© २०२३
दमक, १६ मंसिर ।
अमेरिकाको ओहायो राज्यको कोलम्बसमा बस्दै आएकी सोनिया अधिकारी यसपटक नेपाल आइन् । काठमाडौं उत्रिएर सिधै झापा आएकी सोनियाले भोलिपल्टै भुटानी शरणार्थी शिविर बेलडांगी र पथरी पुगेर परिवार र आफन्तहरूलाई पनि आश्चर्यमा पारिन् ।
उनले दुबै शिविरमा गरेर बृद्ध बृद्धा र अशक्तहरूलाई ४ सय थान न्यायो कम्बल वितरण गरिन् भने शिविरमा बसोबास गर्ने विद्यार्थीहरूलाई १७ सय थान शैक्षिक सामग्री वितरण गरिन् । उनले एकल महिलाका लागि पनि कम्बल छुट्याएकी थिइन् ।
“मलाई यहाँ आएर सहयोग गर्न मन थियो त्यो पनि आफैंले जम्मा गरेको रकमले,” उनले सहयोग हस्तान्तरणको बेला छोटो मन्त्यव्य राख्दै भनिन्, “केही बर्षदेखि नै खाजा खर्च, दशैं, तिहार, जन्म दिन र अरू अवसरमा आफूले पाएको रकम जम्मा गरेर राखेकी थिएँ त्यो रकम मलाई अन्यत्रभन्दा यहाँका शिविरहरूमा सहयोग गर्न मन लागेर आएकी हुँ ।”
उनी विद्यालयबाट एकसाताको मात्र विदा लिएर नेपाल आएकी हुन् । १२ कक्षामा अध्ययनरत उनले विगत केही बर्षदेखि नै रकम जम्मा गरेर राखेकी रहिछन् । उनको इच्छा आफ्नो १८ औं जन्म दिनको अवसरमा केही गर्ने थियो । त्यही इच्छा पूरा गर्न यसपटक उनी नेपाल आएकी थिइन् । न्यानो कम्बल र शैक्षिक सामग्री गरेर लगभग १४ लाख रूपैयाँको सामान उनले किनेर वितरण गरिन् ।
नर्सरी कक्षादेखि ३ कक्षासम्मका वालवालिकालाई दुई पेन्सिल, दुई इरेजर, दुई सार्पनर, दुईवटा सय पेजका कापी र कलर पेन्सिलको एक प्याकेट र स्केलको एउटा प्याक बनाइन् र वितण गरिन् ।
त्यसैगरी ४ देखि १० कक्षासम्मका लागि दुईवटा सय पेजका कपी, ज्यामिति बक्स, दुईवटा कलमको प्याकेज तथा ११ र १२ कक्षाका विद्यार्थीहरूलाई ठूलो साइजका दुईवटा नोटबुक, दुईवटा डट पेन र एउटा एडुकेट क्यालकुलेटरको प्याकेट बनाएर हस्तान्तरण गरेकी थिइन् । सबै बालवालिकालाई उनले चकलेट पनि वितरण गरिन् ।
अति आवश्यकता परेको समुदायमा सहयोग गर्न पाउँदा उनले खुसी व्यक्त गरिन् । उनी पनि झापाको टिमाई शरणार्थी क्याम्पमै जन्मेकी थिइन् । आफ्नो पृष्ठभूमिबारे उनले छोटोमा भनिन्, “म डिल्ली अधिकारी र गोमा अघिकारीकी छोरी हुँ । चारबर्षको हुँदा यहाँबाट अमेरिका गएकी थिएँ । यसअघि नेपाल आउँदा म सानै थिएँ यसपल्ट स्कूलबाट विदा लिएर आएँ । अहिले १२ कक्षा पढ्दै छु ठूलो भएपछि म डाक्टर बन्न चाहान्छु । म फेरि फेरि पनि नेपाल आएर सहयोग गर्न चाहान्छु ।”
उनका पिता डिल्ली अधिकारी समाजसेवाको क्षेत्रमा नेपाली समुदायकै अग्रणी व्यक्तित्व मानिन्छन् । पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका पुगेपछि व्यवसायमा लागेका उनले आफ्नै नेतृत्वमा इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका नामक गैरनाफामुलक संस्था खोले संसारभरका नेपाली जातिलाई सांस्कृतिक एकताको अभियान चलाइरहेका छन् ।
मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स नामका दुई रियालिटी शोहरूमार्फत संसारभरका नेपाली जातिलाई नेपालसंग जोड्ने उनको उदेश्य छ । त्यसैगरी शिविरहरूमा बसोवास गर्ने बृद्धबृद्धा र असक्तहरूलाई मासिक ५ हजार रूपैयाँ जीवन निर्वाह रकम पनि उनले वितरण गर्दै आएका छन् । दमक नगरपालिका र पथरी नगरपालिकाका लागि दुईवटा एम्बुलेन्स, दुवै शिविरहरूमा स्वास्थ्य चौकीको व्यवस्था पनि अधिकारीले गरेका छन् ।
त्यसैगरी शिविरका विद्यार्थीहरू पढ्ने झापा र मोरङका विद्यालयमा ३० जना शिक्षकहरूको तलब पनि फाउण्डेसनले पनि व्यहोर्दै आएको छ । शिविरहरूमा पिताले गरेको परोपकारी कामबारे बारम्बार सुन्ने गरेकी सोनियाले पनि जम्मा गरेको रकमलाई शिविरमै खर्च गर्न पाउँदा खुसी लागेको बताइन् ।