© २०२३
सुर्खेत ।
चिसो बढेसँगै जाजरकोटका भुकम्प पिडितको विचल्ली भएको छ । भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि पुनर्निर्माणले गति नलिदा बिचल्ली भएका हुन् ।
गतवर्ष कात्तिक १७ गते बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले स्थानीयको आवास क्षतिग्रस्त भएपछि पुनःर्निर्माणको पर्खाइमा रहेका पीडित परिवार चिसो मौसममा टिनको छानामुनि बस्न बाध्य भएका छन् ।
न्यानो आवासमा बस्न पाइएला भन्ने आशामा बसेका पीडित परिवारलाई यो पुस, माघको जाडो कसरी काट्ने भन्ने चिन्ताले सताउनथालेको छ । यहाँका बासिन्दा त्रिपालले ढाकेका र भित्ता चिरा चिरा परेका घरमा जोखिम मोलेर बस्न बाध्य छन् ।
भुकम्प पीडित राज विकले स्थानीय सरकारले समयमा पुनः र्निर्माणको काम अघि नबढाउँदा पिडितहरुले कष्टपूर्ण जीवन बिताउनु परेको बताए । अन्य समयमाभन्दा चिसोको बेला अझै कष्टकर जिवन जिउनु पर्ने बाध्यता भएको उनको भनाई थियो ।
भूकम्प गएपछि करिब छ महिनामा हुने काम एक वर्ष बितिसक्दा पनि पुनः र्निर्माण हुन नसक्दा बालबालिका र वृद्धवृद्धालाई चिसो समयमा ज्यान जोगाउन मुस्किल भएकोे उनको भनाई छ । सरकारले पुनः र्निर्माणको काम छिटो गर्न नसक्दा सामान्य रोजगारीबाट जीविकोपार्जन गरेर गुजारा चलाउने परिवार झन् पीडित भइरहेका छन् ।
त्रिपाल मुनि बस्दै आएकी मनिसरा शाहले गत वर्ष पुस, माघको चिसो नबिर्सिंदै फेरि चिसो सुरु भएको बताइन् । गएको वर्ष चिसोको कारण बालवालिका र बुढाबूढीको ज्यान गएको भन्दै उनले यस वर्ष पनि उही अवस्था दोहोरीने भन्दै चिन्ता व्यक्त गरिन् ।