सबै प्रकारका समस्याहरू समाधान गर्न भनिएको छ ।
देशभरका सहकारी पीडितहरुले बचत रकम फिर्ता पाउनुपर्ने भन्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन्।