© २०२३
सूचना प्रविधिको द्रुततर विकाससँगै सुरक्षित प्रयोगको जानकारी र व्यवहार अपरिहार्य बनेको छ । सामाजिक सञ्जालको ब्यापक प्रयोग भएको छ । सबै उमेरका मानिसहरूले विद्युतीय सञ्चार साधन र इन्टरनेट सेवा लिइरहेका छन् । यस प्रकारको सेवा सुविधाको उपयोगबाट फाइदा लिने र हानी हुनबाट जोगिने गरी प्रयोग गर्न जान्नु सबैका लागि आवश्यक छ । खासगरी किशोरावस्थाका विशेषताहरूका कारण यस उमेर समूहका मानिसहरू बढी प्रभावित हुन्छन् । यसबेला मानिस बाल्यावस्थाबाट माथि लागेपनि परिपक्कता आइसकेको हुदैन । यो उमेरलाई संक्रमणकालीन समय भनिन्छ । अर्थात् यतिबेला मानिस अलमल, शंका, भयको अवस्थामा हुन्छ । मानिसमा महत्वाकांक्षा र द्विविधा सँगसँगै रहेको हुन्छ । उनीहरूले आफूलाई सक्षम देखाउन चाहन्छन् तर परिपक्कता हासिल गरेका हुदैनन् । त्यसैगरी उनीहरूमा आत्मपहिचानको चाहना पलाउँछ । परिवारसँग टाढिन सक्छन् तर सहपाठीको विचार सजिलै स्वीकार्ने गर्छन् । वास्तवमा पारिवारिक सरसल्लाह बढी नै आवश्यक हुने भएतापनि किशोरावस्थाका मानिसहरू सहपाठी वा समान उमेर समूहका मानिसहरूसँग मित्रता, सम्बन्ध र कारोबार गर्न लालायित हुन्छन् । आफूमा भएका शारीरिक, मानसिक अवस्था परिवर्तनसँग तालमेल मिलाउनका लागि अप्ठ्यारो महसुस गर्दछन् ।
किशोरावस्थामा मानिसहरूमा देखिने अपरिपक्कताको दुरूपयोग साइबर अपराधबाट बढी हुने गरेको छ । यस उमेरमा जिज्ञासा बढी हुने, कुनै नयाँ वस्तुको उपयोग वा जानकारी राख्न चाहने र हरेक प्रकारले परीक्षण गर्न चाहने वानीका कारण विद्युतीय सञ्चार माध्यम र खासगरी विभिन्न सामाजिक सञ्जालमार्फत प्राप्त समाचार, सन्देश, विज्ञापन, भिडियो, चित्र आदि खोल्ने हेर्ने गर्नाले साइबर अपराधको शिकार बनेका उदाहरण छन् । वास्तवमा कम्प्युटर, इन्टरनेट सामग्री उपयोगी माध्यम हुन् । शिक्षा, स्वास्थ्य, निर्माण, सेवा आदि विविध क्षेत्रमा सूचना प्रविधिको उपयोगिता छ । उदाहरणका लागि विभिन्न शिक्षामूलक कार्यक्रम, स्रोत सामग्री उत्पादन गर्ने र निःशुल्क वितरण गर्ने वेब पेज तथा संस्थाहरू छन् । इन्टरनेटमार्फत घरमै बसेर विश्वको ज्ञान प्राप्त गर्न सकिने, शैक्षिक कोर्स पूरा गरी उपाधि लिन सकिने, समाचार सन्देश प्राप्त गर्ने, टेलिमेडिसिन सुविधा, कुराकानी आदि धेरै कार्य सस्तो, छिटोछरितो र निपूर्णताका साथ सम्पन्न गर्न सम्भव छ ।
विज्ञान प्रविधि, वैज्ञानिक खोज अनुसन्धान, आर्थिक प्रशासनिक अभिलेखीकरण, पत्राचार लगायतका कार्य सजिलो र सही स्वरूपमा गर्न सम्भव भएको छ । तर यसको सुरक्षित उपयोग गर्न सकिएन भने खराबीपनि उत्तिकै छ । कतिपय मानिसहरू नांगो फोटो हेर्ने, यौन फिल्म (पर्नोग्राफी) हेर्ने, यौन दुब्र्यवहार खालको भाषिक प्रयोग गरेर लेखिएका सन्देशहरूमा रमाउने जस्ता कुलत लागेर धेरै मानिसहरू बिग्रिएका भेटिन्छन् । जब मोबाइलको लत बस्छ खाने बेलामा पनि मोबाइल हेर्ने, पढ्ने समयमा पनि मोबाइल हेर्ने, गृहकार्य पनि मोबाइलमा च्याटजिपिटी वा क्वेशन एआइको माध्यमबाट उत्तर सारेर बुझाउने, जागिरमा समेत मोबाइल हेर्ने, पाँच दश मिनेट इन्टरनेटले काम गरेन भने आकाश खसेजस्तै हुने, वाइफाई फ्रि नभएका घर वा नाता वा होटलमा बस्न नचाहने जस्ता ब्यवहार देखाएको पाइन्छ । आजकल सबैका घरमा बोलचाल कम भएको छ । सबैका हात हातमा मोबाइल हुन्छ । सबैजना फेसबुक वा टिकटक वा रील वा यस्तै हेरेर बसिरहेका हुन्छन् । कुनै सरसल्लाह वा ज्ञानगुनका कुराको छलफल नै हुदैन ।
इन्टरनेटको साम्राज्य फैलिएको वर्तमान समयमा किशोरावस्थाका मानिसहरूमा धेरै समस्या देखापरेका छन् । विशेषगरी नयाँ नयाँ साथी बनाउने क्रममा अपरिचितसँग फेसबुक साथी बन्ने, सामाजिक सञ्जालमा आएका अपरिचित ब्यक्तिका पोस्टहरू हेर्ने, लाइक वा कमेन्ट गर्ने, आँफैले पनि विभिन्न छद्मनामी आइडी बनाएर नक्कली प्रोफाइल सिर्जना गर्ने र वास्तविकता भन्दा आदर्श ब्यक्तित्व निर्माण गरी फाइदा लिने वा गलत संगतको शिकार बनेका धेरै घटना छन् । हाम्रो समाजमा भौतिक रूपमा पनि किशोरीहरू शारीरिक तथा यौन शोषणमा परेका छन् । साइबर माध्यमबाट समेत किशोरीहरू बढी पीडित भएका छन् । विशेषगरी किशोरीहरू यौन दुब्र्यवहार, साइबर बुलिङ्ख, लैंगिक हतोत्साह आदि साइबर अपराधको शिकार भएका छन् । सुरूमा ललाई फकाइमा परेर गोप्य तरिकाले अश्लील वा सामाजिक रूपमा बेइज्जत हुने खालका ब्यवहार गराउने र पछि यौन दुब्र्यवहार वा आर्थिक शोषणका लागि ती सामग्रीको पर्दाफास गरिदिने धम्की दिंदै बार्गेनिङ्ख गर्ने गरेका घटनाहरू छन् । आफ्नै साथी वा चिनजानको वा नाता पर्ने भनेर पासवर्डको जानकारी दिने गर्नाले पनि त्यही साथीबाट गलत आसयबाट आइडिको दुरूपयोग गर्ने गर्दछ । त्यसैगरी अपरिचित ब्यक्तिका सन्देश खोल्नाले बैंकिङ्ख खाताहरूसमेत ह्याक गरेर रकम चोरी भैरहेका छन् । कुनै ब्यक्तिको आइडि ह्याक गरेर कुनै उपचार वा पुरस्कार वा अन्य लोभलाग्दो उपहार समेत देखाएर पैसा माग्ने र पैसा पाएपछि सम्बन्ध विच्छेद गर्ने खालका अपराध भैरहेका छन् । सुरक्षित तरिकाले इन्टरनेट प्रयोग गर्ने सिप, ज्ञान र चाहना हुनु आवश्यक छ ।
खासगरी किशारावस्थाका छोराछारीहरूको फेसबुकको पासवर्ड बाबु आमाले थाहा पाउनुपर्छ । समय समयमा बाबुआमाले छोराछोरीका आइडि हेर्ने र कुनकुन ब्यक्तिहरूसँग के कस्तो सञ्चार भैरहेको छ, जानकारी लिनुपर्छ । बालबालिकालाई इन्टरनेटका फाइदा, बेफाइदा र सुरक्षित प्रयोगका सम्बन्धमा बाबुआमाले छोराछोरीलाई सिकाउने वा सचेत गराउने गर्नुपर्छ । फेसबुक, इमेल, बैंक खाता जस्ता विद्युतीय आइडिको पासवर्ड समय समयमा परिवर्तन गर्नुपर्दछ । सालाखाला तीन महिनामा पासवर्ड फेर्नु राम्रो हो । पासवर्ड सिर्जना गर्दा विभिन्न संकेतहरूको प्रयोग गर्ने र आफ्नो वा परिवारको वा संस्थाको नाम प्रयोग नगर्ने र पासवर्ड कसैलाई पनि जानकारी नदिने गर्नुपर्छ । अपरिचित वा कुनै एउटा सन्दर्भमा भेट भएको ब्यक्तिसँग साथी बन्नु हुदैन । अपरिचित ब्यक्ति वा संस्थाबाट आएको सन्देश खोल्ने वा डिलिट गर्ने गर्नुहुदैन । अश्लील सामाग्री खोल्ने हेर्ने गर्नुहुदैन । हेरेर डिलिट गरेको सामग्री पनि पूर्णरूपमा डिलिट हुदैन । इन्टरनेटले तपाईंले चलाएका सन्देशका आधारमा त्यस्तै प्रकारका सन्देश पठाउँछ । अनि त्यस्तै गलत सन्देशको थुप्रो तपाईंको मोबाइलमा लाग्छ । फेसबुक वा इमेलको प्रयोग गर्दा साइन आउट गर्ने, मोबाइलमा लोकेशन अन नगर्ने, कुनै यात्रामा रहँदा कुन ठाउँ वा होटलमा पुग्नु भएको वा बास बसेको सामाजिक सञ्जालमा राख्नुहुदैन । राख्ने गर्नाले तपाईंलाई त्यही स्थानमा र तपाईंको अनुपस्थितिमा घरमा असुरक्षा हुन सक्छ । चोरी हुन सक्छ । बालबालिका वा बयस्कको पनि फोटोहरू सामाजिक सञ्जालमा पोस्ट गर्दा विचार गर्नुपर्छ । प्रचार गर्ने वा भाइरल हुने आशामा धेरै फोटोहरू पोस्ट गर्ने, गहना र महंगा कपडा लगाएका फोटोहरू पोस्ट गर्नाले पनि असुरक्षा र चोरी बढ्छ । कतिपय मुलुकमा १६ वर्ष मुनिका बालबालिकाले फेसबुक खोल्न पाउँदैनन् । बालबालिकाहरूको फोटो वा भिडियो खिच्दा वा अपलोड गर्दा अभिभावकको स्वीकृति लिनु आवश्यक हुन्छ । यसरी बालबालिकालाई साइबर अपराधको शिकार हुनबाट बचाउनका लागि अभिभावक र अन्य सरोकारवाला ब्यक्ति वा संस्थाले विशेष ध्यान दिनुपर्छ भने बालबालिकाहरू आफैले आफ्नो सुरक्षाका लागि इन्टरनेट र मोबाइलको सुरक्षित प्रयोगका लागि ध्यान दिनु आवश्यक छ ।