© २०२३
बुटवल, २१ मंसिर ।
रुपन्देहीको शुद्धोधन गाउँपालिकामा लायन्स क्लब अफ बुटवल हार्टको आयोजनामा बृहत मेगा स्वास्थ्य शिविर कार्यक्रम शुद्धोधन ५ मानपकडी स्वास्थ्य चौकीमा शुक्रबार एक समारोहबीच सम्पन्न भएको छ ।
कार्यक्रमको उदघाटन जिल्ला गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले गरेका थिए । त्यस अवसरमा उनले निःशुल्क स्वास्थ्य शिविरमा लायन्सको नियमित कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवाबाट वञ्चित रहेका ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको बताए ।
प्रधानाङ्गले अगामी दिनमा शुद्धोधन गाउँपालिका संग हातेमालो गरी पालिकामा विभिन्न स्वास्थ्य शिक्षा लगायतको कार्यक्रम गरिने बताए । शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले लायन्स क्लब अफ बुटवल हार्टले घरदैलोमै स्वास्थ्य सेवामूलक निःशुल्क शिविर कार्यक्रम गरेकोमा धन्यवाद दिदै अगामी दिनहरूमा लायन्स क्लब र शुद्धोधन गाउँपालिकाले साझेदारीमा बृहत कार्यक्रम गरिने जानकारी दिइन ।
शुद्धोधन गाउँपालिका प्रवक्ता तथा ४ नम्बर वडा अध्यक्ष केशवप्रसाद अधिकारी र ५ नम्बर वडा अध्यक्ष चन्द्रभान चौधरीले लायन्स क्लब अफ बुटवल हार्टले विगतका वर्षदेखि शुद्धोधन गाउँपालिकाका विभिन्न वडाहरुमा निःशुल्क स्वास्थ्य शिविर, वृक्षारोपण लगायतका कार्य गर्दै आएकोमा धन्यवाद व्यक्त गरे ।
उक्त निःशुल्क स्वास्थ्य शिविरमा मानसिक रोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, महिला तथा स्त्रीरोग विशेषज्ञ, जनरल फिजिसियन सेवा, सुगर परिक्षण लगायतका कुल पीपीडी बिरामी ५०१ जना सेवाग्राहीले सेवा लिएका थिए । डीएसटी परीक्षण २६७ जना र पीएफटी सेवा १९१ जना बिरामीहरूले निःशुल्क स्वास्थ्य चेक जाँच र निःशुल्क औषधी प्राप्त गरेको शुद्धोधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले बताए ।
कार्यक्रम क्लवका अध्यक्ष प्रविन्द्र गोविन्द श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।